काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको थियो ।


ADVERTISEMENT


सो निर्देशिका अनुसार सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक भार ल्याएको खण्डमा ट्रायल पास हुने व्यवस्था छ । तर, प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयले भने ७० अंक ल्याए पास हुने ट्रायल लागु गर्न आनाकानी गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


कार्यालयले भने निर्देशिका जारी भएको ८ महिना बितिसक्दासमेत नयाँ निर्देशिका लागु गर्ने छाँटकाँट देखाएका छैनन् । कार्यालयले विभिन्न बहानाबाजी गरेर नयाँ निर्देशिका कार्यान्वयन गर्न चाहेका छैनन् । नयाँ निर्देशिका कार्यान्वयन नहुँदा सवारीचालकको प्रयोगात्मक परीक्षा दिनेले अहिले पनि पुरानै ट्रायल पद्धतिबाट दिँदा मर्कामा परेका छन् । यातायात कार्यालयले नयाँ ट्रायल प्रणाली लागु नगर्नुको मुख्य कारण यो प्रणाली लागु भएसँगै अनियमितता र गलत फाइदा उठाउन नपाइने भन्दै कार्यान्वयन गर्न आलटाल गर्दै आइरहेका हुन् ।

पुरानो व्यवस्थाअनुसार परीक्षामा शतप्रतिशत उत्तीर्ण भएपछि मात्रै लाइसेन्स पाइन्छ । तर, नयाँ व्यवस्था अनुसार ७० अंक ल्याएको खण्डमा मात्रै पास हुने व्यवस्था छ । अहिले यातायात कार्यालयले नयाँ व्यवस्थाअनुसार ट्रायल गराउँदा धेरै पास हुने र आफूहरूले गलत ढंगबाट आर्थिक लाभ लिन नसक्ने भन्दै कार्यान्वयन गर्न आलटाल गरिरहेको बताइन्छ ।

यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार यातायात कार्यालय र बिचौलियाको दबाबकै कारण नयाँ प्रणाली लागु हुन नसकेको बताए। ‘यातायात कार्यालयका कर्मचारीमा नयाँ ढंगले काम गर्ने कुनै चाहना नै छैन,’ उनले भने, ‘बिचौलिया र कार्यालयको अमर्कण्यताका कारण नयाँ ट्रायल निर्देशिका अलपत्र पर्दै आइरहेको छ ।’ मन्त्रालयले २०७७ चैत १९ गते निर्देशिका जारी गरेको थियो । तर, प्रदेश सरकारमातहतका यातायात कार्यालयले संघीय सरकारले आफूखुसी निर्देशिका निर्माण गरेको भन्दै कार्यान्वयन गर्न आलटाल गर्दै आइरहेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे संघीय सरकारले गत जेठदेखि कार्यान्वयन गर्न निर्देशिका जारी गरे पनि यातायात कार्यालयले अहिलेसम्म कार्यान्वयन नगरेको बताए । ‘विभागले नयाँ निर्देशिका अनुसार ट्रायल गराउन यातायात व्यवस्था कार्यालयलाई दुईपटक पत्राचार गरिसक्यौं,’ उनले भने, ‘अहिलेसम्म पनि कार्यालयले कार्यान्वयन गरेका छैनन् ।’

वाग्मती प्रदेश यातायात, श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत प्रकाश अधिकारीले संघीय सरकारले आवश्यक पूर्वाधारबिनै निर्देशिका जारी गरेकाले पनि कार्यान्वयन गर्न नसकेको दाबी गरे । ‘संघीय सरकारले नयाँ निर्देशिका मात्रै जारी गर्‍यो । निर्देशिका बमोजिमका आवश्यक पर्ने कर्मचारी र उपकरणसमेत उपलब्ध गराएन,’ उनले भने, ‘संघीय सरकारले नयाँ निर्देशिका अनुसार साविकको भन्दा धेरे ट्रायल हुने देखाएको खण्डमा तुरुन्तै लागु गर्नेछौं ।’

नयाँ निर्देशिकाअनुसार ट्रायल भएको खण्डमा धेरै सेवाग्राहीले सहजै ढंगले लाइसेन्स लिन पाउँथे। तर, पुरानै व्यवस्था हुँदा लाइसेन्स लिनेको भीड कायमै छ।

मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । जसमा ७० अंक प्राप्त गरेपछि मात्रै सवारीचालक अनुमतिपत्र प्राप्त हुन प्रशिक्षार्थी योग्य मानिनेछन् । नयाँ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अंकभार २० तोकिएको छ। दुई पटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ । ट्रायल फेल भइँदैन।

तर, दुई पटकभन्दा बढी रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरैपटक खुट्टाले भुइँमा टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ। साँघुरो फलेकको अंकभार १० तोकिएको छ।

साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्केमा पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। यदि अंकित रेखा छोएको खण्डमा भने अनुत्तीर्ण हुनेछन्।

ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभर १५ तोकिएको छ । एक पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। तर, एक पटकभन्दा बढी स्टार्ट बन्द भएमा प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । त्यसैगरी उकालो (र्‍याप)को अंकभार २० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ।

कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार एक सय तोकिएको छ। जसमा ७० प्रतिशत अंकभार ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ। निर्देशिका अनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट) को अंकभार २० तोकिएको छ।

दुई पटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकका दरले १० अंकभार घट्नेछ। ट्रायल फेल भइँदैन।तर, दुई पटकभन्दा बढी रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ ।

निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ। पालना नगरेको खण्डमा १५ अंकभार घट्ने प्रावधान राखिएको छ । त्यसैगरी यु–टर्नको अंकभार १० तोकिएको छ। प्रशिक्षार्थीले टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ। तर, अंकित रेखा छोएको खण्डमा भने अनुत्तीर्ण गरिनेछ । चारपांग्रे सवारीचालकका प्रशिक्षार्थीका लागि र्‍याम (उकालो)मा अंकभार १५ तोकिएको छ ।

तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एक पटकभन्दा धेरै सवारीको स्टार्ट बन्द भएमा पनि अनुत्तीर्ण गरिनेछ।

ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ। काठमाडौं उपत्यकामा सवारीचालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा लिने चारवटा यातायात कार्यालय रहेका छन् ।  नागरिक दैनिकबाट ।