दिपायल – जिल्लामा पर्यटक भित्र्याउनका लागि दिपायल सिलगढी नगरपालिका–२ र ५ मा स्थित ऐतिहासिक तथा पुरातात्विक पुराना धार्मिकस्थल कोटभैरव तथा दुधेश्वरमा झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ । यहाँको दृष्यावलोकन गर्न सहज होस् भन्ने उद्देश्यले दिपायलस्थित द्वारीखोलामाथि कम्तीमा ७० मिटर उचाइमा उक्त पुल निर्माण गरिन लागिएको हो ।


ADVERTISEMENT


कोटभैरव तथा दुधेश्वर मन्दिरको प्रचार–प्रसार तथा पर्यटकलाई आकर्षित गराउनका लागि उक्त पुल निर्माणको थालनी गरिएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, “जिल्लाकै इतिहास बोकेका थी दुई पुराना मन्दिरमा पर्यटकका लागि सहजता र पर्यटक भित्र्याउनका लागि पुल निर्माणको काम सुरु गरेका छौँ, पुल बनेपछि पर्यटकको भीड लाग्ने छ ।” दुई डाँडामाथि रहेका धार्मिकस्थलको एकैचोटी दर्शन गर्न पाइने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र दिपायल सिलगढीको रु ८६ लाख ३८ हजार ७०० को लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गे पुलको लम्बाइ २०० मिटर छ । देवभूमि कन्स्ट्रक्शन अमरगढी–५ डडेल्धुराले २०७८ असार १७ गते सम्झौता गरी आउँदो २०७९ असार १५ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौता गरिएको छ । पर्यटनको प्रमुख केन्द्रविन्दु बन्नसक्ने जनाउँदै पुरानो राजदरबारसमेत रहेको उक्त ठाउँमा सुदूरपश्चिममा झल्किने परम्परागत बाजागाजा, पहिरन, भाँडाकुँडालगायत लोप हुन लागेका वस्तु राख्ने र सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।

उक्त पुलबाट यहाँका प्रमुख व्यापारिक केन्द्र दिपायल, पिपल्ला एयरपोर्ट, राजपुर तथा घोलतडालगायतका होचा फाँट हेर्न मिल्ने भएको हुँदा पर्यटकको आकर्षण बढ्ने स्थानीयवासी तुलसी शाहीले बताए । उनले भने, “यहाँका रमाइला फाँट र व्यापारिक केन्द्रको अवलोकन गर्न निकै सहज हुने भएकाले पुल बनेपछि पर्यटकका लागि निकै सहज हुने छ ।” आन्तरिक तथा बाह्य पर्यटकसमेत पुल अवलोकन गर्न आएपछि यहाँका धार्मिक पर्यटकलाई देश विदेशमा चिनाउन सहज हुने अपेक्षा लिइएको छ । रासस