कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशङ्कर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपाङ्गता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ ।


ADVERTISEMENT


बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको स्रोत कक्षा कोरोनाको सङ्क्रमण घट्दै गएपछि सञ्चालनमा ल्याइएको हो ।


ADVERTISEMENT

# # #


कोरोनाका कारण झण्डै दुई वर्ष कक्षा प्रभावित भएको थियो । कक्षामा ५ वर्ष पुरा भई १४ वर्ष ननाघेका १० जना बालबालिकालाई राखिएको छ । कक्षामा सुदूरपश्चिम प्रदेशका बैतडी, कैलाली र कञ्चनपुरका गरी तीन जिल्लाका बौद्धिक अपाङ्गता र सुस्तमनस्थीति भएका बालबालिकाको बोली, भाषा, आनीबानी र व्यवहार परिवर्तनका लागि राखिएको विद्यालयका प्रधानाध्यापक विष्णुदत्त जोशीले बताए।

फरक क्षमता भएका बालबालिकालाई चित्र, सङ्गीत, नृत्य, श्रव्यदृश्यमार्फत पठनपाठनको व्यवस्था मिलाइएको उनले बताए । यो कार्यसँगै बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सरसफाइमा ध्यान पुर्‍याउने कार्यमासमेत जोड दिँदै आएको उनको भनाई छ ।

स्रोत कक्षामा सहभागी भई पढ्दै आएका बालबालिकाको हेरचाहका लागि एक जना आया (हेरचाह गर्ने आमा) र एकजना स्रोत शिक्षकको व्यवस्था मिलाइएको छ । विद्यालयले बालबालिकाको पठनपाठनसँगै बस्नका लागि छ वटा आवासीय कक्षा कोठा, भान्सा र शौचालयको व्यवस्था मिलाएको छ ।

बालबालिकालाई पोशाक, शैक्षिक सामग्री, बस्नका लागि बेड, बेडसिट, सिरक, गद्दा, टुथपेष्ट, ब्रस, साबुनलगायत आवश्यक सामग्रीको व्यवस्था विद्यालयले मिलाएको छ । सशर्त अनुदान कार्यक्रममार्फत स्रोत कक्षा सञ्चालनका लागि विद्यालयलाईप्रति विद्यार्थी ४० हजार रुपैँयाका दरले १० महिनाको अनुदान रकम उपलव्ध गराइँदै आएको छ । सोही खर्चमा कक्षा सञ्चालन हुने गरेको छ ।

‘हाललाई विद्यालयकै भवनमा स्रोत कक्षा सञ्चालन गरेका छौं’, उनले भने, ‘छात्रावास, खानेपानीसँगै घेरावारको अभाव छ । त्यसका लागि नगरपालिका र प्रदेश सरकारलाई गुहार्दै आएका छौं ।’ आयालाई १३ हजार ४५० रुपैँया मासिक तलब र स्रोत शिक्षकलाई मासिक ५०० भत्ता दिने व्यवस्था गरी नियुक्त गरिएको छ ।

विसं २०७४ देखि सञ्चालन भएको स्रोत कक्षामा सहभागी भई उमेर पूरा भएपछि चारजना बालबालिका घर फर्किएका छन् । ‘बौद्धिक आङ्गता र सुस्तमनस्थीतिका बालबालिकालाई विद्यालयमा जुनसुकै समयमा पनि भर्ना गर्न सकिन्छ’, प्रअ जोशीले भने, ‘बौद्धिक अपाङ्गता र सुस्तमनस्थीति भएका बालबालिकालाई अभिभावकले विद्यालयमा भर्ना गर्न ल्याए भर्ना लिन्छौं ।

प्रचलित नियम अनुसार पाउने सबै सुविधा प्रदान गरी आनीबानी सुधारसँगै पठनपाठनको व्यवस्था हुन्छ । घरको वातावरण भन्दा राम्रो गरी स्याहारसुसार गर्छौ । रासस