काठमाण्डौं-रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित राधाकृष्ण मन्दिरअगाडि शनिबार बम विस्फोटमा ९ जना घाइते भएका छन् । उनीहरूमध्ये चारको अवस्था गम्भीर छ ।


ADVERTISEMENT


विस्फोटमा परी चन्द्रपुर ५ चिडिया दहकी ३१ वर्षीया सरिता राई, उनका ७ वर्षीय छोरा जैविक, सोही ठाउँ बस्ने ४५ वर्षीया लक्ष्मी राई, ४८ वर्षीया कुन्ता खत्री, चन्द्रपुर ४ प्रगति टोलकी ४८ वर्षीया यमुना काफ्ले, चन्द्रपुर ५ का ५५ वर्षीय रामबहादुर विक, ४९ वर्षीय गोपाल विक, ४५ वर्षीया दिलमाया राई र रनमाया भनिने कलकी राई घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी शान्तिराज कोइरालाका अनुसार घाइतेमध्ये सरिता, उनका छोरा जैविक, लक्ष्मी र कुन्ताको अवस्था गम्भीर छ । चन्द्रपुर अस्पतालमा उपचार हुन नसकेपछि उनीहरूलाई चितवन मेडिकल कलेज रिफर गरिएको छ । रामबहादुर र दिलमायालाई पनि उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको छ । चन्द्रपुर अस्पतालमै उपचाररत यमुना र कलकीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । एक जना भने उपचारपछि फर्केका छन् ।

वाम गठबन्धनको चन्द्रपुर ५ को वडास्तरीय भेला सकिएपछि खाजा खाने क्रममा कार्यक्रम स्थलकै आँगनमा विस्फोट भएको थियो । प्रत्यक्षदर्शीका अनुसार बिहान साढे ११ बजे सुरु कार्यक्रम साढे २ बजेतिर सकिएको थियो । कार्यक्रमपछि सहभागीहरू खाजा लिएर पायक पर्ने ठाउँतिर जाँदै थिए । डिब्बामा प्याक भएको खाजा लिने स्थानमा सहभागीको भीड थियो ।

कार्यक्रममा सहभागी सरिताले आँगनमै छोरासँग बसेर खाजा खाएकी थिइन् । अखिल नेपाल महिला संघ चन्द्रपुरकी नगर अध्यक्ष यमुना विस्फोट स्थलनजिकैबाट बाहिरिँदै थिइन् । ‘खाजा हातमा लिएर बाहिरिँदै थिएँ,’ उनले भनिन्, ‘एक्कासि ठूलो विस्फोटको आवाज आयो । धूलो र धूवाँले चारैतिर अँध्यारो भयो ।’  उनका अनुसार नजिकै खुट्टा क्षतविक्षत भएकी सरिता र हातलगायत शरीरका अन्य भाग क्षतविक्षत भएका बालक जैविक चिच्याउन थाले । उनीहरू रक्ताम्मे भइसकेका थिए । छर्रा लागेर यमुनाको पनि बायाँ हातका २ वटा औंला काटिएको छ । पेटमा पनि चोट छ ।

अर्की घाइते कलकीले विस्फोटसँगै भागदौड मच्चिएको बताइन् । गाला र बायाँ हातमा चोट लागेकी उनी पनि अझै अस्पतालमै छिन् । ‘सबै जना खाजा खाने धुनमा थियौं । एक्कासि भएको विस्फोटसँगै चारैतिर अँध्यारो भयो । केहीबेर केही पनि देखिएन,’ उनले भनिन्, ‘भागदौड भयो, म पनि लड्दै भागें । हात दुख्ने, गाला दुख्ने र कान नसुन्ने भएपछि मात्रै आफू पनि घाइते भएको थाहा पाएँ ।’

कार्यक्रममा एमालेका नेता पूर्वसांसद रामकुमार भट्टराई, केन्द्रीय सदस्य कल्याणी खड्का, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एकराज थापा, माओवादीका जिल्ला संयोजक समीर भट्टराई लगायतका नेताले सम्बोधन गरेका थिए । पछि प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापासहितका सुरक्षा अधिकारी घटनास्थल पुगेका थिए ।
वाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

‘घटनाप्रति हामी अति संवेदनशील छौं,’ उनले भने, ‘थप सुरक्षा सतर्कता अपनाएका छौं ।’ उता लमजुङको बेंसीसहरमा चुनावी सभालाई सम्बोधन गर्न आइरहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी शनिबार बम प्रहार भएको छ ।
गोरखाको पालुङटारमा भएको सभालाई सम्बोधन गरी लमजुङको बेंसीसहरतर्फ आउँदै गर्दा पौडेल चढेको बा१३च ३७४६ नम्बरको गाडीमा दिउँसो ३ बजेतिर बम हानिएको हो ।

उनका सहयोगी पत्रकार सूर्यचन्द्र बस्नेतका अनुसार डुम्रे–बेंसीसहर सडकमा पर्ने तनहुँको भानु नगरपालिका १० स्थित नेपालडाँडा आइपुग्दा भएको घटनामा गाडीको सिसा फुट्नुका साथै एस्कर्टिङ गरिरहेको गाडीका एक प्रहरी घाइते भएका छन् । प्रहरीको एस्कर्टिङ गाडीमा पनि सामान्य क्षति भएको छ । ‘उहाँ (पौडेल) अगाडि सिटमा हुनुहुन्थ्यो, हामी पछाडि सिटमा थियौं,’ उनले भने, ‘बम प्रहारले दोस्रो सिटको सिसामा लाग्यो, सिसा फुटेको छ ।’ चालकसहित गाडीमा ८ जना थिए ।

उनका अनुसार माथिल्लो कान्लामा बम प्रहार भएपछि गाडीको सिसामा लागेको हो । तनहुँका एसपी उमेशराज जोशीले घटनास्थलमा स–साना आल्मुनियम तथा फलामका टुक्रा फेला परेको बताए । ‘बम शक्तिशाली होइन भन्ने देखिन्छ । आफैं पुगेर पनि हेरें, माइन पनि होइन,’ उनले भने, ‘लमजुङ र तनहुँबाट सेनाको टोली पनि पुगेको छ । सशस्त्र प्रहरी पनि छ । गस्ती बढाएका छौं ।’ बेंसीसहरस्थित ठाडोलाइनमा शनिबार बिहान कित्ली बम फेला परेको थियो ।

मस्र्याङदीपारि बाँझखेत जाने बाटो, लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउचाउको कार्टुनभित्र राखिएको कित्ली बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । सेनाका अनुसार कित्लीभित्र बालुवा र सुतली राखेर बनाइएको बमलाई २ पटकको प्रयासमा निष्क्रिय पारिएको सेनाको उदिपुरस्थित श्रीजंग गणका प्रमुख माधव थापाले बताए ।

स्थानीयका अनुसार चाउचाउको कार्टुनभित्र शंकास्पद वस्तु देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । उक्त बम राखिएको स्थान कांग्रेस पार्टी कार्यालयबाट करिब ५०-६० मिटर दूरीमा पर्छ । जिल्ला प्रशासन कार्यालयदेखि ६०-७० मिटर मात्रै टाढा छ । उक्त क्षेत्र वरपर सरकारी कार्यालय पनि छन् । शनिबारै बिहान साढे ६ बजेतिर बाँझखेतको आँपचौर जंगल क्षेत्रमा पनि बम पडकाएको आवाज सुनिएको डीएसपी पदमबहादुर विष्टले बताए । सुरक्षा निकायले भने नेत्रविक्रम चन्द समूहको नेकपाले बम पड्काएको हुन सक्ने आशंका गरेका छन् । ‘चुनावका बेला छिटफुट घटना भइरहन्छन्,
हामीले सुरक्षा सतर्कता बढाएका छौं,’ लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले भने ।

यस्तै भोजपुरमा बम विस्फोटमा शनिबार २ प्रहरी र एक एमाले कार्यकर्ता घाइते भएका छन् । दिङ्लाबाट चुनावी सभा सकेर मोटरसाइकलबाट फर्कंदै गर्दा षडानन्द ८ भिरथाप्लामा राखिएको बम पड्किएर युवा संघ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केकैयुङ ७ कोट गाउँ पार्टी सचिव ३३ वर्षीय विक्रम राई घाइते भएका हुन् । बमको छर्राले उनको टाउकोमा चोट लागेको छ । बमको छर्रा लागेर असई उमेश मेहता र इन्स्पेक्टर देवनारायण यादव पनि घाइते भएका छन् ।

यसैबीच, उत्तरी साल्पासिलिछो २ कुलुङमा वाम गठबन्धनको चुनावी सभामा पनि विस्फोट गराइएको  छ । सभालाई उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दैगर्दा कार्यक्रम स्थलको सय मिटर नजिकै विस्फोट भएको हो । विस्फोटपछि भागाभाग भएको थियो ।