काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले प्रचण्ड कांग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गरेका हुन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले कांग्रेसलाई बिगार्न समातेको दाबी समेत गरे । उनले आफूहरुलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड कांग्रेसको पछि लागेको समेत दाबी गरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले भने, ‘कांग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ ?  बहुमतको कम्युनिष्ट पार्टी फुटाएर चोइटो लिएर कुद्ने त्यस्ताहरुको पछि लागेर देश बन्छ ? प्रचण्डले सँधै समस्या खडा गरे । हामीलाई बिगार्न खोजेका थिए । नबिग्रिने देखेपछि टाप कसे । कहाँ बिग्रन्छ एमाले ? अब कांग्रेसलाई समातेछन् । म कांग्रेसलाई चेतावनी दिन चाहन्छु, कांग्रेस होसियार ! प्रचण्डले भ्याइदिन्छन् । हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’

अध्यक्ष ओलीले कांग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गरे । उनले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्र्याएर मुलुकलाई डरलाग्दो अवस्था पुर्याउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा लाग्न पनि साइबर सर्कललाई आग्रह गरे । उनले राष्ट्र, राष्ट्रियता, मुलुकको समृद्धि र विकासका लागि वातावरण बनाउने काममा सञ्चारमाध्यमहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे । अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भइरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाए ।