काठमाण्डौं-नेपालमै पहिलोपटक एभिएसन म्युजिम सञ्चालन गर्ने कैलालीको वेद उप्रेती ट्रस्टले शनिबारदेखि राजधानीको सिनामंगलमा दोस्रो विमान संग्राहालय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


टर्किस एयरलाइन्सको उड्न अयोग्य जहाज खरिद गरी डडेल्धुराका पाइलट वेद उप्रेतीले ‘एभिएसन म्युजियम’ सञ्चालनमा ल्याएका हुन् । एयरलाइन्ससँग कति मूल्यमा बाहिरी भाग खरिद गरिएको हो, उनले खुलाएनन् ।


ADVERTISEMENT

# # #


नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा ट्रस्टले करिब ७ करोड लगानीमा म्युजियम सञ्चालनमा ल्याएको हो । टर्कीको राजधानी इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस ध्वजाबाहक यो विमान ०७१ फागुन २० गते अवतरणका क्रममा दुर्घटनामा परेको थियो । आठ महिनामात्रै उडेको एयरबस कम्पनीको ३३०–३०० सिरिजको यो विमान विश्वभर कतै पनि संग्रहालयमा प्रयोगमा छैन । ‘नेपालमै नयाँ पर्यटकीय गन्तव्यका रूपमा ल्याइएको यो मोडलको विमान विश्वभरका कुनै पनि एभिएसन संग्रहालयमा छैन,’ हाल इन्डोनेसियाको लायनमा एयरमा आबद्ध क्याप्टेन उप्रेतीले भने । यो विमान गत वर्ष टर्किस टेक्निकसँग ट्रस्टले किनेको थियो । यो विमान काठमाडौंमा मर्मत गर्न जहाजको मूल्य करिब २६ अर्ब नेपाली रुपैयाँ हाराहारी खर्च र कम्तीमा एक वर्ष सयम लाग्ने भएपछि टर्किसले विमान बिमा गर्ने कम्पनीबाट दाबी भुक्तानी लिएको थियो । टर्किसले पुनस् बिमा कम्पनीबाट यो विमान लिलामी भाउमा खरिद गरेको थियो ।

ट्रस्टलाई प्राधिकरणले सिनामंगलमा आफ्नो स्वामित्वमा रहेको ८ हजार वर्गमिटर जग्गा १० वर्षका लागि भाडामा उपलब्ध गराएको छ । त्यसको भाडा प्रतिमहिना प्रतिवर्गमिटर ६ सय रुपैयाँ तोकिएको छ । यसबाहेक ट्रस्टले प्राधिकरणलाई आन्तरिक पर्यटकहरूको टिकटबाट पनि थप दस्तुर तिर्नुपर्नेछ । ट्रस्टले अहिले संग्रहालयमा घुम्न आउने नेपाली नागरिकका लागि २ सय ५०, विद्यार्थीहरूका लागि १ सय २५ र विदेशीका लागि ५ सय रुपैयाँ टिकट शुल्क तोकेको छ । कक्षा नौदेखि १२ सम्मका विद्यार्थीहरूलाई विद्यालयको सिफारिसका आधारमा निस्शुल्क टिकट उपलब्ध हुनेछ । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम (एनग्याप) अन्तर्गत यो संग्रहालय सञ्चालन गरिएकाले माध्यमिक र उच्चमाध्यमिक तहका विद्यार्थीहरूका लागि टिकट शुल्क छुट दिइएको हो ।

विश्वभर हवाई क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेकाले आइकाओले जारी गरेको आगामी पुस्तालक्षित कार्यक्रमको मोडलअनुरूप यो संग्रहालय सञ्चालनमा ल्याइएको हो । नेपाल पनि अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को सदस्य राष्ट्र भएकाले प्राधिकरणको सहकार्यमा यो संग्रहालय सञ्चालनमा ल्याइएको प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले बताए । नेपाली हवाई उद्योगमा पनि क्याप्टेनरप्रशिक्षक पाइलट लगायतको अभाव बढ्दो छ ।

बोर्ड बैठकबाट टिकट शुल्कबारे निणर्य भइसकेपछि मात्रै सर्वसाधारणले पनि अवलोकन गर्न पाउनेछन् । केही दिनमै यसबारे टुंगो लागिसक्ने क्याप्टेन उप्रेतीले बताए । ४ सय हाराहारी यात्रु सिट क्षमताको यो विमानभित्र ककपिट स्रोत व्यवस्थापन, एयरहोस्टेस तालिम, हवाई उडान सुरक्षाबारे सेमिनार गर्न सकिने एउटा हलसहित सातवटा भाग छन् । यो एयरबसको लम्बाइ २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १ सय ९७ फिट छ । संग्रहालयमा ट्रस्टले रसुवामा दुर्घटनामा परेको फिसटेलको हेलिकप्टर पनि राखेको छ । उप्रेतीले मर्मत गरेर उडाउन नमिल्ने टर्किसको एयरबस खरिद रकमबारे दुई पक्षीय सम्झौताअनुसार, खरिद रकम सार्वजनिक गरेका छैनन् ।

उप्रेतीले तीन वर्षअघि कैलालीको धनगढीमा डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम त्यस भेगमा नयाँ पर्यटकीय गन्तव्य हो । बन्द भएको नेपाली एयरलाइन्स कस्मिक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई उनले काठमाडौंबाट तीन टुक्रा बनाई लरी ट्रकमा राखेर म्युजियम स्थापना गरेका थिए ।-आजको कान्तिपुरबाट