काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् ।


ADVERTISEMENT


निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसगँको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिए।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले भने, “निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावली दर्ता कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने छ ।”

प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले गरेको भेटमा राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तोक्नेलगायतका विषयमा छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्था र प्रतिनिधिसभाका चार सदस्य तथा प्रदेशसभाका १८ रिक्त सदस्यको उपनिर्वाचनका विषयमा छलफल भएको थियो ।

निर्वाचनसम्बन्धी कानूनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानूनका विषयमा पनि सो अवसरमा छलफल भएको थियो । मतदाता नामावली दर्तालाई सहज र पहुँचयोग्य बनाउन स्थानीय तहका केन्द्रसम्म पुगी मतदाता नामावली सङ्कलन गर्ने तथा बाह्य जिल्लाका मतदाता नामावली दर्ताका विषयमा पनि छलफल भएको थियो ।

अदालतको आदेशअनुरुप विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकारसम्बन्धी कानूनी तथा प्राविधिक विषयमा पनि छलफल भएको आयोगले जनाएको छ । निर्वाचन आयोग र अन्तरगत कार्यलयको भौतिक सुधारका विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन शम्सेर जबरालगायत उपस्थित थिए ।