काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गतको ओमान सिरिजमा नेपालले पहिलो खेलमै जित हात पारेको छ । सोमबार पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको हो ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले मोनाक पटेलको शतकको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि कुशल भुर्तेल र रोहितकुमार पौडेलले शानदार ब्याटिङ गरे । ९३ बलको सामना गरेका कुशलले ३ छक्का र ३ चौकाको मदतमा ८४ रनको योदान गरे । पहिलो विकेटका लागि आशिफ शेखसँग उनले ६६ रनको साझेदारी गरे ।

यस्तै रोहितले ८७ बलमा ३ छक्का र २ चौकाको मदतमा ६२ रन बनाएर नटआउट रहे । यस्तै विनोद भण्डारीले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बनाएर आउट भए । विनोदले रोहित पौडेलसँग मिलेर पाचौँ विकेटका लागि ८३ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपालको जितको आधार तय भएको थियो ।

यसअघि आशिफ शेखले ४२ बलमा २ चौकाको मदतमा २३ रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा एक चौका र एक छक्काको मदतमा १७ रनको योगदान दिए । अमेरिकाका लागि नोस्तुस केन्जिग र निसर्ग पटेलले समान २–२ विकेट लिए । यस्तै कप्तान सौरभ नेत्रभाल्करका नाममा एक विकेट रह्यो ।

यसअघि अमेरिकाका लागि दोस्रो र व्यक्तिगत पहिलो एकदिवसीय शतक प्रहार गरेका मोनाक पटेलले ११४ बलमा ९ चौका र १ छक्काको मदतमा १०० रन बनाएर आउट भए। यस्तै निसर्ग पटेलले २१, करिमा गोरे र सुशान्त मोदानीले १६, स्टेभिन टेलरले १४, नोस्तुस केन्जिग र सञ्जय कृष्णमुर्तीले समान १३–१३ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछाने, सुसन भारी र विक्रम शोबले समान २–२ विकेट लिए । यस्तै कुशल मल्लका नाममा एक विकेट रह्यो ।

नेपालले अर्को खेल मंगलबार घरेलू टोली ओमानसँग नेपाली समय अनुसार ४ः१५ बजे खेल्नेछ ।