झापा  – चर्चित  ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा लगातार धमाका मच्चाइरहेकी कृपा पौडेललाई जिताउनका लागि झापामा कृपा जिताऊ अभियान नै चलाइएको छ । झापाको विर्तामोड नगरपालिका अन्तर्गत वडा नं २ का अध्यक्षसमेत रहेका नगेन्द्र संग्रौलाको अध्यक्षतामा गठित कृपा जिताऊ अभियानलाई  ५४ वटा सामाजिक संस्थाहरु, राजनैतिक दलहरु, शिक्षण संस्थाहरु तथा देश विदेशबाट  समर्थन र सहयोग मिलिरहेको अभियानका मूल समारोह समितिका सचिव माधव कल्पित खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT


 कृपालाई जिताउनका लागि समितिले ५४ वटै संस्थाहरुका प्रतिनिधिहरु एकै पटक भेट्न अप्ठेरो हुने कारण १५ सदस्यीय कमिटी बनाएकाे छ । कमिटीको संयोजकत्व भने माधव कल्पित खतिवडाले सम्हालिरहेका छन् । कमिटीले छिटोछरितो प्रचारप्रसारदेखि यावत् काम गरिरहेको कमिटीका संयोजक चुनिएका खतिवडा बताउँछन् ।


ADVERTISEMENT

# # #


कमिटीले विभिन्न वडामा प्रचारप्रसार गर्ने, विद्यालयहरु र विद्यार्थीका लागि भोटकाे अपील गर्ने, पम्प्लेटहरु टाँस्ने, सामाजिक संस्थाहरुसँग सहकार्य गर्ने, सामाजिक सञ्जालमा अभियान चलाउने लगायतका काम गरिररहेको कल्पितले हिमालयपोष्टसँगको टेलिफोन वार्तामा बताए ।

देशविदेशका सहयोगी मनहरुले भोटिङका लागि पनि कल्पितले अपिल गर्दै भने,’सुरिलो स्वर भएकी बहुप्रतिभाशाली कृपा नानीले गायनका कारण हाम्रो मन छोएकी थिइन् आज राष्ट्रिय गायिकाको परिचय बनाउँदै गएकी छन् भने हामीले तन मन र धनले सहयोग गर्नु नितान्त जरुरी छ । यसैका लागि अभियान चलाइएको हो । ‘

उनले थपे,’झापावासी दाजुभाइ दिदी बहिनीहरु तथा देश विदेशमा बस्ने नेपालीहरुले कृपालाई जिताउन अहम् भूमिका खेलिरहेकोमा म धन्यवाद दिन चाहान्छु । हामीलाई भोटिङ मात्र गरिदिएर ह‍ौसला बढाइदिनेदेखि लिएर रकम दिएर सहयोग गर्नेहरु पनि छन् । आप्नो गक्षले सकेजति कृपाका स्वरका पारखीहरुले आर्थिक सहयोग पनि गरेका छन् । झापाकै क्षितिज नाट्य समूह जुन संस्थाकी कृपा सदस्य पनि हुन् ।  संस्थाले एक लाख एक हजार सहयोग गरेको छ। ‘

हाल कृपा पौडेल दर्शकको लागि चिरपरिचित नाम भइसकेको छ ।  भोटिङकै कारण कहिलेकाँहि झन्झट पनि पाइरहेकी  कृपाको परिचय  फरकाकिलो र बहुआयामिक छ । सानै उमेरमा तिखारिएको स्वरकी धनी कृपाले जज र जुरी मेम्बरको  मन जितेकी छन् ।

सारेगमपमा उनले यस साताको अन्तिममा गाएको गीत कर्णदासको फर्कि आऊ शान्ति तिमीले दर्शकको मन छोएको छ । कृपाले आफ्नो गीतलाई न्याय गरेको भन्दै कार्यक्रममा गायक दासले उनको प्रशंसा गरे ।

सानैदेखि  गरिब दिनदुखी र असहायका पीडामा मल्हम लगाउनुपर्छ भन्ने भावना बोकेकी कृपाले फर्कि आऊ शान्ति तिमी गाइरहँदा दर्शकको आँखामा आँशु छचल्किएको देख्न सकिन्थ्यो ।

कार्यक्रमका प्रशंसक एवं देश विदेशमा रहेका स्रोता र दर्शकको पनि कृपाको स्वरको तारिफ गरिररहेका हुन्छन् । सामाजिक सञ्जालमा उनको स्वरको तारीफमा मिठासपूर्ण शब्दहरु खर्चिरहेका हजारौं मानिसहरु हामी देख्न सक्छौं ।

संगीतका क्षेत्रमा सफल हुन कृपाले लामो   मेहनत र परिश्रम गरिन् । जसले आज प्रतिक्षाको फल मीठो हुन्छ भन्ने नतिजा दिन लागेको कल्पितले बताए । कल्पितले कृपाको प्रशंसा गर्दै भने, ‘ स्वर  नै कृपाको गहना हो ।’

बिर्तामोडमा रहेको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा संगीतको आधिकारिक शिक्ष‍ा लिएकी कृपा घरमा पनि सानैदेखि गुन्गुनाइरहन्थिन् । उनको गुनगुनाहटको मधुर स्वरमा मुग्ध भएका उनका माता पिता (अनिता र कुमार) पौडेलले पनि उनको संगीत यत्रालाई सहयोग पुर्याएका थिए ।

नेपालकै ठूलो  अन्तराष्ट्रिय स्तरको गायन रियालिटी – सो मा सहभागीता जनाउँदै लाखौं दर्शकको मन जित्न सफल भएकी कृपा एक होनहार र मेहनती गायिकाको रुपमा स्थापित भइरहेकी छन् ।  हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको उक्त रियालीटी सोमा कृपाले गाएका उत्कृष्ट गीतका कारण देश विदेशका दर्शककको मन जितेको छ ।

सारेगमपमा विभिन्न अडिसनमा  देश तथा विदेशबाट ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगी सहभागीबाट अन्तिमसातासम्म आइपुग्दा कृपा  टप १० मा परिसकेकी छन् ।  उनलाई अगाडिको बाटो तय गर्न र उपाधि जित्न थप भोटको आवश्यकता रहेको  उनकी आमा अनिता बताउँछिन् ।

विभिन्न कार्यक्रममा भाग लिने कृपाले देशभित्रका विभिन्न प्रतियोगितामा पुरस्कारहरु पाएकी छन् । प्रदेश स्तरीय गायन प्रतियोगितामा कृपाले द्वतीय स्थान हासिल गरेकी थिइन् भने प्याब्सनका धेरै प्रतियोगितामा पनि उनले थुप्रै मेडल र पुरस्कारहरु जितेकी छन् ।

गायनका अतिरिक्त साहित्यमा पनि रुचि राख्ने कृपा नेपालको एक होनहार छोरी हुन् । उनी साहित्य चौतारी बिर्तामोडकी सदस्य पनि हुन् । त्यसैगरी विभिन्न संस्थाहरुमा पनि कृपाको सक्रियताले उनलाई हुने विरुवाको चिल्लो पातका रुपमा वर्णन गर्न सकिन्छ । यसैगरी क्षितिज नाट्य समूह बिर्तामोडमा पनि यिनको गायनतर्फ सक्रियता रहेको छ भने सहारा नेपाल नामक सहकारीकी यिनी बाल सदस्य हुन् जसमा यिनले बालकबालिकाको हक र हितका क्षेत्रमा योगदान दिँदै आएकी छिन् ।

झापा बिर्तामोड – २ रामचोक निवासी १४ वर्षीया कृपाले सारेगमपमा सहभागी हुनुअघि नै  शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो समेत निकालेर चर्चा बटुलेकी थिइन् । जसले धेरै दर्शकको मन जितेको थियो ।

स्वर सम्राट नारायण गोपालको ‘छोरीको जन्म हारेको कर्म ’ बोलको गीत गाएपछि त कृपाको चर्चा आकाशमै चुलिएको थियो । उसो त कृपाले क्लासिकका अतिरिक्त अन्य विधाका गीतहरु पनि उत्तिकै राम्रो गाउन सक्छिन् ।

उनी सहभागीहरु माझमा पनि एकदमै मिलनसार व्यक्तित्का रुपमा स्थापित भएकी छन् ।  ‍देश तथा विदेश रहेका नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल कृपालाई भविष्यको एक उज्वल ताराका रुपमा हेर्न थालिएको छ  । निर्णायक र ग्राण्ड जुरी मेम्बरको वाहवाही र  देश तथा विदेशमा रहेका नेपालीहरुबाटसमेत राम्रो समर्थन पाएकी कृपाको गायनलाई दर्शक र स्रोताको न्यानो माया प्राप्त भएको छ ।

उनको प्रस्तुतिमा निर्णायकहरु न्हु बज्राचार्य, इन्दिरा जोशी , कालीप्रसाद बाँस्कोटा र १५ जना ग्राण्ड जुरी मेम्बरहरु धर्मेद्र शेवान, विक्रम बराल, निशान भट्टराई, रवि ओड, सिडी विजय अधिकारी, प्राश्ना शाक्य, टीका प्रसाई, निशा देशार, किश्वर थापा, उदेश श्रेष्ठ, विषण योञ्जन, सरिता मिश्रा, मेनुका पौडेल, विश्व नेपाली र हर्क साउदले  मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

कृपा हाल स्थानीय मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । पढाइका क्षेत्रमा पनि कृपा मेधावी विद्यार्थीका रुपमा समेत चिनिने उनको आमा अनिता बताउँछिन् । कृपाले सँधै ए ग्रेडमा कक्षाका परीक्षाहरु उत्तीर्ण गरेकी छन् । उनको औपचारिक शिक्षाको सुरुवात मिडल पोइन्ट सेकेन्डरी स्कुल बिर्तामोडबाट भएको हो भने चिल्ड्रेन इन्भार्मेन्ट सेकेन्डरी स्कुलबिर्तामोडमा पनि केही वर्ष अध्ययन गरेको उनकी आमा अनिताले हिमालयपोष्टलाई बताइन् ।