समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिकानिधी लोहनीसँग विविध विषयमा हिमालय पोष्टले गरेको कुराकानीको सार :

समृद्धि फाइनान्सको यात्रा कसरी अघि बढिरहेको छ ?


ADVERTISEMENT


१५औं पञ्च वर्षीय योजनाले समृद्ध नेपाल सुखी नेपालीको नारा तय गर्दैगर्दा हामीलाई एउटा वित्त कम्पनीका हिसाबले नाम परिवर्तन गरेर जाने अवस्था आइरहेको  थियो । त्यसबेला ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा देशभर घन्किएपछि हामीले ‘समृद्धि’ नाम नै उपयुक्त ठान्यौं । अहिले समृद्धि फाइनान्सका नामले नै चलिरहेका छौं ।


ADVERTISEMENT

# # #


बैंकिङ प्रणाली आफैंमा पनि प्रतिस्पर्धात्मक रहेको छ । आम उपभोक्ताले सेवा नपाएको ठाउँमा सेवा दिने र उनीहरुको हितलाई ध्यानमा राखी राम्रो सेवा दिई मुनाफा पनि कमाउने संस्थाका रुपमा बैंकिङ संस्थालाई बुझ्नुपर्ने हुन्छ । तसर्थ समाजलाई समृद्ध बनाएपछि मात्र बैंकिङ संस्था समृद्ध हुने हो । उपभोक्तालाई सन्तुष्ट बनाउन सके मात्र बैंकिङ संस्थाहरु समृद्ध हुन्छन् ।

ग्राहकका सन्तुष्टिका हिसाबले समृद्धि फाइनान्स समृद्ध संस्था भएको हामीलाई पनि अनुभव भएको छ । त्यसैले समृद्ध हुनका लागि हामीले ग्राहकका सुविधा, सेवा र सन्तुष्टिका विषयमा ध्यान केन्द्रीत गरेर काम गरिरहेका छौं ।

अप्ठेरो अवस्थामा रहेको संस्थालाई तन्दुरुस्त बनाएर अघि बढाउन के के कुरामा ध्यान दिनुपर्ने रहेछ ?

पहिले हामी एउटा समस्याग्रस्त संस्थाका रुपमा रहेको थियौं । यो साँचो कुरा भएपनि अब हामीले त्यसलाई बिर्सन चाहेका छौं । त्यसपछि नयाँ संस्था गठन, संरचनागत पुनर्गठन, नीति, ब्राण्डिङ र बजारीकरण लगायतका कुरामा शक्ति प्रयोग गर्नुपर्‍यो । त्यसैगरी खराब कर्जाहरुको व्यवस्थापन अर्को महत्वपूर्ण कुरा थियो । सँगसँगै अनुभवका आधारमा आफ्ना दायित्वहरुमा हामीले मेहनतका साथ काम गर्यौं ।
यि सबै बिषयहरुमा गम्भिर भएर काम गरेकै कारण अहिले हामी राम्रो अवस्थामा आइपुगेका छौं ।

अब हामी अगाडिका बाटाहरुमा समृद्धिलाई कसरी सबलताका साथ दौडाउने भन्ने तर्फ ध्यान केन्द्रीत गरिरहेका छौं । अहिले अरु फाइनान्स कम्पनीकै तुलनामा बजारका हामी एक प्रतिस्पर्धी हौं ।

समृद्धिलाई आजको उचाईसम्म ल्याउन तपाईंले सीइओको रुपमा खेलेको भूमिकाको चर्चा छ । आगामी दिनहरुको परिकल्पना कस्तो गर्नुहुन्छ ?

कुनै समय झन्डै ८० को हाराहारीमा रहेको फाइनान्स कम्पनीहरु अहिले लगभग १५ वटाको संख्यामा रहेका छन् । त्यसैले हिजोको तुलनामा आजका दिनमा फाइनान्स कम्पनीहरुले बढी चुनौतीको सामना गर्नुपरेको छ । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको बजारमा आ आफ्ना छुट्टै क्षेत्रहरु नभएको हुँदा बजारमा सबैको एकै खाले प्रतिस्पर्धा रहेको छ । संस्थाको क्षमता भएपनि नभएपनि फाइनान्स कम्पनीहरुले विकास बैंक र बाणिज्य बैंकले जस्तै काम गरि नै रहेका छन् ।

बजारमा प्रतिस्पर्धा एकैखाले भएपनि हामी फाइनान्स कम्पनी भएकाले साना व्यवसायी, साना कर्जावालाहरु र मध्यम लगानी भएका ग्राहकमा केन्द्रित भएर अघि बढेका छौं ।

फाइनान्स कम्पनीले बजारमा रोजगारी सिर्जना गर्ने कुरा, राजस्व वृद्धिमा टेवा पुर्याउने कुरा, सीमान्तकृत वर्गको उत्थानका कुरा र बैंकिङ प्रणालीको बानी नपरेको समुदायलाई यसभित्र समाहित गर्ने र बानी पार्ने कुरा गर्ने हो । जस्तो, राष्ट्र बैंकले सीमान्तकृत वर्गको हकका लागि बैंकिङ निर्देशिका ल्याएको छ र लगानीका क्षेत्रहरु तोकिदिएको छ । यी ठाउँमा हामीले काम गर्नुपर्छ । जसमा सहुलियत कर्जाका कुराहरु र पहुँच नभएकाहरुलाई फाइनान्सियल पहुँच दिनेजस्ता  कुराहरु आउँछन् । यी हाम्रा दायरामा पर्दछन् ।

हाम्रो बजारभूमि भनेको प्राथमिकता पाएको स्थान र सहुलियत पाएको क्षेत्र नै हो । यसमा हामीले काम गरिरहेका छौं । यी क्षेत्रमा हाम्रा साना र मझौला गरी दुई खाले कर्जाका ग्राहकहरु छन् । यसलाई सहज बनाउन हामीले ग्राहकको भावनासँग गाँसिएर सेवाहरु प्रवाह गरेका छौं ।

फाइनान्स कम्पनी भएकाले हामीले राम्रो ब्याज दिन सक्छौं । यो ग्राहकको लागि एकदमै हितकर कुरा हो । यसमा ग्राहकलाई एकदमै फाइदा हुन्छ । निक्षेपकर्ताको चाहना भनेकै राम्रो ब्याजदर हो । राम्रो ब्याजदर हामीकँहा मिल्छ । त्यसमा हामी अब्बल रहेका छौं ।

यस्तै, हामीसँग  बैंकिङ बानी नपरेका ग्राहकहरु नै धेरै आउने भएका कारण पनि राष्ट्र बैंकको फाइनान्सियल एक्सेसको एजेन्डालाई हामीले महत्वका साथ अघि बढाईरहेका पनि छौं ।

समृद्धि फाइनान्सको निक्षेप, कर्जा, शाखाहरु र सेवाको अवस्था कस्तो छ ?

पूँजीका हिसाबले नेपालका राष्ट्रिय स्तरका कम्पनीहरुले ८० करोड रुपैयाँको पूँजी पूर्याउनुपर्ने हुन्छ । दुई वर्षअघि हाम्रो १८ करोड ुपेड अप क्यापिटलु रहेको थियो । अघिल्लो वर्ष हामीले कुल पूँजी ५४ करोड बनाएका छौं । हेटौंडामा सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट हामीले ५० प्रतिशत राइट सेयर जारी गर्न पाउने भएका छौं । अहिले हामी राइट सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउने पर्खाइमा छौं । त्यो पाएपछि हामी चाँडै नै ८० करोड भन्दा माथि पूँजी भएको संस्था बन्नेछौं ।

शाखाहरुको कुरा गर्ने हो भने अहिले हामीसँग पाँचवटा शाखाहरु रहेका छन् । प्रधान कार्यालयचाँहि हेटौंडामा रहेको छ । अन्य उपशाखाहरु पनि छन्  । त्यसैगरी इटहरी, नारायणगढ, बुटवल र पोखरामा अन्य शाखाहरु छन् ।

व्यापारको कुरा गर्दा करीब १ सय ५० करोडको निक्षेप रहेको अवस्था छ ।

थप शाखाहरु विस्तारको तयारी के छ ?

शाखा विस्तारको सम्बन्धमा नेपालका फाइनान्स कम्पनीहरु बैंकका तुलनामा पछाडि नै रहेका छन् । यसो हुनु स्वाभाविक नै हो । फाइनान्सले गर्ने व्यापारको अवस्थाले त्यसको शाखा कत्रो संख्यामा जान्छ भन्ने हुन्छ । अन्य फाइनान्स कम्पनीहरुको पनि धेरै शाखा विस्तार भएको छैन ।

आफ्नो इच्छा अनुसार शाखा विस्तार गर्न फाइनान्स कम्पनीले ८० करोड डिपोजिट पूर्याउनुपर्ने हुन्छ । समृद्धिले अहिले शाखा विस्तार गर्न नपाए पनि चाँडै नै हामी राष्ट्रिय स्तरको फाइनान्स कम्पनी हुँदैछौं । त्यसपछि थप शाखाहरु विस्तार गर्ने छौं ।

हामीले पञ्चवर्षीय योजना पनि बनाएका छौं । हामी यो वर्षको अन्त्यसम्म १० वटा शाखा थप्ने लक्ष्यमा रहेका छौं । हाम्रो व्यापारिक रणनीतिमा पनि यो कुरा समेटिएको छ । अर्को बर्ष हाम्रो १५ वटा शाखाहरु हुनेछन् । अहिले हाम्रो ‘स्ट्राटेजी पिरियड’को दोस्रो वर्ष चलिरहेको छ । पाँचौं वर्षमा हामी ३० वटा शाखाहरु विस्तार गर्ने लक्ष्यमा छौं ।

आफ्नो कार्यकालमा समृद्धिलाई कस्तो बनाउँछु भन्ने योजनामा हुनुहुन्छ ?

वित्त कम्पनीहरुको सूचिमा हामी कान्छो कम्पनीका रुपमा आएको भन्दा पनि फरक पर्दैन ।

त्यसैले छिटो दौडिने भन्दा पनि बजारमा स्थापित हुनु नै हाम्रो प्राथमिकता हो । वित्त कम्पनीको औसतभन्दा अघि पुग्ने हामीले लक्ष्य लिएका छौं ।

हामीले आफूलाई नम्बर एक बनाउँछु भनेर पनि हुँदैन । तसर्थ औसतरुपमा पुग्नु नै हाम्रो अहिलेको प्राथमिकता हो । पाँच वर्ष समय लिएर हामीले बजारमा धेरै किसिमका व्यापार गरिसकेको हुनुपर्छ । यही नै बोर्ड र उच्च व्यवस्थापनको पनि ठम्याई हो ।

त्यसपछि मात्र हामीले फाइनान्स कम्पनीकै रुपमा रहने वा विकास बैंकका रुपमा जाने भन्ने कुरा सोच्ने हो । त्यो बेला हामी यो विषयमा सोचेर  निर्णय गर्छौं । अहिले फाइनान्स कम्पनीले गर्न सक्ने अधिकतम काम जति हुन्छ त्यसको सीमासम्म पुगेर देशको अर्थतन्त्रलाई फराकिलो बनाउने काममा हामी लागेका छौं । आज केन्द्रीय बैंकले दिएको निर्देशनमा बसेर उठाउन सक्ने अधिकतम निक्षेप र त्यसबाट गर्न सकिने अधिकतम लगानी गर्नु नै हाम्रो कामको दायरा हो । हामी त्यसमा केन्द्रित छौं ।

प्राथमिकताहरुलाई हामीले पञ्चवर्षीय योजनामा पनि समेटेका छौं । सबै काम मेरो अवधिमा हुन्छ भनेर पनि म भन्न चाहन्न । वित्त कम्पनीमा सीईओ आउने जाने भइरहन सक्छ वा व्यवस्थापन पनि परिवर्तन भएर जान सक्छ । यो ठूलो कुरा पनि होइन । जसले काम गरे पनि हाम्रो योजना पहिले बजारमा राम्ररी स्थापित भएर अधिकतम काम गर्नु नै हुनेछ । त्यसैले समृद्धिको लक्ष्य आगामी चार वर्षभित्र अधिकतम सीमासम्म पुगेर व्यापार गर्नु रहनेछ । यसैमा समृद्धिको उज्वल भविष्य छ ।

फाइनान्सबाट विकास बैँक हुँदै बाणिज्य बैँक बनेका केहि उदाहरण पनि छन् । त्यसतर्फ समृद्धिले के सोचेको छ ?

मलाई  यस्तो  हुनु स्वाभाविक नै हो भन्ने लाग्छ । एउटा संस्थाको उन्नति एकदमै जरुरी कुरा हो । हरेक संस्थाले आफ्नो उन्नति त खोज्छ नै । अधिकतम सीमामा पुगेर उन्नति गरिसकेपछि पनि थप काम गर्न जरुरी हुन्छ । एकै ठाउँमा त कोही पनि बसिरहन चाहन्न । त्यसैले हरेक संस्थाले ‘ग्रोथ’ खोजिरहेको हुन्छ । नीति नभए त काम पनि हुँदैन ।

हामीले सोचेको ८० करोड डिपोजिट भएको राष्ट्रिय फाइनान्स कम्पनी हुने, त्यसको अधिकतम सीमामा गएर व्यापार गर्ने र त्यसपछि २ सय ५० करोड पूँजी भएको विकास बैंक हुने भन्ने हो । अहिले राष्ट्र बैंकले दिएको नीतिमा बसेर कुरा गरिरहँदा वित्त कम्पनीहरु सबैको लक्ष्य यही नै हो । हाम्रो पनि हो ।

त्यसैले यो संस्थाले निसन्देह उन्नति गर्नुपर्छ । उन्नति गर्दै जाँदा पूँजी पनि बढाउने काम गर्नुपर्छ । तर, त्यसो भन्दैगर्दा पूँजी  बढाउन लगानीकर्तासँग पैसा मात्र मागिरहने भन्ने पनि होइन । कमाएर लगानीकर्तालाई फिर्ता पनि  गर्नुपर्छ । लाभांश पनि  दिनुपर्छ । कर्मचारीलाई सन्तुष्ट पनि  बनाउनुपर्छ । ग्राहकलाई पनि सन्तुष्टि दिनुपर्छ । तसर्थ यो एक ‘सर्कल चेन’ भित्र आउने कुरा हो । स्वाभाविक रुपमा फाइनान्स कम्पनीले संरचनागत वृद्धि सोच्नुपर्छ । समृद्धिको  सञ्चालक र उच्च व्यवस्थापनले पनि यो कुरा सोचेको छ ।

ग्राहकहरुले समृद्धि फाइनान्स नै किन रोज्ने ?

मुख्यतया हामीलाई ग्राहकले रोज्नुपर्ने कारण तीनवटा रहेका छन् । डिपोजिट, लेन्डिङ र फाइनान्सियल पहुँचका कुराहरु मुख्य हुन् । डिपोजिटमा हामी सबैभन्दा बढी ब्याज दिने र त्यसको ‘अफर’ गर्न सक्ने फाइनान्सका रुपमा रहेका छौं ।

डिपोजिटरले खोज्ने भनेकै ब्याजदर र सुरक्षा हो, त्यसमा हामी सफल छौं ।

पहिले नेपालका बैंक वित्तमा रकमको सुरक्षालाई लिएर धेरै प्रश्नहरु पनि थिए । आजको दिनमा भने त्यस्तो छैन । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण र निरन्तरको अनुगमनले अब ‘ए’ ‘बी’ ‘सी’ वर्गका बैंक वित्तमा लगानी सुरक्षित नहुने भन्ने हराएर गएको छ । त्यस कारण सुरक्षाका हिसाबले पनि समृद्धिलाई रोज्न सकिन्छ ।

दोस्रो, हामीले साना र मझौला कर्जाहरुलाई प्राथमिकतामा राखेका कारण कर्जामा पनि हामीसँग ढुक्क भएर काम गर्न सकिन्छ । त्यस्तै साना कर्जाहरुमा बिनाधितोका कर्जाहरु पनि हामीसँग रहेका छन् । परियोजनाहरुलाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना गरिरहेका कारण पनि हामीलाई रोज्न म सुझाव दिन चाहन्छु । यसमा स्वरोजगार र अतिरिक्त रोजगारका कुरा हामीले समेटेका छौं । ऋणीहरुको क्षमता अभिवृद्धिका लागि काउन्सिलिङ गर्ने कामहरु पनि हामीले गर्दै आएका छौं । आउँदा दिनमा हामीले यसलाई अझ प्रभावकारी ढंगले काम गर्ने सोच बनाएका कारण पनि हामीलाई रोज्न सकिन्छ ।

तेस्रो एजेन्डा, फाइनान्सियल एक्सेसका कुरा नेपाल राष्ट्र बैंकको मात्र नभएर ग्लोबल एजेन्डा हो । यसको प्राथमिकता भनेको तल्लो तप्कामा रहेका मानिसहरुलाई बैंकको सुविधा दिने र त्यसको बानी पार्ने भन्ने हो । यसका लागि हामीले  सचेत भएर काम गरिरहेका छौं । हामीसँग त्यस्ता ग्राहकहरु धेरै मात्रामा जोडिएका छन् । यसकारण पनि हामीलाई रोज्न सकिन्छ । प्रविधिको प्रयोग गरी फाइनान्सियल सुविधा दिने हुँदा यसमा बानी पार्ने काममा हामी खटिइरहेका छौं ।

बैंक वित्तको निष्फिक्री प्रयोग गरी पेशा व्यवसाय र क्षमता बढाउने भन्ने नीतिका साथ काम गरिरहेको हुँदा पनि हामी ग्राहकको रोजाइमा परिरहेका छौं भन्ने लाग्छ । ‘पर्सन टु पर्सन टच’ भएर  हामीले काम गरिरहेकाले  हामीलाई ग्राहकले रोज्छन्, रोजिरहेका छन् र आगामी दिनमा पनि रोज्नेछन् भन्ने हाम्रो ठम्याई हो । आगामी दिनमा पनि ‘इन टच’ भएर काम गर्ने हामीले योजना बनाएका छौं । तसर्थ निर्धक्क भएर समृद्धिलाई रोज्न सकिन्छ ।

अहिले बजारमा तरलता अभाव देखिएको छ र यसको मारमा बैंक वित्तहरु परिरहेका छन् । यो जटिल समयमा कसरी काम गरिरहनु भएको छ ?

हो, बजारमा अहिले निक्षेपका सन्दर्भमा तरलता अभाव रही आएको छ । तर, राष्ट्र बैंकले कुनै पनि बैंकवित्तको गेटबाट ग्राहकको चेक फिर्ता नहोस् भनी एक खाले सुनिश्चितता गरिदिएको छ ।  तरलता अभावबाट समस्या आउन नदिन केन्द्रीय बैंकले अहिले यस्तो व्यवस्थापनको नीति अघि सारेको छ । यसले समस्या समाधानको बाटो खुलेको छ ।

यसले गर्दा डरलाग्दो तरलता अभावको सिर्जना भएको छैन । यो समाधान भएर जानेछ भन्ने आशा गर्नुपर्छ । बाँकी कुरा त तरलता अभाव एउटा संस्थाको मात्र नियन्त्रणमा छैन । सरकारको खर्च गर्ने क्षमताले पनि यसलाई प्रभाव पारेको हुन्छ । सरकारले खर्च गर्न लगाउने समयले पनि यसलाई असर गरेको हुन्छ । सरकारले जति छिटो काम गर्छ, त्यति नै छिटो यसको समाधान हुन्छ । सरकारसँग पैसा थुप्रिएको र खर्च नगरेको कारण यस्तो समस्या भएको हो । यसका अरु कारणहरु पनि केही छन् भने यसको खोजी गरी समाधान गरिएला ।

अब हामीले चाँहि यसमा गर्न सक्ने भनेको डिपोजिट गर्ने ग्राहकहरुसँग थप डिपोजिटको अपेक्षा राख्ने हो । यसका लागि स्किम ल्याउन सकिन्छ । नयाँ डिपोजिटर खोज्ने,  बजारमा भएको पैसालाई चलायमान गरिराख्ने र मागको पूरा गर्न पहल गरिदिने काम हामीले गर्न सक्छौं ।

ग्राहकलाई दिने सेवा कस्तो बन्नुपर्छ ?

मैले अघि पनि एउटा कुरा जोडेको थिएँ सबै मानिसलाई फाइनान्सियल रुपमा समेट्नु हाम्रो लक्ष्य रहेको छ । निम्न, मध्यमवर्गका मानिसमा बैंकवित्तको पहुँच विस्तार गर्ने र बैंकिङ बानी पार्ने नै हाम्रो लक्ष्य हो । यो ग्लोबल एजेन्डा पनि हो । तसर्थ आज कसैसँग धेरै पैसा हुनसक्छ वा आज कसैसँग थोरै पैसा हुनसक्छ । रकमका हिसाबले कसैलाई पनि बिभेदको व्यवहार गर्नु राम्रो होइन ।

आज कम पैसा जम्मा गर्ने मान्छेका पनि भविष्यमा अवसरका अपार ढोकाहरु हुन्छन् । आज धेरै पैसा जम्मा गर्न सक्ने मान्छेको पनि आर्थिक अवस्था बिग्रन सक्छ । बैंकवित्त भनेको सबैका लागि हो । सबै मान्छेले यसको सुविधा लिन पाउँछन् । कानुनतः पनि यो उपभोक्ताको अधिकारको क्षेत्र भएकाले दुर्व्यवहार गर्नु दण्डनीय मानिन्छ । हामीले ‘पर्सन टु पर्सन टच’ भएर काम गर्ने भन्ने नीति बनाएका कारण हाम्रोमा त्यस्तो अवस्था छैन ।

फाइनान्स कम्पनीले वित्तीय बैंक लेख्न पाउनु पर्छ भन्ने कुरा पनि आइराखेको छ, यसमा तपाईंको धारणा के छ ?

तपाईंले राम्रो प्रश्न गर्नुभयो, जस्तो राष्ट्रिय सहकारी बैंक भन्ने एउटा संस्था आयो । जसमा सहकारीलाई बैंक लेखियो । सहकारी बैंक हो कि होइन ? यदि बैंक हो भने सो संस्थाले तपाईं हाम्रो व्यक्तिगत डिपोजिट लिन्छ कि लिँदैन ? सो संस्थाको चेक क्लियरेन्समा जान्छ कि जाँदैन ? त्यसमा विश्वास सिर्जना गर्नका लागि बैंक भन्ने शब्द लोभ गरियो । २० वर्षअघि आएको सो संस्थामा देखिएको बैंक शब्द र उसले दिएको सुविधा बैंकसँग मेल खाएन । मेरो तर्क कुनै सँस्था प्रति लक्षित होईन ।

बैंक भनेको एउटा बिश्वास हो । आज हामी संस्थाको नाममा फाइनान्स लेख्छौं यद्यपी फाइनान्सिङ गर्दैनौं,  बैंकिङ नै गर्छौं । त्यसैले ‘सी’ वर्गमा रहेका फाइनान्स कम्पनीहरु जसले बैंकिङ सुविधा दिन्छन्, तिनलाई बैंक भन्न वा बैंक भन्ने शब्दसँग टाढा राख्ने कुनै कारण मैले देखेको छैन ।

आज फाइनान्सहरुले बैंककै काम गरिरहेका छन् तर यसलाई बैंक नाम दिन कन्जुस्याईं गरिएको छ । मैले यसमा कन्जुस्यार्ईं गर्नुको खासै अर्थ देखेको छैन । बैंक लेख्न नदिँदा यसको नकारात्मक अर्थ गएको छ । यसले फाइनान्स कम्पनीलाई आफ्नो उन्नतिमा  रोकेको छ भन्ने लाग्छ । यो सरासर अन्याय हो ।

फाइनान्सहरुलाई बैंक लेख्न नदिनाले अहित भएको छ । यो दयामा मागिएको विषय नै होइन । काम अनुसारको नाम मागिएको हो । सजिलैसँग फाइनान्स कम्पनीले आफूलाई बैंक लेख्न पाउनुपर्ने हो ।  यो कुरा ऐनमा कमजोरी भएको छ । तसर्थ राष्ट्रबैंकले भन्दा पनि  ‘पार्लियामेन्ट’ले यो समस्या सुल्झाउनु पर्छ । ऐनमा नै सुधार गरेर काम अनुसारको नाम दिन कुनै कन्जुस्याईं नगरे हुन्छ । नेपालको व्यवस्थापिकाले यो कुरा सोच्नुपर्छ । राष्ट्रबैंक नियमनकारी निकाय भएकाले उसले पनि यो विषयलाई उठाउनुपर्छ ।

समृद्धिका ग्राहक, कर्मचारी, लगानीकर्ता, बोर्ड सदस्य र शुभचिन्तकहरुलाई के भन्न चाहनुहुन्छ ?

बिग्रन लागेको अवस्थाबाट जोगाएर समृद्धिलाई संस्था छ भन्ने हिसाबले अघि बढाउनमा सञ्चालक समितिको, लगानीकर्ताको, समृद्धिका शुभेच्छुकको, रेगुलेटरको, कर्मचारीहरुको र यसका ग्राहकहरुको अहम् भूमिका रहेको छ । सबैको साथ र सहयोगबाट हामीले आजको यात्रा गरिरहेका छौं ।

संस्था नै नरहने अवस्थाबाट जोगाएर आजको अवस्थामा ल्याउन सम्पूर्ण पक्षको अहम भूमिका रहेको छ । आगामी दिनमा पनि उहाँहरुको साथ, साहयोग, शुभेच्छा, सकारात्मक सोच, विश्वास र हौसला पाइराखौं भन्ने चाहेका छौं । तसर्थ म सबै पक्षलाई धन्यवाद दिन चाहन्छु ।

लगानीकर्ताहरुले अप्ठेरो अवस्थामा पनि साथ दिनुभयो । व्यवस्थापनले यसलाई सही ढंगले चलाउने सोच बनाएर अघि बढ्नुभयो । कर्मचारी साथीहरुले दुखका बेला पनि खटिई यहाँसम्म ल्याउनुभयो । ग्राहकहरुले हामीलाई माया गरिराख्नुभएको छ र अझै माया फैलिँदै गएको छ । उहाँहरुलाई म हृदयतः आभार प्रकट गर्न चाहन्छु ।


ADVERTISEMENT

#
#


आउँदा दिनमा पनि उहाँहरुको अझै बढी  माया, साथ र हौसला चाहिएको छ । भविष्यमा हाम्रा सम्भावनाहरु पनि बढी छन् र फाइदा पनि बढी हुने कुराहरु खोज्नुपर्ने भएको छ । फाइनान्स कम्पनी मायाले मात्र नचल्ने र व्यापारिक हिसाबले पनि चल्नुपर्ने भएकाले हामीले ‘भ्यालु जेनेरेट’ गर्नुपर्ने हुन्छ । यसको लागि विश्वास चाहिन्छ । तसर्थ यसको ‘रिटेल जेनेरेट’ गर्न तपाईं हामी सबैले समृद्धिलाई विश्वास गर्न जरुरी छ । विश्वास गर्न सके मात्र ‘भ्यालु जेनेरेट’ हुने र ‘भ्यालु जेनेरेट’भए मात्र ‘रिटेल’का सम्भावना बढी हुने भएकाले हामी त्यसमा केन्द्रित हुनु आवश्यक छ । साथै हाम्रो उन्नतिमा सञ्चार माध्यमहरुको पनि ठूलो भूमिका रहेको छ, उहाँहरु सबैलाई पनि धन्यवाद भन्न चाहन्छु ।

प्रतिकृया

प्रतिकृया