अछाम– मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि जिल्लामा उम्मेदवारले आमसभासँगै घरदैलो अभियानलाई तीव्र पारेका छन् ।


ADVERTISEMENT


जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।


ADVERTISEMENT

# # #


क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल र नेपाली काँग्रेसका भरतकुमार स्वाँरबीच प्रतिस्पर्धा हुने देखिन्छ । विसं २०४८ मा रावल काँग्रेस उम्मेदवार बलबहादुर कुँवरसँग पराजित भएका थिए भने २०५१ सालको निर्वाचनमा रावलले काँग्रेसका गोविन्दबहादुर शाहलाई पराजित गरेका थिए ।

विसं २०५६ को चुनावमा रावल काँग्रेस उम्मेदवार गोविन्दबहादुर शाहसँग पराजित भएका थिए । रावलले २०६४ सालको संविधानसभाको पहिलो निर्वाचन प्रत्यक्षतर्फ लडेनन् । उनी समानुपातिकतर्फबाट सभासद बनेका हुन् । रावलले २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा काँग्रेस उम्मेदवार मेघराज खड्कालाई पराजित गरे ।

काँग्रेस उम्मेदवार स्वाँरले पहिलो पटक प्रतिनिधिसभाको चुनाव लड्दै छन् । स्वाँर विसं २०४९ देखि २०५४ सम्म जिल्ला विकास समितिको सभापति रहेका थिए ।
यस्तै, क्षेत्र नं २ मा काँग्रेस उम्मेदवार पुष्पबहादुर शाह र वाम गठबन्धनबाट एमालेका यज्ञबहादुर बोगटीबीच प्रतिष्पर्धा हुनेछ ।

क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा काँग्रेसबाट मेघराज खड्का र एमालेबाट गोविन्दबहादुर कुँवर चुनावी मैदानमा छन् । प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका झपट बोहरा र काँग्रेसका टेकबहादुर साउँदबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अक्कलबहादुर रावल र काँग्रेसका सुरतबहादुर विष्टबीच प्रतिष्पर्धा हुनेछ । प्रदेशसभा ‘ख’ मा काँग्रेसका बलबहादुर कुँवर र एमालेका बलबहादुर सोडारीबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।