काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे नेपाली जनताले नभई दलालहरुले कुरा नबुझेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौँको खुल्लामञ्चमा नेकपाले आयोजना गरेको एमसीसी विरोधसभालाई सम्बोधन गर्दै विप्लवले विभिन्न राजनीतिक पार्टीका नेताहरु र सरकारी व्यक्तिहरुले नै एमसीसीबारे भ्रम छरिरहेको दाबी गरेका हुन् । केही समय पहिले प्रधानमन्त्री देउवाले एमसीसीबारे बुझेरमात्रै बोल्न सांसदलाई निदेशन दिएका थिए । उक्त कुराबारे जवाफ दिँदै विप्लवले भने, ‘पढेर त मान्छेहरुले भनिराखेको छ, त्यसै भनेको छ ?’


ADVERTISEMENT

# # #


उनले अघि थपे, ‘एमसीसीबारे नेपाली जनताले कुरा नबुझेको होइन, हामीले नबुझेको होइन । कुरा वास्तवमा नेपालका दलालहरुले बुझेका छैनन् ।’ उनले सरकारले दिनेभन्दा बढी सुविधा अमेरिकाले दिएपछि कतिपय कर्मचारीहरु समेत एमसीसीको भजन गाउँदै हिँडेको आरोप लगाए ।

एमसीसी नेपालमा लागू भयो भने त्यसका परियोजनाको सुरक्षाका नाममा अमेरिकी सेना नेपाल आउने बताउँदै उनले भने, ‘लप्सीफेदी देखि सुनौलीसम्मका विजुलीका टावरहरुमा अमेरिकाको अधिकार हुने भन्ने कुरा उल्लेख छ एमसीसी सम्झौतामा । अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो सम्झौता लागू गरिने उल्लेख छ त्यहाँ । कानुनी ढंगले पनि अमेरिका नै माथि हुनुपर्ने, सुरक्षा पनि अमेरकाले नै गर्नुपर्ने, यस्ता प्रावधानहरु त्यो सम्झौतामा राखिएको छ ।’

उनले अघि थपे एमसीसी नेपालको संविधानभन्दा पनि माथि भइसकेपछि नेपालको कानुन, नेपालको अदालत र सुरक्षा निकायको के काम भयो ?’अमेरिकाले दिएको ५० करोड डलरले नेपालको कायापलट नहुने बताउँदै उनले पैसा भन्दा ठूलो जनताको अधिकार र देशको स्वतन्त्रता रहेको उल्लेख गरे ।

‘के पैसाले नेपालको समृद्धि रोकिएको हो ? केही साथीहरुले भनेको सुनिन्छ, पैसा आयो भने विकास र समृद्धि हुन्छ । के विकास र समृद्धि पैसाले मात्रै हुन्छ ?’ उनले प्रश्न गरे, ‘हामीले किन क्रन्ति गरेको ? किन राणा शासनलाई फालेको ? किन पञ्चायत, सामन्तवादलाई ढालेको ? किन जनयुद्ध लडेको ? हामी किन वैज्ञानिक समाजवाद र लोकतन्त्रको कुरा गर्छौ ? पैसाले पुग्दैन, मान्छेलाई अधिकार चाहिन्छ, स्वतन्त्रता चाहिन्छ, देश स्वाधिन हुनुपर्छ ।’

महासचिव विप्लवले विकास र समृद्धिको बाधक पैसा नभई सत्ता रहेको बताए । उनले एमसीसीलाई जबरजस्त लाद्न खोजिए देशभर आन्दोलन चर्काउने उनले चेतावनी दिए । उनले भने, ‘कुनै पनि मूल्यमा यसलाई नेपाली जनतमाथि थोपरिन दिने छैनौँ ।’