देश झनझन रसातरतिर भाँसिदैछ । शीर्ष नेताहरु झिना मसिना स्वार्थमा रुमल्लिएका छन् । नयाँ पुस्ताका नेताहरु यथास्थितिमाथि जर्बजस्त हस्तक्षेप गर्न सकेका छैनन्, उल्टै कुनै न कुनै शीर्ष नेताको गुटमा आश्रय लिएर आफ्नो राजनीतिक स्वार्थको सुरक्षा गर्नतर्फ तल्लीन छन् ।


ADVERTISEMENT


– कुसुम भट्टराई


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले राजनीतिप्रति विरक्त भएका बेला एकपटक भनेका थिए, ‘नेपालमा नेता त धेरै जन्मिए, तर राजनेता कोही जन्मिएनन् ।’
हुन त यतिबेला नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै ‘राजनेता’ भन्नेहरुको जमात कम छैन ।

भूमिका र योगदानको कसीमा जाँच्दा अहिलेका यी प्रमूख नेताले राजनेताको उचाईं कायम गर्न सकेका छैनन् । दलगत र गुटगत स्वार्थमा अल्झिका यी नेताले सिंगो देशलाई एकताको शूत्रमा बाँध्न सकेका छैनन् ।

पूर्वराजा ज्ञानेन्द्रमा नेपालको भविष्य देख्नेहरु पनि नभएका हैनन् । कोही त सैन्य शासनकै वकालत पनि गरिरहेका छन् । उनीहरु भन्छन्, ‘यो देशलाई इमानदार तानाशाह चाहिन्छ ।’
आर्थिक क्रान्ति ल्याएर नेपाललाई विकसित मुलुकको स्तरमा उकास्ने दूरगामी सोच, चिन्तन र व्यवहार भएको नेता आजसम्म हामीले फेला पार्न सकेनौं । ऐतिहासिक अवसर पाएर पनि नेतृत्व दिन नसकेका तदर्थवादी, कमजोर, लोभी, विचारहीन र दूरदर्शिता नभएका नेताहरुकै जगजगी हुँदै आएको छ, आजसम्मको नेपाली राजनीतिमा आखिर नेपाली जनताले खोजेको नेता कस्तो हो ? यसबारेमा जनता स्वयं पनि दिग्भ्रमित छन् । एमाले अध्यक्षका उखानटुक्के भाषण सुनेर मख्ख पर्ने जनता । माके अध्यक्ष दाहालका आत्महत्या दुरुत्साहन गर्ने भाषण सुनेर थपडी बजाउने जनता । कांग्रेस नेता देउवा अझै दुइपटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषको भविष्यवाणी पत्याउने जनता । अनि ‘राजा आऊ देश बचाऊ’ भन्दै सडकमा उफ्रिने पनि तिनै जनता ।

दूरदर्शी पथप्रदर्शकको अभाव

नेपाली कांग्रेसका नेता गगन थापाले ‘मन टुटेका र निराश भएका नागरिकको बीचमा गएर संवाद गर्नसक्ने नेतृत्व आवश्यक भएको’ बताएका छन् । काठमाडौं कांग्रेसको अधिवेशनको उदघाटनका क्रममा गगनले कांग्रेसको मौज्ुदा नेतृत्वले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए । उनले कांग्रेस नेतृत्वलाई यथास्थितिबादीको संज्ञा पनि दिए ।

प्रश्न उठ्छ, नेतामा हुनुपर्ने गुणबारे आफैले जाहेर गरेको मापदण्डमा गगन स्वयं कति खरो उत्रिएका छन् ? उनमा राजनेतामा हुनुपर्ने गुण छ या उनी पनि राजनीतिको परम्परागत फ्रेमभित्रकै एक खेलाडी हुन् ? घोत्लिएर हेर्ने हो भने युवा पुस्ताका भनिने गगन, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, चन्द्र भण्डारी होउन् या घनश्याम भुषाल, योगेश भट्टराई, रामकुमारी झाँक्रीदेखि वर्षमान पुन अनन्तसम्म किन नहुन्, सबै अघिल्लो पुस्ताका नेताकै शैली, संस्कार, सोच र स्वार्थको चक्रव्यूहमा फँसेका छन् ।

देश झनझन रसातरतिर भाँसिदैछ । शीर्ष नेताहरु झिना मसिना स्वार्थमा रुमल्लिएका छन् । नयाँ पुस्ताका नेताहरु यथास्थितिमाथि जर्बजस्त हस्तक्षेप गर्न सकेका छैनन्, उल्टै कुनै न कुनै शीर्ष नेताको गुटमा आश्रय लिएर आफ्नो राजनीतिक स्वार्थको सुरक्षा गर्नतर्फ तल्लीन छन् ।

मानव सभ्यताको प्रारम्भदेखि नै समाजमा मानिसको नेतृत्व गर्न कुनै मार्गदर्शक, लिडर या नेताको खाँचो पर्दै आएको छ र हरेक युगमा त्यस्ता महान नेताको जन्म हुँदै आएको छ । सामान्य अर्थमा नेता त्यो हो, जसले अन्य बहुसंख्यक मानिसलाई मार्गदर्शन र नेतृत्व गर्ने क्षमता राख्छ । एउटा निश्चित लक्ष्य लिएर हिंडने र व्यक्तिगत स्वार्थबाट माथि उठने उदात्त भाव नेतामा हुनुपर्छ ।

नेताको मुख्य दायित्व या जिम्मेवारी हो, समाजको अग्रगतिमा उत्पन्न कुनै पनि संकट, समस्या या बाधा छिचोल्दै जनताको भलो गर्नु । समाजमा रहेका लाखौं, करोडौं मानिसमध्ये एउटा यस्तो मानिस नै नेता हो, जसले समाजका लागि आफ्ना सारा जिवन समर्पित गर्छ, सारा स्वार्थ समाजकै लागि अर्पण गर्छ ।

भारतमा महात्मा गान्धी, सुवासचन्द्र बोस, सरदार बल्लभ भाइ पटेल, डा. भिमराव अम्बेडकर, पण्डित जवाहरलाल नेहरु, राम मनोहर लोहिया, जयप्रकाश नारायण, लालबहादुर शास्त्रीदेखि नरेन्द्र मोदीसम्मका नेताले आफ्नो युगमा भारतीय जनतालाई सार्थक नेतृत्व दिए ।

यिनै नेताहरुको कार्यकालमा भारतमा स्वतन्त्रता संग्राम भयो, अंग्रेज लखेटिए । त्यहाँ नयाँ संविधान बन्यो, स्कूल, कलेज, सडक निर्माण भयो । गाउँ र सहरमा विकासका नयाँ लहर चल्यो । यीनै महान नेताले आधुनिक भारत निर्माणको शिलान्यास गरे ।

नेपालमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे । श्री ३ जंगबहादुर राणाले सुगौली सन्धिमा गुमेको भूमि नयाँ मुलुकका रुपमा अंग्रेजबाट फिर्ता ल्याए । भीमसेन थापाले अंग्रेजसँग लडे । पंचायतकालका निरंक्ुश राजा भए पनि राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्गदेखि क्रान्तिकारी भूमिसुधार हुँदै विकास योजनाहरु अघि सारे ।

विपी कोइराला, पुष्पलाल, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमसेर, मनमोहन अधिकारी, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला आदि नेताले आफ्नो कालखण्डमा केही उल्लेखनीय योगदान गरेकै हुन्, तर नेपाललाई गुणात्मक रुपमा समृद्धितर्फ अगाडि बढाउन उनीहरु सफल भएनन् ।

लामो लोकतान्त्रिक आन्दोलनपछि मुलुकमा गणतन्त्र स्थापना भइसक्दा पनि जनताले आशलाग्दो राजनेता पाउन सकेनन् । सुरुमा केही आश गरिएका नेता पनि सत्ता राजनीतिमा चुर्लुम्म डुबेर आफ्नो ऐतिहासिक गौरव र भूमिका भुलेका उदाहरण दोहोरिरहेका छन् ।

दुई तिहाई बहुमत पाएर करिब करिब जंगबहादुरझैं शक्तिशाली भएका एमाले अध्यक्ष केपी ओलीले आफूले पाएको अवसरको सदुपयोग गर्न सकेनन् । ओली पनि साँघुरो घेरामै रमाए । दल र गुटभन्दा माथि उठेर सिंगो नेपालको हित सोच्ने चेतना उनमा देखिएन ।

वरिष्ठ पत्रकार किशोर नेपालका अनुसार नेतामा हुनुपर्ने अपरिहार्य गुण हो, दुरदृष्टि । पत्रकार नेपालको एक लेखमा उल्लेख छ, ‘नेता दूरदर्शी, चारित्रिक बल भएको, आकर्षक, करुणाले ओतप्रोत, साहसी, समर्पण भाव भएको, दृढ निश्चयी, सम्प्रेषणशील, संगठन तथा कुशल रणनीति निर्माता, उदार, आत्म विश्वासी, देशभक्तीपूर्ण र संसारलाई हेर्ने व्यापक दृष्टिकोणजस्ता गुणले भरिएको हुनुपर्छ ।’

पत्रकार नेपालले औंल्याएका विशेषता भएका नेता नै आज देशले खोजेको हो । तर, यी सब गुण भएका नेता सतहमा कतै देखिँदैन । कतै गर्भमै रहेका भए भन्न सकिएन । नेताले राजनीतिक, आर्थिक, वैज्ञानिक, सामाजिक, धार्मिक र वैचारिक सीमाहरुको पारम्परीक घेराबाट बाहिर निस्किएर मानिसलाई प्रेरित गर्नसक्नुपर्छ । नेता यस्तो होस्, जसले इतिहासमा अमिट छाप छाडनसक्ने पथप्रदर्शक बनोस् । यसैका आधारमा उसले सामाजिक क्षेत्र, राष्ट्रिय अन्र्तराष्ट्रिय परिवेश र प्राज्ञ जगतमा अनुभूति जगाउनसक्ने पत्रकार नेपालको विश्लेषण छ ।

ह्ुन पनि विश्व राजनीतिमा दुरदर्शी पथप्रदर्शक नेता नजन्मिएका हैनन् । नेपोलियन, बोलिबर, अब्राहम लिंकन, भिआइ लेनिन, कमाल अतातुर्क, एडल्फ हिटलर, वीन्स्टन चर्चिल, रुजवेल्ट, जोसेफ स्टालीन, माओत्से तुङ, होचिमिन्ह, नासेर, केनेडी, फिडेल क्यास्त्रो, मार्टिन लुथर किङ, आयोतोल्लाह खुमैनी, अनवर सदात, मार्गरेट थ्याचर र दलाइ लामालगायतका धेरै नेता उदाए । तिनले आफ्नो युगमा विश्वलाई नयाँ मार्ग प्रशस्त गरे ।

देङ स्याओ पिङले दूरदर्शीता राखेर आर्थिक सुधारका कार्यक्रम नल्याएका भए चीन आजको आर्थिक महाशक्ति हुन सक्दैनथ्यो । देङजस्तो युगान्तकारी नेताकै कारण चीनले कलेवर फेरेको हो ।

किन जन्मिँदैनन् ली क्वान हु ?

ली क्वान हुले सिंगापुरलाई समृद्धिको शिखरमा पुर्याए । सन् १९५९ देखि १९९० सम्म सिंगापुरको प्रधानमन्त्री रहेका लीकै एक्लो सपना र दुरदर्शी सोचले आजको सम्पन्न सिंगापुर बनेको हो ।

सिंगापुर पनि कुनै बेला अस्तव्यस्त र कमजोर मुलुक थियो । मलेसियाबाट अलग भइ सन् १९६५ मा स्वाधीन भएको सिँगापुर ५० वर्षसम्म आफ्नो कुनै श्रोत नभएको एउटा टापुजस्तो थियो । अहिले सिंगापुरको वैभवताको तुलना हङकङ र न्यूयोर्कको म्यानहटनसँग हुन्छ, जहाँ अग्ला अग्ला भवन छन् ।

ली क्वान हूले आफ्नो पुस्तक ‘द सिंगापुर स्टोरी’मा उल्लेख गरे अनुसार भौतिक पुर्वाधारको विकास र दक्ष जनशक्ति उत्पादनमा जोड दिएकै कारण सिंगापुर विश्वकै लगानी गन्तव्य बनेको हो । शुसासन, प्रविधिमा आधारित पारदर्शीता, जल यातायातको विकास, विदेशी र आन्तरीक जनशक्तिको परिचालन, विश्वका प्रतिभाशाली जनशक्तिलाई स्वागत, भ्रष्टाचारविरुद्ध कडा कदम, हरेक तहका जनतालाई अनिवार्य शिक्षा र वैज्ञानिक र प्राविधिक शिक्षामा जोड दिने लीकै नीतिका कारण सिंगापुर रातारात विकसीत भयो ।

नेपालमा आखिर लि क्वान हुजस्ता नेता खै ? कुन नेतामा छ, यस्तो दुरदर्शी सोच ? मलेसियामा मोहम्मद महाथिरले लामो समय शासन गरे । मलेसियालाई आर्थिक विकासको उचाइमा पुर्याए । बेलायतमा मार्गरेट थ्याचरले दुरदर्शी नेताका रुपमा मुलुकलाई आर्थिक दिशामा अग्रसर गराए ।

भारतमा नरेन्द्र मोदीले नोटबन्दी, स्वच्छ भारत अभियान, बेटी पढाउ, बेटी बचाउलगायतका कार्यक्रम ल्याएर जनतालाई राहत दिने युगान्तकारी कदम चाले । मोदीको कार्यकालमा कोरोना महामारी देखियो, तैपनि उनी भारतलाई आर्थिक रुपमा माथि उठाउन अहोरात्र खटिइरहेका छन् । उनको कद विश्व नेताका रुपमा मािथ उठेको छ ।

साँघुरा सोचका नेता

हामीकहाँ सिंगो देश र समाज हल्लाउने, तरंगित पार्ने र राष्ट्रिय अभियानमा सबैलाई होम्नसक्ने सर्वमान्य, सर्वसम्मत र सर्वप्रिय नेता नै भएनन् । नेता नै त्यस्ता देखिए, जो किचन र कोटरीमै रमाए । उनीहरुको सोचको घेरा देशका कुनाकुनासम्म फैलनै पाएन ।

कुनै नेताले छोरी र बुहारीलाई लाभका पद दिलाउन मरिहत्ते गरे । कुनै नेताले सासुलाई राजदूतमै टिकाउन सम्झौता गरे । कुनै नेता होली वाइन पानको चक्करमा फँसे । कुनै नेता सालीलाई राजदूत बनाउने झिनो स्वार्थको चास्नीमा डुबे ।

कुनै नेता लडाकुको रासन अजीर्ण भएर बदनाम भए । कुनै नेता वाइडबाडी र ओम्नीको कमीसन नपचेर स्खलित भए । कुनै नेता सर्प पाल्ने भन्दै लिएको सत्तरी करोडले थिचिए । अनि कुनै नेता पत्नीलाई पदक दिलाउन पाउँदा नै मख्ख परेर साँघुरो घेरामा खुम्चीए ।

दल, गुट, परिवार र समुदायको स्वार्थभन्दा माथि उठेर सिँगो देशको हितमा दूरगामी सोच राख्ने लि क्वान हु र मोहमद महाथिरजस्ता नेता हामीकहाँ अझै जन्मिन सकेका छैनन् ।

खोजौं असल राजनेता

जबसम्म लोकहितलाई सर्वोपरी मान्ने नेताको जन्म हुँदैन, तबसम्म यो देशमाथि सतीको श्राप कायम रहनेछ । सतीको श्रापबाट मुलुकलाई मुक्त गर्ने नै हो भने, एकपटक नयाँ पुस्ताले सोच्नुपर्छ, अब उखाने भाषण गर्ने, आत्महत्याको घुर्की लाउने नेता हैन, विकासको मूल फुटाउने नेता चाहिन्छ ।

नयाँ पुस्ताका मतदाता र जनताले अब पुराना गल्ती दोहोर्याउनु हुँदैन । दलभित्र छन् भने दलभित्र खोजौं । दलबाहिर छन् भने दलबाहिर खोजौं । जन्मिएकै छैनन् भने जन्माउने तारतम्य मिलाउँ ।

अब यो देशलाई लरतरो, झिनो स्वार्थमा रमाउने, गोडा कमाउने, साहस नभएको, अदुरदर्शी, लोभी पापी र अपराधिक झुण्डको घेरामा रमाउने नेता हैन, नेल्सन मन्डेला या गान्धी, नेहरु या देङजस्तो नेताको खाँचो छ ।

आजैबाट बहस थालौं, अब हामीले खोजेको नेता कस्तो हो ? कुन नेतामा छ असल नेतामा हुनुपर्ने गुण ? सोचौं, खोजौं र देशमा एउटा राजनेतालाई बागडोर सुम्पौं ।