पाल्पा– पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकामा डकर्मीहरुका लागि ‘भूकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माण’ सम्बन्धी एक हप्ते तालीम शुरु भएको छ ।


ADVERTISEMENT


नयाँ घर तथा भवन बनाउने क्रम बढ्दै जाँदा स्थानीयस्तरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यले सञ्चालित उक्त तालीममा २७ जनाको सहभागिता रहेको छ । पहिलो चरणमा २७ र दोस्रोे चरणमा २७ गरी कुल ५४ जना डकर्मीलाई तालीम दिइने गाउँपालिकाका प्रवक्ता नीरबहादुर सारुले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सो गाउँपालिकाद्वारा आयोजित उक्त तालीम ३० गतेसम्म सञ्चालन हुनेछ । तालीमको सहजीकरण इन्जिनियर छविलाल पाण्डेले गरेका छन् ।

तालीम उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख नुनबहादुर थापाले सीप भएर पनि ज्ञानको अभावमा विदेशिनुपरेका युवालाई दक्ष बनाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले तालीम सञ्चालन गरेको जानकारी दिए । उनले गाउँगाउँमा घर तथा भवन बनाउने क्रम बढ्दै गइरहेको बेला तालीमले डकर्मीलाई नक्सा हेरी मापदण्डअनुसारको भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराई, प्रशिक्षक छविलाल पाण्डे, वडा नं २ जल्पाका वडाध्यक्ष नीरबहादुर सारु, वडा नं ३ का वडाध्यक्ष नीलकण्ठ भट्टराई र गाउँपालिकाका कार्यकारी अधिकृत हरि पौडेलले तालीमको आवश्यकता र महत्वका विविध पक्षमाथि प्रकाश पारे ।

पूर्वखोला गाउँपालिकाले यस आवमा ५०० जना युवालाई स्वरोजगार बनाउने लक्ष्यका साग तालीम सञ्चालन गरेको हो । आव २०७४÷७५ मा ५०० युवालाई सिकर्मी, डकर्मी, वाइरिङ, कृषि तथा पशुपालनसम्वन्धी दक्ष बनाउन तालीम सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

बेरोजगार युवालाई स्वरोगार बनाउन गाउँपालिकाले युवा बेरोजगारमा रु २१ लाख ५० हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नुरबहादुर थापाले बताए ।