पाल्पा– पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।


ADVERTISEMENT


आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


समितिका सल्लाहकार होमबहादुर थापाले जाडोको मौसम सुरु भएसँगै न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो बनाई अध्ययनलाई सहजता ल्याउन कपडा वितरण गरिएको बताए । समितिका सदस्य बृहस्पति रानाले न्यून दृष्टियुक्त बालबालिकाको पठ्नपाठनलाई सरल बनाउने र उनीहरुको शिक्षामा पहुँच विस्तार गर्ने वातारण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार आर्यलले विसं २०५२ मा स्थानीयवासीको सहयोगमा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई खानाको व्यवस्था गरी पठनपाठन सञ्चालनमा ल्याएको सुनाए । विद्यालयले उनीहरुका लागि आवासीय सेवा सञ्चालन गरिएको उनको भनाई छ । उनका अनुसार, सो विद्यालयबाट न्यून दृष्टियुक्त भएका १२० बढी विद्यार्थीले उच्च शिक्षा प्राप्त गरिसकेका छन् र, तीमध्ये अधिकांश जागिरे अवस्थामा छन् ।

विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले छरछिमेकका न्यून दृष्टियुक्त बालबालिका अलपत्र अवस्थामा भेटिएमा विद्यालयले आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था गर्ने जानकारी दिए । उनले न्यून दृष्टियुक्त बालबालिकाले पढ्न पाउने अधिकारबाट वञ्चित हुन नपर्ने गरी पठनपाठनको सेवा दिएकोे धारणा व्यक्त गरे ।

यस विद्यालयमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जालगायत जिल्लाका न्यून दृष्टियुक्त बालबालिकाले अध्ययन गर्दै आएका छन् । रासस