म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले जोड्ने ३८८ मिटर लामो र १०० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा पुल निर्माण थालेको हो । रु तीन करोडको लागतमा थानी हिमशिखर जेभीले उक्त पुल निर्माण गर्न लागेको हो ।


ADVERTISEMENT


बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो झोलुङ्गेपुल निर्माण गरेको कम्पनीले नै यो पुलको काम थालेकाले समयमा काम सकिने सर्वसाधारणमा आशा पलाएको भानु माध्यमिक विद्यालय रत्नेचौरका प्रधानाध्यापक भरत खत्रीले बताए ।


ADVERTISEMENT

# # #


प्रअ खत्रीका अनुसार पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । पुलले सर्वसाधारणलाई आवतजावतमा सहज हुनुका साथै रत्नेचौरमा आन्तरिक पर्यटकको समेत वृद्धि हुने आशा गरिएको छ । असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले दश महिनामा पुल तयार गर्नुपर्ने छ । “पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम सुरु हुन्छ”, कम्पनीका प्रतिनिधि नरहरि खड्काले भने। दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बन्दा एक घण्टाको पैदल यात्रा पाँच मिनेटमा छोटिने छ ।

पुल दुई जिल्लाको मितेरी सीमा हुने सर्वसाधारणको आशा छ । पुल निर्माण पछि रत्नेचौरमा उत्पादन हुने कृषिउपज, दूधलगायतका सामानलाई बजारीकरण र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणको लागि सहज हुने स्थानीयको विश्वास रहेको छ । रासस