काठमाडौँ– नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्नसक्ने भएका छन् । यसबाट सो क्षेत्रका करिब तीन हजार सेवाग्राहीले सेवा प्राप्त गर्ने टेलिकमले जनाएको छ ।


ADVERTISEMENT

# # #


टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गत वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा सञ्चालन गरेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गतका दानसे, लिसंखु, वाफल र अत्तरपुर, सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पा र कामेखोला तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाअन्तर्गत सिम्थली, बेकसिम्ले, मूलाबारी र भीमसेनस्थानका सेवाग्राही यसबाट लाभान्वित हुने विज्ञप्तिमा भनिएको छ ।

दूरसञ्चार सेवाबाट वञ्चित दुर्गम स्थानमा समेत नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।