बर्दिवास– आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि महोत्तरी जिल्लामा नौ हजार २८० मतदाता थपिएका छन् ।


ADVERTISEMENT


गत असोजमा सम्पन्न स्थानीय तह निर्वाचनमा तीन लाख आठ हजार ४०९ मतदाता रहेका जिल्लामा यसपालि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नौ हजार २८० मतदाता थपिएका हुन् । अहिले मतदाताको सङ्ख्या तीन लाख १७ हजार ६८९ रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


विगतमा छ वटा संसदीय निर्वाचन (संविधान सभा) क्षेत्र रहेको जिल्लामा अब संवैधानिक नयाँ व्यवस्थाअनुसार चार प्रतिनिधि सभा क्षेत्र र आठ प्रदेश सभा क्षेत्र वनेका छन् । प्रतिनिधि सभा क्षेत्रगत मतदाता अभिलेखमा सबैभन्दा बढी १ नं क्षेत्रमा ८० हजार ५६३ रहेका जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले जानकारी दिए ।

यसैगरी प्रतिनिधि सभा क्षेत्र नं २ मा ७९ हजार १९७, क्षेत्र नं ४ मा ७९ हजार २५ र क्षेत्र नं ३ मा ७८ हजार ९०४ मतदाता रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ११ वटा मतदानकेन्द्र पनि थपिएका छन् । मतदानस्थल स्थानीय तह निर्वाचनताकाकै २५८ कायम भए पनि त्यतिखेर कायम रहेका ४१५ केन्द्रलाई बढाएर आसन्न निर्वाचनका लागि ४२६ मतदान केन्द्र बनाइएको निर्वाचन अधिकारी रायले जानकारी दिए ।