काठमाडौं – भारतमा नरेन्द्र मोदी सरकारले विपक्षी तह लगाउन विपक्षी नेता धरपकड गर्न थालेको छ । हाल कांग्रेस आईका महासचिव प्रियंका गान्धीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको घटनाका पीडित परिवारलाई भेट्न जाने क्रममा प्रहरीले सीतापुरको हरगाउँबाट नियन्त्रणमा लिएको युथ कांग्रेसका अध्यक्ष श्रीनिवासले जानकारी दिएका छन् । प्रियंकालाई सेकन्ड बटालियन गेस्ट हाउसमा राखिएको छ ।


ADVERTISEMENT

# # #


लखीमपुरको तिकुनिया क्षेत्रमा आइतबार दिउँसो किसान र भारतीय जनता पार्टी ‘भाजपा’ कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो । झडपमा ८ जनाको मृत्यु भएको छ ।

तिकुनियामा आयोजित कुस्ती कार्यक्रममा सहभागी हुन उपमुख्यमन्त्री केशव प्रसाद मौर्य र केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्रा टेनी आउने क्रममा कृषि कानुनको विरोधमा कालो झण्डा देखाइरहेका किसान र भाजपाका कार्यकर्ताबीच झडप भएको थियो ।

झडपका क्रममा मन्त्री मिश्राका छोरा आशिष मिश्राले किसानमाथि कार चढाएको आरोप लागेको छ । तिकुनिया मन्त्री मिश्राको गृहनगर हो । झडपमा मारिएका चार जना किसान र चार जना भाजपा कार्यकर्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनाका आरोपी राज्यमन्त्रीका छोराविरुद्ध उजुरी दर्ता भएको छ ।