काठमाडौँ– भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


संघका महासचिव रोसन पुरीले आज एक विज्ञप्ति जारी गर्दै पतञ्जलीले नेपालमा सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेकोप्रति विरोध जनाएका हुन् ।


ADVERTISEMENT

# # #


यस विषयप्रति संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पिठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएका भन्दै महासंघले सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका समेत स्मरण गराएको छ ।

‘महासंघ कानुनविपरित सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

रामदेव र बालकृष्ण योग अध्यात्म सम्बन्धी टेलिभिजन उद्घाटन गर्नकै लागि मंसिर २ गते नेपाल आएका छन्।