नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको महासचिव समेत भइसकेका अजयबाबु शिवाकोटी भर्खरै कांग्रेसको १४औँ महाधिवेशनका लागि प्रतिनिधि चुनिएका छन् । सक्रिय पत्रकारिता हुँदै राजनीतिसम्मको यात्रा थालेका उनै शिवाकोटीसँग  हिमालयपोष्टले विविध विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित सार :


ADVERTISEMENT


दोलखाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर आउनुभएको छ । कस्तो अनुभव गरिरहनुभएको छ ? 


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको तर्फबाट म नेपाली कांग्रेस १३ औं महाधिवेशनमा महासमिति सदस्यका रुपमा सहभागी भएको थिए । त्यतिबेला पार्टीको भातृ संस्था र शुभेच्छुकलाई दिइने कोटा अन्तर्गत म त्यहाँ गएको थिए । त्यसबेला मैँले महाधिवेशनको प्रतिनिधिका हिसाबले आफ्नो भूमिका निर्वाह गरेको थिएँ । महासमितिमा पनि भूमिका निभाएको थिएँ । तर, यस पटक मसँग पार्टीले दिएको भातृसंगठनको कोटामा नै रहने कि भूगोलमा नै गएर चुनाव लडेर पार्टीको राजनीतिमा लाग्ने भन्ने दुई वटा विकल्प थिए । दोस्रो विकल्प अलि कठीन पनि थियो ।

लामो समय पत्रकारितामा सक्रिय रहँदा म जिल्लामा कम सक्रिय थिए, यो अवस्थामा प्रतिस्पर्धाका लागि भूगोलमा जाने कुरा चुनौतिपूर्ण थियो। जिल्लाका साथीहरुसँग बाक्लो सम्बन्ध हुँदा हुँदै पनि जिल्लामा गएर चुनाव जित्ने कुरा मेरो लागि चुनौतीपूर्ण नै थियो ।

तर चुनौतीलाई सामना गर्नुपर्छ भनेर म अघि बढें । पार्टीको जिल्ला नेतृत्व, समकालीन साथीहरु र अन्य सुभेच्छुकहरुले दिएको हौसला प्रेरणा र मायाको कारण मैँले जिल्लाबाटै चुनाव लड्ने विचार बनाएँ । उहाँहरुको साथ र सहयोगले नै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा उत्साहजनक मतले विजयी बन्ने अवसर पाइएको हो ।

यसले के पनि देखाएको छ भने लगातार कुनै पनि पेशा व्यवसाय गरेर बसेकोलाई त्यस पेशा व्यवसायमा मात्र हैन अन्य कुनै न कुनै स्थानमा सराहना हुन्छ भन्ने मैँले अनुभुती गरे । यो कुरा मैँले दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा जिताउन दोलखाका कांग्रेस नेतृत्व र कार्यकर्ताले देखाएको मायाबाट प्रमाणित भएको छ । यो भनेको उहाँहरुको ममाथिको भरोसा हो । त्यसकारण म दोलखाका कांग्रेस नेता कार्यकर्ता र सुभेच्छुकहरुसँग कृतज्ञ छु । केन्द्रमा राम्रो तालमेल मिलाउन सकेको खण्डमा केन्द्रीय सदस्य हुन पनि सक्छ भन्ने सोच पनि दोलखाको नेता कार्यकर्तालाई लागेको छ । त्यसैले पनि उत्साहजनक मत मैँले पाएको हो जस्तो लाग्छ । उहाँहरुको मायाले म उत्साहित छु । पार्टीलाई पनि कहीँ न कहीँ मैँले राम्रो योगदान दिन सक्छु भन्ने लागेको छ ।

लामो समय पत्रकारितामा राम्रो छाप पारेका कारण तपाईंले चुनाव जित्नु भएको भन्ने पनि छ । आगामी दिनमा दोलखा कांग्रेसमा तपाईंको योगदान कस्तो रहन्छ?

दोलखाको कांग्रेस संगठनमा लामो समय काम गरेको कारण चुनाव जितेको भन्ने हैन । मलाई लामो समय अर्को पेशामा काम गर्दैगर्दा पार्टीका नेता कार्यकर्ताले विश्वास गरेर जिताएका हुन् । म भोलिका दिनमा जिल्लामा गएर फुल टाइम काम गर्छु भन्ने हिसाबले पनि मलाई दोलखावासीले मत दिएका हुन् भन्ने मलाई लाग्दैन । उहाँहरुको बुझाइ र मेरो बुझाइमा केन्द्रसम्म दोलखा कांग्रेसका कुरा लैजान सक्ने पुलको काम यसले गर्न सक्छ भन्ने हिसाबमा नै मैँले चुनाव जितेको हो भन्ने मलाई लाग्छ । तर, यसो भन्दै गर्दा म भूगोललाई चटक्कै माया मारेर त्यहाँको संगठनमा कामै गर्दिन भनेको भने होइन ।

मलाई त्यहाँको माया छ । तसर्थ मैँले त्यहाँको संगठन र यसलाई बलियो बनाउने सन्दर्भमा त काम गर्नैपर्छ । तसर्थ ज-जसले पार्टीका लागि वडा तहदेखि लिएर जिल्ला तहसम्म रहेर काम गरिरहनुभएको छ, उहाँहरुलाई सपोर्ट गर्ने बल पुग्ने काम मैँले गर्नैपर्छ । मेरो भूमिका त्यसमा केन्द्रित रहनेछ । त्यसैगरी जिल्लाका कामहरुलाई केन्द्रमा लैजाने र केन्द्रका कुराहरुलाई जिल्लासँग जोड्न समन्वय गर्ने गरिदिने यस्ता काम हामीले गर्नुपर्छ । जिल्लाका कांग्रेसको हरेक गतिविधिमा मैँले सहयोग गर्ने प्रण गरेको छु ।

पत्रकारिताका क्षेत्रमा पनि नेतृत्व नै गरेर बस्नुभयो । अब झन ठूलो भूमिका निभाउने ठाउँमा आइपुग्नुभएको छ । यसका समस्या, चुनौती र कठिनाईलाई कसरी लिनुभएको छ ?

पहिले म सात हजार जति पत्रकारहरुको नेतृत्व गर्ने ठाउँमा थिएँ । अब अहिले मेरो जिल्लाका १२ हजार क्रियाशील सदस्यहरुबाट छानिएर आएका करीब १६ सय क्षेत्रीय प्रतिनिधिबाट २६ जना महाधिवेशन प्रतिनिधिमा छानिएको हुँ । यसरी हेर्दा अब भोलिका दिनमा केन्द्रीय सदस्यका रुपमा लड्ने परिस्थिति बनेको खण्डमा त देशैभर एक किसिमको काम गर्नुपर्ने देखिन्छ । हिजोका दिनमा पनि मैँले गरेका गतिविधि देशभर सुनिन्थ्यो । राम्रो गर्दा राम्रो सुनिन्थ्यो र नराम्रो गर्दा संगठनलाई पनि क्षति हुनसक्ने अवस्था थियो । अब त झन् सचेत भएर काम गर्ने अवस्थामा पुगिएको छ ।

मैँले कुनै स्थानमा नराम्रो गरिहालें भने त्यसको असरले पार्टीलाई पनि नराम्रो भइहाल्ने भएकाले राम्रो काम गर्न जरुरी छ । अब पार्टीको चुनाव नै जितेर आउँदै गर्दा र भोलि केन्द्रमा नै पुगेको अवस्थामा पनि मैँले नराम्रो गरें भने पार्टीमाथि पनि हिलो छ्यापिने हुन जान्छ ।

चुनौती हिजोका दिनमा पत्रकारिता गर्दा पनि थियो । चुनौती भए पनि देश बुझ्ने महत्वपूर्ण अवसर पाइयो । देशको अवस्था, देशका मान्छेहरु, फरक संस्कृति, माटो बुझ्ने अवसर पाइयो । यति बेला पनि काम गर्ने यही देशको सीमाभित्र नै भए पनि दायरा भने निकै फराकिलो छ ।

अब भोलि कांग्रेसका देशैभरका ४५ सय प्रतिनिधिकाबीचमा पनि आफूलाई प्रस्तुत गर्ने अवस्था आउनसक्छ । हरेक जिल्लाका साथीहरु र तिनका गतिविधिमा साथ र सहयोग दिनुछ भने दायरा त फराकिलो भई नै हाल्छ । यत्रो फराकिलो क्षेत्र भएकाले आफूलाई अझै खार्नुपर्ने चुनौती थपिएको छ । आफ्नो नेटवर्क अझै बढाउनुपर्ने अवस्था छ। अपेक्षा पनि त्यही ढंगले बढ्ने भएकाले समस्या र चुनौती छन् तर यसलाई अवसरका रुपमा लिनुपर्छ । पार्टीमा काम गर्दा समय, समर्पण र सेवा यी सबै कुरा बढाउनुपर्ने छन् । म यी तीनवटै कुरालाई जोड दिइरहेको छु ।

कांग्रेसमा त गुट उपगुटहरु प्रशस्तै छन् । तपाईंको गुटचाँहि चुनावमा कुन रह्यो ?

सबै कांग्रैसकै साथीहरु हुन् । मन मिल्ने साथीहरुले एकखाले समूह बनाएर चुनाव लडेका हुन् । दोलखामा चार जना सभापतिका उम्मेदवार थिए । ती चारवटै समूहको सहयोग थियो । लामो समय प्रेसमा काम गरेको मान्छेलाई खिचातानीमा नपारौं भनेर उहाँहरुले मलाई सहयोग गर्नुभयो । म सबैजनाको टिममा परेको थिएँ । त्यसैले म सबैको साझा प्रतिनिधि हो । कुन टिमबाट कति भोट मैँले पाएँ त्यो मलाई यकिन पनि छैन । हिसाब पनि नराखौं । त्यसैले म सबैको साझा प्रतिनिधि हो भन्ने मलाई लाग्छ ।

महाधिवेशनको दौरान गाउँपालिका र नगरपालिकाहरुमा पुग्दा पनि मलाई साथीहरुले तपाईंलाई हामी मत दिन्छौं भन्नुभएको थियो । म सहभागी भएको वा नभएको दुवैखाले कार्यक्रमहरुमा मेरो नाम तोकेरै मतदाताले मत दिने वचन दिएका थिए । यस्तो म्यासेज नेतृत्वले पनि पहिले नै पाएको कारण म साझा भएको हुँ । नेतृत्वको आकांक्षीहरुले पनि हामीले अजयलाई हाम्रो टिममा राखेका छौं भन्दा उहाँहरुलाई पनि फाइदा नै थियो ।

निर्वाचनका बेला कांग्रेसले अन्य पार्टी भन्दा आन्तरिक गुट र मतभेदले हार्नुपर्ने अवस्था आउँछ । तपाईं साझा उम्मेदवारको रुपमा चुनाव लडेर आउनुभएको नाताले यसलाई कसरी सुधार गर्नुपर्ला ?

चुनाव हुने भएपछि गुटहरु वा समूहहरु बन्छन् । चुनावका बेला गुटहरु बन्नु नराम्रो पनि होइन । तर यहाँ समस्या के भएको हो भने गुटहरु स्थायी भएर रहेका छन् । चुनावपछि पनि त्यो कायमै रहन्छ । यो झाँगिएर रहँदा समस्या आएको हो । यो स्थायी रहनु हुँदैन । समूहहरु एजेन्डाका आधारमा बन्न पनि सक्छन् । एजेन्डाका पक्ष र विपक्षमा रहदा समूहहरु बन्छन् । तर, हामीकहाँ एउटा समूहमा कुनै स्वार्थवश पसेपछि नमरुन्जेल समूहमा लागिरहने जुन प्रवृत्ति छ, त्यो एकदमै नराम्रो छ । यो एक किसिमको जडता नै हो । यसले पार्टीलाई कमजोर बनाउँछ ।

यस्तो प्रवृत्तिले हामीलाई अन्य पार्टीसँग चुनावमा प्रतिस्पर्धा गर्दा कमजोर बनाउँछ । समूहहरु एजेन्डाका आधारमा बन्ने र भत्कने भइराख्नुपर्छ । यसलाई झाँगिन दिनुहुँदेन । कांग्रेसमा यो महाधिवेशनमा धेरै समूहहरु भत्केको हामी पाइरहेका छौं । पार्टीमा नयाँ अनुहारहरु प्रतिनिधिका रुपमा आएका छन् । यो महाधिवेशनमा समूहहरु अवश्य नै भत्कन्छन् । र, अर्को यसपालि नयाँ समूहहरु पनि बन्ने म देखिरहेको छु ।

राजनीतिक रुपमा तपाईंको आगामी योजना के छ ?

पत्रकारिता गर्दैगर्दा पनि म पत्रकार महासंघमा कहिले पनि गइनँ । म नचिनिइएकोले त्यहाँ नगएको पनि होइन । म पत्रकार महासंघमा नगएको पार्टीको भातृसंस्थामै रहेर काम गर्ने चाहना भएको कारणले हो । व्यवसायिक पत्रकारिताका साथै पार्टीलाई पनि योगदान गर्नुपर्छ भनेर नै मैँले त्यता चासो नदिएको हो । यसबीचमा देशका विभिन्न स्थानमा पार्टीको भातृसंस्थामार्फत् जे जस्तो योगदान गर्न सकिन्थ्यो त्यो गर्ने काम भयो । त्यसका आफ्नै दायरा भएकोले त्यहाँभन्दा माथि धेरै योगदान गर्न सकिने क्षेत्रमा पाइला हालेको हो ।

पार्टीका लागि योगदान गर्न पत्रकारिताका दायराहरु र  शुभेच्छुक संस्थामा रहँदा संकुचन थियो । मूल हाँगालाई नै राम्रो बनाउने प्रयासका लागि म पार्टीको मूलधारको राजनीतिमा आएको हुँ ।

महाधिवेशन प्रतिनिधि भएर आएपछि पनि म केही जिल्लामा गएँ । पार्टीका नेताहरुसँग पनि छलफल गरिरहेको छु । जिल्लाजिल्लाका साथीहरुले पनि तपाईं केन्द्रीय सदस्य लड्नुहोस् भनिराख्नुभएको छ । उहाँहरुले साथ दिने वचन पनि दिनुभएको छ । देशैभरका कांग्रेसका साथीहरुबाट एकखाले माया र सद्भाव पनि मैँले पाइरहेको छु ।

अधिवेशन भइसकेका दोलखा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, गोर्खा, कालीकोट र रुकुमपूर्व, संखुवासभा, ताप्लेजुङ, मुगु र बझाङका साथीहरुसँग म एकदमै नजिकको सम्पर्कमा रहेको छु । उहाँहरुबाट मैँले सकारात्मक उत्तर पाएको छु । जहाँ अधिवेशन भएका छैनन् त्यहाँका साथीहरुसँग पनि म सम्पर्कमा रहिरहेको छु । वडाकै अधिवेशन हुन बाँकी जिल्लामा पनि म पुगेर फर्किएको छु । उहाँहरुबाट पनि माया र सद्भाव पाएको छु ।

यसबीचमा भातृसंगठनका साथीहरुसँग पनि कुराकानी भएको छ । प्रेस युनियनका पुराना र नयाँ साथीहरुबाट पनि सकारात्मक उत्तर पाएको कारण केन्द्रीय सदस्य उठ्ने माहोल बनेको छ । आधिकारिक रुपमा घोषणा गर्न केही समय लाग्छ । सबैतिरबाट पोजिटिभ नै कुरा आएको छ ।

कांग्रेसमा राजनीति पुस्तान्तरण हुन सकिरहेको छैन । राजनीतिमा पनि रिटायर्ड हुने भन्ने हुन्छ होला, यसमा तपाईंको धारणा के छ ?

यसपटक नेपाली कांग्रेसको अधिवेशनमा देशैभर नयाँ नेतृत्व आइराखेको छ । यसपालि हामी संघीयताको मोडलमा पनि अधिवेशन गरिरहेका छौं । पुराना साथीहरुसँगै नयाँ अनुहार प्रशस्त देख्न सकिन्छ । यस पटक चाहेर वा नचाहेर नेतृत्व तहमा धेरै युवाहरुको सहभागिता रहेको म देखिरहेको छु ।

त्यस्तै पालिका, प्रदेश र केन्द्रसम्म युवाहरुको जोश जाँगरले भरिएको पार्टी बन्ने म देखिरहेको छु । केन्द्रमा पनि यसअघि नै केन्द्रीय सदस्य भइसकेका धेरै युवाहरुले पदाधिकारीको आकांक्षा राखेको देख्न पाइएको छ । युवाको आकर्षण कांग्रेसमा पहिलेको भन्दा धेरै बढेको छ । महामन्त्रीको आकांक्षा राखिरहेकाहरुमा पनि यसपालि युवाहरुको जमात ठूलो छ । चार पाँच समूहमा बसेर चुनाव लड्ने हो भने पनि पाँच जनासम्म युवा पुस्ता महामन्त्रीकै आकांक्षी रहने भए । तीसदेखि चालिस जना नयाँ अनुहार हामीले केन्द्रीय समितिमा नै देख्न पाउँदैछौं । १ सय ३५ जना त केन्द्रीय समितिमा निर्वाचन लडेर आउँदैछन् । खुला निर्वाचनमा यसअघिको महाधिवेशनमा पराजित भएका, नेविसंघ, तरुण दल, महिला संघ लगायत भातृ तथा शुभेच्छुक संस्थामा काम गरेका, विभिन्न नयाँ साथीहरु आउँदैछन् । पुस्तान्तरण हुँदै गएको छ ।

हाम्रो विधानले कुनै उमेरको हदबन्दी तोकेको अवस्था छैन । चाहना राखिरहेको कसैलाई रिटायर्ड बस्न भन्न सक्ने कुरा पनि भएन । कसैले स्वैच्छिकरुपमा अवकाश लिए फरक कुरा भयो । सुभेच्छुकले तपाईं हुनै पर्छ तपाईं नभए हुँदैन भनिरहँदा स्वैच्छिकरुपमा अवकाश लिन पनि त उमेर पाकेकालाई पनि अप्ठेरो छ । पुस्तान्तरणको कुरा मुखले मात्र भनेर हुँदैन । विधानबाट नै जाने कुरा हो । सम्पूर्ण पुस्तान्तरण गर्न त पाकाहरुले नै भूमिका खेलिदिनुपर्ने हो ।

पुस्तान्तरण गर्दा कसैलाई बाहिर फालेर चित्त दुखाएर पनि गर्न मिल्दैन । पुस्तान्तरणले पार्टीलाई सँधै बल पुग्छ भन्ने पनि होइन । यसले अप्ठेरो अवस्था सिर्जना हुन पनि सक्छ । पुस्तान्तरणसँगै ध्यान दिनुपर्ने कुरा भनेको पार्टीको रुपान्तरण हो। जसले आम मतदाता, कार्यकर्ता, युवा, किसान, मजदुर, व्यवसायीलाई पार्टीमा लाग्न प्रेरित गरोस् र यसले आम मतदाताको विश्वास जितोस् । नेपाली कांग्रेस त्यस्तो हुन जरुरी छ ।

उमेर हद लागू गर्न हुँदैन त त्यसो हो भने ?

उमेर हद लागू गर्ने भन्ने कुरा केन्द्रीय समितिले गर्ने कुरा होइन । यो महाधिवेशन वा महासमितिको क्षेत्राधिकारको कुरा भयो । त्यहाँ कुरा उठ्यो र सबै साथीहरुको एकैमत भयो भने यो कुरा हुन पनि सक्छ । जस्तो सरकारी कर्मचारीको उमेर हदबन्दी छ। न्यायपालिकामा पनि यस्तो छ । नेकपा एमालेले पनि यो कुरा लागू गरेको छ । यस्तो कुरा उठाउने भनेको महाधिवेशन वा महासमितिको बैठकले नै हो । त्यसमा यो कुरा उठेमा र एक मत भएमा यो ठूलो कुरा होइन । यसमा मेरो व्यक्तिगत कुनै टिप्पणी रहेन ।

अहिलेको अवस्थामा चुनाव एकदमै खर्चिलो र भड्किलो बनिरहेको छ । यसलाई कम गर्न के गर्नुपर्छ ?

हो चुनाव एकदमै खर्चिलो बनेको छ । यसलाई गम्भीर रुपमा लिनुपर्छ । अधिवेशन भएका जिल्लाका कतिपय चुनावहरु एकदमै खर्चिला र भड्किला भए । यो कुरालाई विचार गरेर केही जिल्लामा जिल्ला समितिले आचार संहिता बनाएर यसलाई एकदमै कडाइका साथ लागु गर्ने पहल गरेको छ । जस्तो ओखलढुंगामा मेरो केही साथीहरुसँग कुरा हुँदा निर्वाचनमा भिजिटिङ कार्ड र गलामा लगाउने उम्मेदवारको फोटो झल्किने कार्डबाहेक केही पनि फ्लेक्स पम्प्लेट बनाउन नपाउने नियम बनेको रहेछ । हो, यस्तोखाले आचारसंहिता बनाएर त्यसलाई कडाइका साथ पालना गराउने हो भने निर्वाचन खर्चिलो हुनबाट जोगिन्छ । होइन त्यसै छाडिदिने हो भने त यसले एकदमै विशृंखलतातर्फ लैजान्छ भन्ने लागेको छ ।

यसलाई लागू गर्न पार्टीले पहल गर्ने, जिल्लामा रहेका साथीहरुले पहल गर्ने, खर्चिलो नहुने अभ्यासहरु गर्ने हो भने हामी भड्किलो हुनबाट बच्छौं । जिल्लाका साथीहरुमा यस्तो भावना आउने बित्तिकै केन्द्रलाई पनि एकखाले यसको असर पर्छ । त्यसपछि वातावरण सुहाउँदो, आर्थिक पारदर्शिता भएको एकदम शान्त ढंगको निर्वाचनहरु हामी देख्न सक्छौं । यसो भएमा महाधिवेशनहरु पनि शान्त र डिजिटल प्लेटफर्ममा गर्न सकिन्छ । विवादहरु नभएको एकदमै सौहार्दपूर्ण, गरिमापूर्ण चुनाव बनाउन तलदेखि माथिसम्मै सुधारको आवश्यक छ ।

अन्तिममा महाधिवेशनका मतदाता, कांग्रेसका सुभेच्छुक र आम जनतालाई के भन्न चाहनुहुन्छ ?

अहिले हुँदै गरेको महाधिवेशनमा एकखाले वैचारिक बहस पनि चलेको छ । कांग्रेसलाई यहाँसम्म ल्याउन वडादेखि लिएर केन्द्रसम्मका सबै पार्टीका सदस्यहरुको ठूलो भूमिका छ । साथसाथै यसका भातृसंगठन र सुभेच्छुक संस्थाहरु र कांग्रेसलाई माया गर्ने मान्छेहरुको भूमिका पनि एकदमै महत्वपूर्ण रहेको छ ।

अहिले मलाई जिल्लाबाट महाधिवेशन प्रतिनिधिका रुपमा जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । र अर्को कुरा, कांग्रेसलाई माया गर्ने आम नेपाली जनतालाई पनि हृदयदेखि नै धन्यवाद दिन्छु । केन्द्रीय समितिमा उठ्ने अवस्था बनेमा यहाँहरु सबैको मत माग्ने हिसाबले पनि आउनुपर्ने हुन्छ । त्यसैले पार्टीलाई माया गर्ने आम नेपाली, विभिन्न पेशा व्यवसायमा लागेर पार्टीको हित चिताउनुहुने शुभचिन्तकहरु, आम मतदाता, आम कार्यकर्ता र पार्टीका आम सदस्यहरु सबै मिलेर आगामी महाधिवेशनमा कांग्रेसलाई अझ सशक्त, अझ बलियो, देश र जनताको हित गर्न सक्ने सबल बनाउनु छ । यो वृहत दायित्व पूरा गर्न यहाँहरुले आफ्ना प्रतिनिधीहरुलाई निरन्तर खबरदारी जारी राख्नु आवश्यक छ ।