काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ छोड्ने घोषणा गरेकी छन् ।


ADVERTISEMENT


पार्टीको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृ कोइरालाले नेता पौडेल र महामन्त्री डा. शशांक कोइराला पार्टीका नेता कार्यकर्ताहरुसँग सहकार्य गर्न असफल भएको भन्दै साथ छाड्ने घोषणा गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले पौडेल र कोइरालाले पार्टी चलाउन नसक्ने जिकिर गर्दै उनले उनीहरुसँग बस्न नसकिने बताइन् । ‘शशांक सभापतिका लागि योग्य छैनन् । उनी काम गरेर आएका व्यक्ति होइनन् ।’ कोइरालाले भनिन्, ‘जिल्लामा समेत हारेका पौडेल सेकेन्ड म्यान भएर काम गर्ने मान्छे हुन्, उनी फस्टम्यान हुन सक्दैनन् ।’

आफ्नै इर्श्या र घमण्डले नेता पौडेल र महामन्त्री कोइराला समाप्त हुने बाटोमा लागेको नेतृ कोइरालाले जिकिर गरिन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेतृ कोइरालालाई मन्त्रीको बलियो दाबेदारका रुपमा हेरिए पनि पौडेल पक्षबाट उनको सिफारिस भएन । पौडेल पक्षका दुई जना मात्रै बनेपछि उक्त समूहमा असन्तुष्टीका स्वरहरु सुनिन थालेका छन् ।

नेतृ कोइरालाले यसअघि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीका रुपमा काम गरिसकेकी छन् । उनले आफ्ना लागि मन्त्री बन्नु वा नबन्नु ठूलो कुरा नभएको बताइन् । २०६२६३ को आन्दोलन तथा गणतन्त्र स्थापनाका नेतृत्वकर्ता स्व. गिरिजा प्रसाद कोइरालाकी सुपुत्री कोइरालाले पार्टी र देश चलाउनका लागि नेतृत्वले सहमति, सहकार्य र एकता बिर्सेको बताइन् ।

उनले यस्तो राजनीति जुनसुकै बेला पनि दुर्घटनामा पर्ने दाबी गरिन् । आफूले पद भन्दा पनि देश र जनताका लागि अनवरत राजनीतिमा अघि बढ्ने उनले हिमालय पोष्टसँग बताइन् ।