काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकामा विगत ३–४ दिनदेखि झ्याप्प झ्याप्प बिजुली गइरहने समस्या अब नदोहोरिने बताएका छन् ।
शुक्रबार प्राधिकारको कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले जाडोमा विद्युत खपत बढेको र ट्राम्सफर्मर परिवर्तन गर्नु परेकाले बिजुली आपूर्तिमा समस्या आएको र अब त्यस्तो नहुने बताएका हुन् । आपूर्ति धान्नका लागि बढी क्षमता भएका ट्रान्सफर्मर परिवर्तन गर्ने काम सम्पन्न भएकाले अब समस्या नहुने उनको भनाई छ ।
घिसिङले भने, ‘विगत ३–४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरू देखियो भन्ने जनगुनासोहरू आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौंमा मात्रै हो । सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति गर्न नसकेको होइन । काठमाडौंका सबै ठाउँमा नभएर केही ठाउँहरूमा मात्र समस्या भएको हो ।’ उपत्यकामा मात्रै ३८ सय हाराहारीमा ट्रान्सर्फमर रहेको र केही फिडरमा वा केही ट्रान्सर्फमरमा समस्या देखिएको बताए ।
काठमाडौँ उपत्यकाको माग व्यवस्थापनका लागि भनेर अहिले ९ वटा ठाउँमा सबस्टेसन बनिरहेका उनले जानकारी दिए । उनले भने, ‘मातातीर्थ, चोभार, टेकु, ठिमी, मूलपानी, चाँगुनारायण, बालकुमारीलगायतका ठाउँमा सबस्टेसन बनिरहेका छन् । यी सबै बनिसक्दा १ हजार मेगावाटको क्षमता थप हुन्छ ।’
उनले अहिले बेलुकाको ‘पिक आवर’ (अत्याधिक बिजुली खपत हुने समय)मा विजुली १७ सय मेगावाटको हाराहारीमा आवश्यक रहेको र बिहानको ‘पिक आवर’मा १५–१६ सय मेगावाट बिजुली चाहिएको बताए । उनले हिउँदको समयमा पनि बिजुलीको सहज आपूर्तिका लागि ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युतले सहज बनाएको उनले जानकारी दिए ।