इलाम– स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् ।


ADVERTISEMENT


सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया शुरू गरी भदौ १ गतेबाट सेवा दिन शुरू गरेको थियो ।


ADVERTISEMENT

# # #


स्वास्थ्य बीमा गराउने २१ हजार २६४ जनामध्ये १४ हजार ८६४ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको सामाजिक सुरक्षा विकास समितिका दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिए ।

बिमितमध्ये दुई हजार ९३७ जनाले झापा र १२० जनाले काठमाडौँबाट र ११ हजार ८०० जनाले जिल्लाकै प्रास्वाके, इलाम अस्पतालबाट सेवा लिएका छन् । सरकारले २०७२ चैत २५ गतेबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपरोस् भनी पहिलो चरणमा बागलुङ र दोस्रो चरणमा इलाममा स्वास्थ्य बीमा सञ्चालन गरेको अधिकारीले बताए ।

जिल्लाका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङ गरी चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, मेची अञ्चल अस्पताल चन्द्रगढी, आम्दा अस्पताल दमक र मेची आँखा अस्पताल बिर्ताबजार प्रथम सेवा बिन्दुका रूपमा छन् । झापाको बिएन्डसी अस्पताल, कोशी अञ्चल अस्पताल र काठमाडौँका विभिन्न अस्पताल रिफरल अस्पतालका रूपमा राखी सेवा प्रदान गरिँदै आएको छ ।

विमितहरूको सेवा प्रारम्भ भएको एक वर्ष पुगेपछि पुनः बीमाबापतको रकम तिरेर नवीकरण गर्नुपर्ने अधिकारीले बताए । इलाममा ५२ जना दर्ता सहयोगी नियुक्ति गरेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

स्वास्थ्य बिमा गराउनेमध्ये अधिकांश दीर्घ रोगीका बिरामी बढी देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । जसमध्ये उच्च रक्तचाप, ग्यास्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने बिरामीको संख्या बढी देखिएको समितिले जनाएको छ ।