श्याम रिमाल, काठमाडौँ – बद्रीप्रसाद खतिवडा, विरोध खतिवडा र शृङ्खला खतिवडा–नेपाली बुद्धिजीवी र युवाहरूले राम्रैसँग सुनेका नाम हुन् । बद्री शिक्षक आन्दोलन, विरोध विद्यार्थी राजनीति र शृङ्खला सुन्दरी प्रतियोगिताबाट बढी परिचित छन् । हार्वार्ड विश्वविद्यालय अमेरिकामा वास्तुशास्त्रमा अध्ययनरत शृङ्खलाकी माता मुनु सिग्देल पनि वामपन्थी राजनीतिमा संलग्न भई हाल वाग्मती प्रदेशसभाका सदस्य भई राष्ट्रिय राजनीतिमा छाउँदै छिन् । परिवारका ज्येष्ठ सदस्य ‘भानु’ले मूलतः शिक्षक आन्दोलनबाटै नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुर्याएको विदितै छ ।


ADVERTISEMENT


तिनै बद्रीप्रसाद(विसं १९९१) अहिले ‘अभियन्ता’ पुस्तक लिएर पाठकमाझ आइपुगेका छन् । यही पुस ८ गते लेखकले कृति विमोचनसँगै आफ्नो ८८ औँ जन्मोत्सव मनाए । मकवानपुर गढीको सामान्य हुनेखाने परिवारबाट माथि उठेका एक मिथकीय व्यक्तित्वको कृति आत्मजीवनी मात्र नभएर नेपालका पुराना सेन र शाहकालीन तथा जनमतसङ्ग्रह, ४६ साल र ०६२ । ६३ को इतिहासका केही पक्ष पनि बताएकाले यसको आफ्नै महत्त्व छ ।


ADVERTISEMENT

# # #


शिक्षण, प्रजातन्त्र, मानवाधिकार, राजनीति, वातावरण र दलित छुवाछुत अन्त्य गर्ने अभियानमा संलग्न उनी अझै अर्को दल खोलेर मुलुकको रूपान्तरणमा योगदान दिने मनसुवा राख्नुख्छन् । राजा वीरेन्द्रलाई २०३६ साल जेठ १० गते जनमतसङ्ग्रह घोषणा गराउन बाध्य बनाउनेमा वैशाख १५ को हेटौँडाको ‘न भूतो न भविष्यति’ विद्यार्थी आन्दोलन र जेठ ४ को शिक्षक आन्दोनल नै भएको उनको ठोकुवा छ । सो विद्यार्थी आन्दोलनमा करिब ४० जना व्यक्तिको मृत्यु भएको र सयौँ घाइते भएको तथा आन्दोलनका घाइतेलाई अस्पतालबाट उठाएर लैजाने हर्कतसम्म भएको कृतिमा उल्लेख छ । विद्यार्थी र शिक्षक आन्दोलन, तिनले ल्याएको जनजागरण, शिक्षकहरूलाई निवृत्तिभरण, सञ्चय कोष र बढुवाको प्रावधान आफ्नै नेतृत्वको शिक्षक आन्दोलनको उपलब्धि भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (२०३६)का संस्थापक अध्यक्ष बद्रीप्रसादको जिकिर छ । छयालीस सालको आन्दोलन सफल हुनामा शिक्षक आन्दोलनकै ठूलो हात रहेको जनाउँदै लेखकले प्रजातन्त्र पुनःस्थापनापछि २०४८ को आमचुनावपछि विजयी नेकपा(एमाले)का सांसदमा ६२ प्रतिशत शिक्षक भएको जिकिर पनि गरेका छन् । उनी केही समय ‘वातावरण बचाऊ आन्दोलन नेपाल’, वीरगञ्ज–काठमाडौँ रेलवे सम्भाव्यता अध्ययनमा पनि सक्रिय रहे ।

मानवअधिकार संरक्षण मञ्च९२०४१०का संस्थापक अध्यक्ष बद्रीप्रसादका कालमा पञ्चायती व्यवस्थाको कुकर्मको भण्डाफोर, चेर्नोबिल विकिरणयुक्त दूध प्रकरणको विरोध, भुटानी शरणार्थीलाई सहयोग, मानवाधिकारका विषयको अन्तरराष्ट्रियकरणका साथै बन्दीलाई सहज जीवन, उपचार र अन्य कानूनी सहायता दिलाउने काम भयो भने उनकै नेतृत्वको प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चले शिक्षक र समाजसेवीहरूसँग मिली नेकपा(माले)को राजनीतिलाई बाहिर ल्याउने काम गर्यो ।

सानैमा भाषा स्कुलमा पढ्दै सानोतिनो कर्मकाण्ड गर्दै काठमाडौँ आएर एसएलसी, आइए, बीए पढेका ‘अव्यावहारिक श्रीमान्’ सानोतिनो जागिर गर्दै आफ्नै जिल्लाको विद्यालय भुटनदेव मावि (स्था२०१६) का प्रधानाध्यापक बनेपछि शिक्षण पेशामा निरन्तर रहे र गाउँमै किसानका पक्षमा आन्दोलन गर्ने, सामन्तीका बीउ नासिदिने काम गर्दै अघि बढे । एक रुपियाँ २५ पैसामा एक धार्नी मासु पाइने र राहदानी लिएर मात्र काठमाडौँ–हेटौँडा गर्ने जमानाका उनका सङ्गतका पहिलो बौद्धिक व्यक्तित्वमा गोविन्दप्रसाद लोहनी नै थिए जसको प्रेरणाले उनी साम्यवादी विचारमा लागेका थिए । पछि भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’, कल्याणविक्रम अधिकारी, डोरमणि पौडेल, कुबेर शर्मा, मनमोहन अधिकारी, मदन भण्डारी, माधवकुमार नेपाल, केपी शर्मा ओली, मोदनाथ प्रश्रित, राधाकृष्ण मैनाली, डिल्लीरमण रेग्मी, गणेशमान सिंह, देवेन्द्र नेपाली, डा केशवप्रसाद उपाध्याय आदिसँग पनि उनको सङ्गत भयो । “जीवन त आखिर आफ्ना मान्छेहरुको साथ पो रहेछ ।” उनी विसं २०१४ मा भद्रअवज्ञा आन्दोलनका बेला पहिलो पटक प्रहरीका गिरफ्तारी र पछि पटकपटक कारागार पर्नुभएका उहाँ ‘जेल एउटा विश्वविद्यालय जस्तै’ मान्छन्।

अल्बर्ट आइन्स्टाइनको “विद्यालयबाट ज्ञान प्राप्त हुने नभई त्यसलाई प्राप्त गर्न चाहिने जीवनभरको प्रयासबाट मात्र हुन्छ” भन्ने भनाइबाट प्रेरित भई त्रिविबाट प्रमाणपत्र पाउने प्रथम ब्याचका विद्यार्थी उनी स्नातकोत्तरतिर नलागी जागीर र राजनीतितिर लागे । आरटिओ र मलेरिया इराडिकेशन साउथ सेक्टरमा जागिर खाई छाडेपछि विसं २०१५ मा आमनिर्वाचनमा नेकपा उम्मेदवार र हेटौँडाको प्रधानपञ्चमा जनपक्षीय उम्मेदवारको प्रचारमा संलग्न भएका उनले २०१६ मा पुष्पलालबाट नेकपाको सदस्यता लिई राजनीतिमा संलग्न हुँदै गर्दा विसं २०१९ मा आफ्नै जिल्लाको भुटनदेवी माविको प्रधानाध्यापक बन्ने प्रस्ताव स्वीकारे । विसं २०४९ को नेकपा(एमाले) को पाँचौँ अधिवेशनबाट राष्ट्रिय परिषद्मा मात्र सदस्य बनाइएकामा असन्तुष्ट लेखकले २०५० मा मदन भण्डारीको निधनपछि पार्टीबाट राजीनामा नै दिए । वामपन्थी राजनीति छाडेका लेखक त्यसपछि प्राडो–पजेरो विरोधी ‘नेपाल हरियाली पार्टी’(२०५३)का संस्थापक बनी करीब सात वर्षपछि बाहिरिए । पार्टी छाडेपछि पनि विसं २०७० र ०७४को आमचुनावमा समानुपातिक सांसद बन्ने मन पलाए पनि व्यर्थ भयो ।

अहिले हब्बे न कब्बे भनिने नब्बेतिर हिँडिरहँदा पनि उनी अहिले खतिवडा सेवा सदन र मकवानपुर गढी पर्यटन विकास समितिमा सक्रिय छन् । अब भने युवा बाहुल्यको अर्को नयाँ राजनीतिक दल खोलेर १४ बुँदे प्रस्ताव सहित होची मिन्ह, नेल्सन मण्डेला, माओ, गाँधी जस्ता नेता जन्माई देशमा पुनः क्रान्ति गर्नु नपर्ने स्थिति जन्माउने ‘चाणक्य सपना’ उनले देख्न थालेका छन् । साठी वर्षमाथिकाले चुनाव लड्न नपाउने र समानुपातिक कोटा खारेजीको माग गर्दै उनले मदन भण्डारी र जीवराज आश्रित निधन र राजा वीरेन्द्रको हत्याकाण्ड घटनाको अनुसन्धान, गैरआवासीय नेपालीको सङ्घीय प्रतिनिधिसभामा प्रतिनिधित्व र विदेशबाट मतदान, दलित– मुक्तकमैया– हलिया – बादीका लागि विशेष व्यवस्था, सार्वजनिक लाभका पदमा बसेकाहरूको सम्पत्ति छानबिन, नेपालमै मल कारखाना सञ्चालन तथा बेचिएका र बन्द उद्योग–कारखानाको पुनः सञ्चालन जस्ता घोषणा पनि गरेका छन् । यस उमेरमा पनि अझै बेथितिविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने लेखकको आँटलाई भने मान्नैपर्छ ।

मकवानपुर–बङ्गाल युद्धमा प्राप्त थुप्र्रै बन्दुक, तोप, गोला र बारुदमध्ये ४५० टन ऐतिहासिक–पुरातात्त्विक महत्त्वका वस्तु विसं २०५० को दशकमा अमेरिकी एक कम्पनीलाई बेचिएको भनिएकाले छानबिन गरी कारवाही गर्न पनि उनले माग गरेका छन् । पहल गर्न सकेमा चोरिएका वा हराएका नेपाली मूर्तिहरू विदेशबाट धमाधम फिर्ता भइरहेकाले ती वस्तु पनि खोजी गर्नुपर्ने देखिन्छ । एउटा मिथकीय व्यक्तित्व, जसको सक्रियताले मुलुकले प्रजातन्त्र पाएको छ, ले कुनै राजनीतिक पद वा नियुक्ति नपाउँदा भने खिन्न लाग्छ । एमाले तत्कालीन अध्यक्ष मनमोहन अधिकारी सरकारकै पालामा उनलाई दिइएको पदक पनि गोरखा दक्षिणबाहु चतुर्थ मात्र थियो । “अक्सर दिल ती मानिसहरुले नै दुखाउँछन्, जो दिलको एकदमै नजीक हुन्छन्”, उनी त्यो मन पनि दुखाउँन्नन्।

लेखकसँग सम्बन्धित रङ्गीन तस्बिरले कृतिलाई शोभा दिएको छ । केही ऐतिहासिक तथ्यतथ्याङ्क र वर्णविन्यासमा गल्ती भने देखिन्छ । मुकुन्द सेनका कान्छा छोरा कतै ‘लुवाङ’ र कतै ‘ल्वाङ’, मकवानपुरे राजा हेमकर्णका छोरा ‘दिग्बन्धन’ हुनुपर्नेमा ‘दिग्वन्त’, पुष्पलालले आफ्ना थर नलेखे पनि ‘श्रेष्ठ’ र पत्रकार भैरव रिसालका नाममा ‘प्रसाद’ थप, तत्कालीन जिल्ला पञ्चायत सभापति ‘ओमुटेम्पा लामा’ हुनुपर्नेमा ओमी टेन्पा, सुखानी काण्ड २०२९ साल र पाँच सहिद हुनुपर्नेमा ०३० र चार, जनमतसङ्ग्रहको घोषणा कतै जेठ ९ र कतै जेठ १०, एमालेको पाँचौँ अधिवेशन विसं २०४९ हुनुपर्नेमा ०४८, ‘सैनिक’का ठाउँमा ‘सेना’ जस्ता तथ्यतथ्याङ्क र शब्द लेखिँदा इतिहास र भाषाप्रति अन्याय हुन्छ ।

जनमतसङ्ग्रह घोषणा गराउन बाध्य बनाएको कारणमा पहिले हेटौँडाका विद्यार्थी र शिक्षक आन्दोलन तथा तलतिर तत्कालीन पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अली भुट्टोको हत्यापछि उब्जिएको काठमाडौँका विद्यार्थीको आन्दोलनको उत्कर्ष रूप भनी उल्लेख गरिँदा विरोधाभास देखिन्छ । अचेल अधिकांश लेखकमा देखिने पुनरुक्तिको दोष प्रस्तुत कृतिमा पनि छ । वामपन्थी राजनीति गर्ने मान्छे खतिवडा वंश उत्थान र मन्दिर निर्माण जस्ता काममा लागेको पाउँदा सिद्धान्त र व्यवहारमा मेल खाएन कि भन्ने पनि लाग्छ । ‘अभियन्ता’को अर्थ इन्जिनियर भए पनि अचेल अभियान चलाउनेलाई ‘अभियन्ता’, ‘अभियान्ता’ भनी लेख्ने–भन्ने चलनको सिको गरेर घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको सो कृतिको नाम भाषागत हिसाबले अमिल्दो देखिन्छ जबकि कृतिकार स्वयंले आफ्नो भूमिकामा त्यसलाई ‘अभियान’ भनी लेखेकै छन् । अनि लेखकको आफ्नै मौलिक कृतिमा पुत्रपुत्री, बुहारी र नातिनातिनाका छुट्टै लेख पनि समावेश गराइनाले पुस्तकीय महत्व घट्ने देखिन्छ जसलाई छोटकरीमा पुस्तकको पछिल्लो आवरणपृष्ठमा ‘ब्लर्ब’का रूपमा राख्न सकिन्थ्यो ।


ADVERTISEMENT

#
#


सेन र पृथ्वीनारायण शाहकालीन घटना, झापा हत्याकाण्ड, शिक्षण, विद्यार्थी र शिक्षक आन्दोलन, छयालीस सालको जनान्दोलन, राजनीति र राजनीतिकर्मीका व्यवहार र चरित्र, कैलाश मानसरोवरको भूगोल आदिबारेको ज्ञान भने एक निःस्वार्थ देशभक्तको कृतिले पक्कै दिन्छ । घोष्ट राइटिङका अध्यक्ष कमल ढकालले भने झैँ ‘हरेक मान्छे नलेखिएको पुस्तक’ भएकाले प्रस्तुत कृतिले सामान्य मानिसलाई पनि आत्मजीवनी लेख्न प्रेरणा भने दिन्छ । रासस

प्रतिकृया

प्रतिकृया