भद्रपुर–झापा जिल्ला खुला दिसामुक्त बनाउने अभियान सफल नहुने लक्षण देखिएको छ ।


ADVERTISEMENT


आव २०६८ देखि शुरु भएको राष्ट्रव्यापी रुपमा शुरु भएको खुला दिसामुक्त अभियानमा शहरी क्षेत्र नै चुनौतीका रुपमा खडा भएपछि खुला दिसामुक्त गर्ने सरकारको योजना झापामा सफल हुन नसक्ने देखिएको हो ।
पन्ध्र स्थानीय तह रहेको झापामा कार्यक्रम लागू भएको पाँचवर्षीय अवधिमा आठ स्थानीय तह मात्र खुला दिसामुक्त भएको कागजी विवरण झापा जिल्ला सरसफाइ समितिमा देखिन्छ ।


ADVERTISEMENT

# # #


सरकारले स्थानीय तहमार्फत चर्पी नभएका घरधुरीलाई सेवा सुविधा नदिने घोषणा गरे पनि राजनीतिक हस्तक्षेप र नियम पालनामा स्थानीय तहका नेतृत्वकर्ता असफल हुँदा अभियानमा सफलता हात नपरेको दातृ निकायका प्रतिनिधि बताउँछन् ।

सदरमुकाम समेत रहेको भद्रपुर नगरमा मात्र दुई हजार ५७० घरधुरी चर्पीविहीन छन् । आदिवासी जनजातिको बाहुल्य रहेको भद्रपुर नगरमा राजवंशी, गन्गाईलगायत समुदायका ४० प्रतिशतभन्दा बढी घरधुरीमा शौचालय छैनन् ।

सो समुदायका व्यक्ति आर्थिक रुपमा कमजोर, सुकुम्वासी र परम्परागत सोचका कारण शौचालय निर्माणमा ध्यान नदिँदा खुला दिसामुक्त अभियान असफल भएको हो । भद्रपुर नगरका साविक पृथ्वीनगर र महेशपुर बढी शौचालय नभएका ग्रामीण बस्ती क्षेत्र हुन् भने साविक भद्रपुर १, २, ३, ४ पनि शौचालय नहुने समुदायको बस्ती बाक्लो भएको क्षेत्रमा पर्छन् ।

साविक चन्द्रगढीका सुकुमबासी बस्ती पनि चुनौतीका रुपमा रहेको पाइएको छ । शौचालय बनाउन आनकान गर्ने, अनुदानको मात्र भर पर्ने, आफ्नो जग्गा नहुने, अर्काको जग्गामा बसोबास गर्ने जस्ता कारण मुख्य चुनौती रहेको खुला दिसामुक्त भद्रपुरका कार्यक्रम अधिकृत फणीन्द्र दाहालको भनाइ छ ।

महेशपुरस्थित बुधकरण टी स्टेटले राखेका मजदुरलाई सञ्चालकले चर्पी बनाउन नदिँदा साविक महेशपुरमा ५० प्रतिशत हाराहारीमा चर्पी निर्माण हुन नसकेको तथ्य झापा जिल्ला सरसफाइ समितिका फोकल पर्सन रुद्रबहादुर न्यौपानेले बताए ।