काठमाडौँ– कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताएका हुन् ।


ADVERTISEMENT

# # #


कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा घर निर्माणका लागि सापटी दिने गरेकोमा अव जग्गा किन्नलाई समेत ५० लाख रुपैँया सम्म सापटी दिने छ ।

यस्तै कोषबाट प्राप्त हुने अन्य कुनै पनि सापटी उपयोग नगरेका सञ्चयकर्ताले धितोले बढीमा १५ वर्षको तलब बराबरको रकम सापटी प्राप्त गर्ने कार्यविधिमा जनाइएको छ । ब्याज दर सात दशमलब ९० प्रतिशत तोकिएको सापटीका लागि खरिद गरिने जग्गा धितो राख्नुपर्ने छ ।

हाललाई देशका मुख्य सहरी क्षेत्रमा यो सापटी लागू गर्न लागिएको जनाइएको छ । कोषको धनगढी शाखाको कार्यक्षेत्र अन्तर्गत कैलाली र कञ्चनपुरका बजार क्षेत्रमा सापटी प्रवाह गरिने धनगढी शाखाका प्रमुख केसीले जानकारी दिए ।

‘सञ्चयकर्ताको मागको आधारमा तोकिएको मापदण्ड पूरा भएका अन्य क्षेत्रमा समेत क्रमशः सापटी विस्तार गर्ने योजना छ’, उनले भने । कोषले जग्गा खरिदको लागि सापटी प्रदान गर्ने योजना गत भदौ ३१ मा सार्वजनिक गरेपनि कार्यविधि स्वीकृत नभएकोले कार्यान्वयनमा आउन सकेको थिएन । कोषले सञ्चयकर्तालाई घर निर्माण तथा घर खरिद घर मर्मत सापटी, शैक्षिक सापटी, विशेष सापटी, सरलकर्जा लगायतका सापटी समेत उपलव्ध गराउँदै आएको छ ।

यस्तै सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत काजकिरिया खर्च, औषधि उपचार शोधभर्ना, दुर्घटना क्षतिपूर्ति, प्रसूति खर्चलगायतका शीर्षकमा सञ्चयकर्तालाई सुविधा प्रदान गरिरहेको छ । कोषमा आवद्ध सञ्चयकर्ताबाट सङ्कलन भएको स्रोतलाई उनीहरुकै हितमा परिचालन गर्ने उद्देश्यले यी सुविधा प्रदान गरिएको केसीले बताए । कोषमा करिब ६ लाख सञ्चयकर्ता आवद्ध छन् । रासस