नवलपरासी – जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले पुस्तकालयको उद्घाटन गरे ।


ADVERTISEMENT


विसं २०७७ माघ ५ गतेदेखि सुरु भएको ‘हिरासतमा किताब’ कार्यक्रम जिल्लाका पाँच प्रहरी कार्यालयमा सञ्चालन भइसकेपछि मङ्गलबार जिल्लाको कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयमा नागरिक प्रहरी पुस्तकालय सञ्चालनमा ल्याइएको प्रहरी उपरीक्षक मल्लले बताए । प्रहरी कार्यालयभित्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुदृढ गर्न र बाह्य ज्ञानको सीमालाई बढाउनका निमित्त पुस्तकालय शुभारम्भ गरिएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


प्रहरी कार्यालयमा सञ्चालित नागरिक प्रहरी पुस्तकालय निर्माणका लागि आवश्यक पर्ने पुस्तक, फर्निचर, र्‍याकसहितका सामग्री जुटाउन जिल्लाको कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको महत्वपूर्ण सहयोग रहेको प्रहरी उपरीक्षक मल्लले बताए ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्ला प्रहरी कार्यालयमा सञ्चालनमा आएको नागरिक प्रहरी पुस्तकालयमा प्रहरी कर्मचारी तथा आम नागरिकको समेत सहज रुपमा पहुँच हुने बताए ।

पुस्तकालयमा कानुन, उपन्यास, कविता, कथासहितका आख्यान र गैह्रआख्यान गरी करिब एक हजार थान पुस्तक रहेको गिरीले जानकारी दिए । पुस्तकालयमा आवश्यकताअनुसार नेपाली तथा अङ्ग्रेजी भाषाका किताब थप गर्दै लगिने उनले बताए ।