काठमाडौं – नेपालको राजावादी पार्टी राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा)ले हिजो (बुधबार)बाट  एकता महाधिवेशन सुरु गरेको छ । नेकपा एमालेको भर्खरै मात्र १० औं महाधिवेशन सम्पन्न भएको भोलिपल्टबाट राप्रपाले   एकता महाधिवेशनको उद्घाटन गरेको हो ।


ADVERTISEMENT


उद्घाटनको कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, मालेका महासचिव सीपी मैनालीसहित अन्य पार्टीका प्रतिनिधिहरु सहभागी थिए ।


ADVERTISEMENT

# # #


तर, एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् । उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाए । यसअघि एमालेको महाधिवेशनमा ओलीको निमन्त्रणमा राप्रपा अध्यक्ष कमल थापा सम्बोधनका लागि चितवन पुगेका थिए । सो क्रममा थापाले ओलीलाई राष्ट्रवादीको उपमा दिएका थिए ।

राप्रपाको महाधिवेशनमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई झटारो हान्न भ्याए । उनले ओलीकै कारण पार्टी फुटेर तीन टुक्रा भएको तर, उनले महाधिवेशनलाई एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरे । उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए । प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’

प्रचण्डले अगाडि भने, ‘तर, नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने ? तपाईँहरुले ठीक गर्नुभयो ।’

कार्यक्रममै प्रचण्डले सीपी मैनालीमाथि पनि कटाक्ष गरे । मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको तथा त्यसमा प्रचण्डको पनि भूमिका रहेको बताएका थिए । त्यसपछि बोलेका प्रचण्डले मैनालीको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै राप्रपाको अध्यक्षले जस्तो टिप्पणी गरेको भन्दै कटाक्ष गरे ।

उनले आफूले लागेको कुरा बोल्ने तर सीपी मैनालीले जस्तो अर्को भाषा बोल्न नसक्ने बताए । ‘तपाईंहरू (राप्रपा)को र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रिय भावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईं हामी उस्तै उस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन’, प्रचण्डले भने, ‘म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनुभयो । पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईंहरूको अगाडि महान राजा पनि भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँच्चै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’