काठमाण्डौं-पार्टी नीतिप्रति असहमति जनाउँदै राप्रपा (प्रजातान्त्रिक)का रोल्पाबाट प्रदेश सभाका उम्मेदवार वीरसिंह ठकुरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रोल्पा ‘क’बाट उम्मेदवारी दर्ता गराएका उनले शुक्रबार लिबाङमा आयोजित वाम गठबन्धनको सभामार्फत पार्टी प्रवेश गरेका हुन् ।


ADVERTISEMENT


एमाले र माओवादी केन्द्रको गठबन्धनले संयुक्त रुपमा गरेको चुनावी सभामा ठकुरीले उम्मेदवारी र पार्टी परित्याग गरेको घोषणा गरे । ‘राजनीतिक ध्रुविकरण भएपछि अबको रणनीतिक उद्देश्य पूरा गर्न मैले उम्मेदवारी फिर्ता गरेको छु’ उनले सभामा भने । उनी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य समेत हुन् ।


ADVERTISEMENT

# # #


‘वाम गठबन्धनले नै अबको मुलुक बनाउन कार्यभार पूरा गर्नेछ भनेर मैले यस पार्टीलाई रोजेको हुँ ।’वाम गठबन्धनका साझा उम्मेदवारलाई सघाउन आव्हान गर्दै उनले भने, ‘अबको राजनीति माओवादी केन्द्रमै गर्नेछु ।’ उनी राप्रपाका राप्ती अञ्चल प्रमुख पनि थिए ।

लामो समयदेखि राजधानीमा बसेर वकालत गर्दै आएका उनी सुवर्णावती-२ खुंग्रीका बासिन्दा हुन् । ठकुरीलाई माओवादी केन्द्रका नेता एवं बिनाविभागीय मन्त्री कृष्णबहादुर महराले टीका र माला लगाइदिएर पार्टी प्रवेश गराएका हुन् । उनलाई निवर्तमान सभामुख ओनसरी घर्ती, वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार एवं नेता वर्षमान पुन प्रदेशसभाका उम्मेदवारहरु कुलप्रसाद केसी, दीपेन्द्र पुन, नेताहरु जयपुरी घर्ती, एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती लगायतले स्वागत गरे ।

ठकुरीले पार्टी र उम्मेदवारी परित्याग गरे पनि उक्त पार्टीबाट तिलबहादुर वलीले प्रतिनिधिसभामा र हरिकला बुढाथोकीले प्रदेशसभाका लागि रोल्पा ‘ख’बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । केन्द्र जस्तै रोल्पामा राप्रपा तीन भागमा विभाजित भएको छ । कमल थापा नेतृत्वको राप्रपाले कांग्रेसलाई, प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा प्रजातान्त्रिकले आफै चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् ।