तम्घास – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताएकी छन् । आज गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले जनतालाई धोका दिएर केही नेताहरु एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन् ।


ADVERTISEMENT


संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो । एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको आफूहरुले विरोध गरेको उनको भनाइ थियो । यसो गर्दा ओलीको नजरमा आफूहरु नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिष्ट पार्टी स्थापना गरेको उनले बताइन् ।


ADVERTISEMENT

# # #


अहिलेको कम्युनिष्ट पार्टीमा सबै अट्नसक्ने उनको जिकिर थियो । आफूहरुले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन्।

फरक प्रसङ्गमा नेत्री झाँक्रीले आफूहरुले पार्टी निर्माणको तीनमहिने अभियान चलाउने जानकारी दिइन् । तीन महिनासम्म देशभरबाट कम्तीमा सात लाख सङ्गठित सदस्य बनाउने उनको दाबी थियो । प्रत्येक सङ्गठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याएमात्रै देशभरबाट नेकपा (एकीकृत समाजवादी)को पक्षमा कम्तीमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने उनले बताइन्।

प्रत्येक सङ्गठित सदस्यले एक दिन पार्टीका लागि काम गर्ने र बाँकी छ दिन आफ्नो लागि काम गर्ने गरी योजना पार्टीले बनाएको उल्लेख गर्दै उनले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताइन्। रासस