काठमाडौं – आज पनि प्रतिनिधिसभाको  नवौं अधिवेशनको चौथो बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिथोल्ने  भएको छ ।  एमालेले आफूहरुको माग सम्बोधन नभएसम्म बैठकमा अवरोध जारी राख्ने बताएको हो।


ADVERTISEMENT


भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत आजको बैठकमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पारित गर्ने प्रस्ताव प्रस्तुत गर्दैछ।


ADVERTISEMENT

# # #


पहिलो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधबीच टेबल गरेको उक्त विधेयक आइतबार पारित गर्ने सम्भावना छ। शुक्रबार भएको बैठकमा एमालेकै अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश २०७८ सँगै राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ समेत प्रस्तुत गर्न लगाएका थिए।

संसदमा घम्साघम्सीको अवस्था हुँदाहुँदै सभामुख सापकोटाले ती विधेयक निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका थिए। सोही विधिअनुसार आइतबारको बैठकमा प्रस्तुत हुने अन्य विधेयकसमेत पारित गर्दै अघि बढ्ने सभामुखको तयारी रहेको छ।

आइतबारको बैठकमै गृहमन्त्री खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

कार्यसूचीअनुसार उनले नै सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ। शुक्रबारको बैठककै कार्यसूचीमा समावेश भएको तर अवरोधले निर्णय हुन नसकेका प्रस्ताव आइतबारको बैठकमा पुनः प्रस्तुत गरिने भएको छ।

जसअनुसार आइतबार ‘शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पारित गर्ने प्रस्ताव पेस गरिनेछ।
औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ समेत आइतबारको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।