काठमाण्डौं-नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजनाको प्रगति बुझ्न आएको भारतीय आयल कर्पोरेशन आइसोसीको टोलीले आज पनि स्थलगत अध्ययन गर्दैछ ।


ADVERTISEMENT


पाइपलाइन विस्तारमा भइरहेको प्रगति, भौगोलिक अवस्था र निर्माण प्रक्रियाबारे बुझ्न आइओसीको ३ सदस्यीय टोली गत बिहिबार नेपाल आएको थियो । यसअघि हिजो आयल निगम र आइओसीका निर्देशक अनिश अग्रवाल नेतृत्वको टोलीले अमलेखगञ्जको स्थलगत अनुगमन एवं अध्ययन गरेको थियो ।


ADVERTISEMENT

# # #


पाइप बिछ्याउनका लागि सो क्षेत्र वरपरका करीब ३ सय घरटहरा भत्काउनुपर्ने, विद्युतीय पोलहरुको व्यवस्थापन र वरपरका रुख कटानी लगायतका काममा ढिलाई भइरहेको छ । त्यहाँ देखिएका समस्यालाई सम्बोधन गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको आयल निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।

स्थलगत अनुगमन हिजो नै लगभग सकिएपनि बाँकी रहेको क्षेत्रको अध्ययन सकेर आजै दुबै पक्ष बसेर आगामी रणनीति एवं समयसीमा समेत तय गर्ने भट्टराईले जानकारी दिए । निगमका अनुसार पाइपलाइन बिछ्याउन आइओसीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ भने पाइपका लागि टेण्डर आह्वान गरेर कम्पनी समेत छनोट भइसकेको छ ।

आयोजना निर्माणपछि प्रतिघण्टा २ लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा ल्याउने निगमको लक्ष्य छ । यसअघि रक्सौल–अमलेखगञ्जसम्म ४१ किलोमिटर तय गरिएको पाइपलाइन निर्माण क्षेत्र अहिले भने बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६८ दशमलव ९६ किलोमिटर निर्माण क्षेत्र तोकिएको छ ।

४ अर्ब ४० करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब २० करोड रूपैयाँ भारत सरकारले बेहोर्ने छ भने बाँकी १ अर्ब २० करोड रूपैयाँ नेपालले बेहोर्ने निगमले जनाएको छ । – आजको कान्तिपुरबाट