जनकपुरधाम – भारतको जयनगरबाट जनकपुरसम्म रेल चल्ने कुरा विगत ३ वर्ष अघिदेखिको हो। तर, अहिलेसम्म रेल नचल्दा यस क्षेत्रका स्थानीयको रेल चढ्ने आशा निराशामा परिणत भएको छ । ‘उमेरले अब साथ दिन छोड्यो, मोटरसाइकलमा आउँदाजाँदा समस्या हुन्छ । रेल चढेर जानकी मन्दिर दर्शन गर्ने इच्छा छ तर रहर पूरा हुने छाँटकाँट छैन,’ जनकनन्दनी गाउँपालिकाकी ८० वर्षीया जोगनी दासले भनिन्, ‘रेल नचल्दा जनकपुर बजार नपुगेको झण्डै १० वर्ष जति हुन लाग्यो।’


ADVERTISEMENT


सोही गाउँपालिकाकै ८० वर्षीय मोहामिद साफीको पनि रेल चलेको हेर्ने मन छ । उनले भने, ‘रेल चलाउने कुरा सुनेको सुन्यै छु । तर, खै कहिले आउँछ रेल रु’ त्यस्तै, रेल नचल्दा निराश बनेकी जनकनन्दनी गाउँपालिका–४ खजूरीकी सूर्यकलादेवी कामतीले रेल चल्ने कुरा गफै मात्र भएको बताइन्। उनले भनिन्, ‘रेल त आयो तर एक दिनपनि चलेन। कहिले चल्छ ठेगान छैन। रेल आउँने र चल्ने कुरा त फगत गफ मात्रै भयो।’


ADVERTISEMENT

# # #


सरकारको स्वामित्व भएको रेल तामझामका साथ गत वर्षको असोज ३ मा भित्र्याइयो । भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेसनसम्म पुर्‍याइयो। पहिलो पटक रेल चल्ने कुराले जनकपुरवासीमा खुसीको सीमा थिएन। धेरैलाई लागेको थियो, अब रेल चल्छ। सर्वसाधारणले सरकारको धेरै प्रशंसा पनि गरे । तर, लामो समयसम्म पनि रेल चल्न नसकेपछि यहाँका सर्वसाधारणदेखि व्यापारीसम्म निराश छन् । निक्कै उत्साह र धुमधामका साथ हर्न बजाएर भित्र्याइएको रेल झण्डै १५ महिनादेखि पालमुनि थन्किएपछि स्थानीय निराश भएका हुन् ।

रेल चलाउने आवश्यक भौतिक पूर्वाधार पनि कर्मचारीको अभावमा धनुषाको इनर्वा स्टेसनको पालमुनि रेल थन्किएको हो। रेल भित्र्याउने बेला १ महिना मात्र कर्मचारी भर्ना गरेर चलाउने भनिए पनि कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा रेल सञ्चालन अनिश्चित बनेको रेल्वेका साइट इन्जिनियर विनोद ओझाले बताए।

रेल्वेका महाप्रबन्धक निरञ्जन झाले १ हजार २ सय ५४ करोड रुपैयाँको लागतमा निर्माण गरिने भनिएको जयनगर–बर्दिबास सडकखण्डमध्ये ६२३ करोड लागतमा निर्माण गरिएको जयनगर–कुर्था रेलमार्ग भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए ।

रेल सञ्चालनसम्बन्धी कार्यविधि तयार भए पनि कर्मचारी व्यवस्थापन, कानुन अभाव, भाडादर निर्धारण, चोरिएको क्लिप, झ्याल ढोका तथा अन्य संरचनामा केही काम बाँकी रहेकाले सबै प्रक्रियाहरू चाँडै पूरा हुने दाबी उनले गरे ।

महाप्रबन्धक झाले भने, ‘हामीले भारतीय कम्पनी केआरसीएललाई इनर्वामा विगत ८ महिनादेखि थन्काएर राखिएको रेलसेटको प्राविधिक जाँचका लागि पत्राचार गरिसकेका छौं। केआरसीएलले प्राविधिक रिपोर्ट तयार पारेर हामीलाई जिम्मा लगाएपछि मात्रै रेल गुडाउने मिति सम्बन्धमा औपचारिक जानकारी दिन सक्छौं ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट ।