काठमाडौँ – नेकपा(माओवादी केन्द्र)ले सोमबार मात्रै पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको आजसम्म जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए ।


ADVERTISEMENT


उहाँको प्रस्तावलाई बन्दसत्रमा ध्वनीमतले पारित गरेको हो । त्यसमा खुल्लातर्फ १३२ जना र सामानुपातिकतर्फ १२५ जनाको नाम प्रस्तुत गरिएको थियो । सबै नामलाई बन्दसत्रले अनुमोदन गरेको हो । महाविधेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार बस्ने नवनिर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने जानकारी दिए । महाधिवेशनले समसामयिक प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT

# # #


माओवादीले केही समयदेखि सम्बन्धित समिति चयन गर्ने र सोही समितिमार्फत पदाधिकारी चयन गर्ने प्रणाली अवलम्बन गर्दै आएको छ । सोही प्रणालीअनुसार सोमबार बस्ने २३६ सदस्यीय केन्द्रीय समितिको बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने भएको छ । केन्द्रीय समितिको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने भएको छ । सहमतिका आधारमा पदाधिकारी चयन हुन नसके मात्रै केन्द्रीय समितिमा मतदान गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ ।

माओवादीको महाधिवेशन अघिल्लो आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन भएको थियो । महाधिवेशन आठ दिनसम्म जारी रह्यो । आठौँ महाविधेशन आठ दिनमै सम्पन्न भएको माओवादीले जनाएको छ ।

आइतबार उद्घाटन, सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव र नेता देवप्रसाद गुरुङले विधान पेश गरेका थिए । मङ्गलबार र बुधबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह निर्धारण गरिएको थियो । बुधबार अपरान्ह्देखि बिहीबारसम्म समूहगत छलफलका क्रममा उठेका विषय वस्तुमाथि समूहका नेताले आफ्नो धारणा प्रस्तुत गरेका थिए । शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए । शनिबार नेतृत्व चयनलगायत विषयमा छलफल भएको थियो ।

आज अपराह्न ४ बजेदेखि सुरु भएको बन्दसत्रमा सुरुमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखापरीक्षण आयोगको प्रमुख तथा सदस्य चयन गरिएको थियो । त्यसपछि बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए । अध्यक्षको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको नेता महराले जानकारी दिए ।