भूकम्पको पुनर्निर्माण गर्दै ललितपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मेरो योजना छ  ।


ADVERTISEMENT


नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति तथा ललितपुर क्षेत्र नं -३ का उम्मेदवार मदन अमात्यसंग गरिएको कुराकानी :


ADVERTISEMENT

# # #


निवार्चनको तयारी कसरी गरिरहनु भएको छ ?

निर्वाचनको मिति नजिएिसंगै हामीले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छौँ । घरदैलो कार्यक्रम गरेर जनताका घर आँगनमा गएर नेपाली कांग्रेसको पक्षमा मत मागी रहेका छौँ । त्यसै अनुसारको निर्वाचनको तयारी भइरहेको छ ।

एकातिर वामगठबन्धनका तर्फबाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल उठेकी छन् एकातिर तपाई । अरु पार्टीका पनि उम्मेदवारहरु छन् । ललितपुर-३ मा त कडा प्रतिस्पर्धा हुने भयो होईन ? कसरी लिनु भएको छ यसलाई ?

हेर्नुस्, वाम गठबन्धन ललितपुरभन्दा बाहिर कस्तो हुन्छ ? त्यो त मलाई थाहा छैन । अनि त्यो विषयमा बोल्नु उचित हुँदैन । तर ललितपुरको हकमा बाम गठबन्धनले केही गर्न सक्दैन । म त यहाँका उम्मेदवार पनि वाम नै होइनन् भन्छु । कम्युनिस्ट नभएको ठाउँमा वाम गठबन्धन भन्दा त मलाई हाँसो लाग्छ । पहिले त उहाँहरु वास्तविक कम्युनिस्ट हुनु पर्यो । अनि पो वामगठबन्धन हुन्छ । यहाँका ती नेता कम्युनिस्ट चरित्रका छैनन् । त्यस कारण जनताले उनीहरुलाई भोट दिन्छन् भन्ने कुरामा मलाई विश्वास छैन ।

गएको स्थानीय तहको निर्वाचनमा वाम बुद्धिजीविहरुले पनि कांग्रेसलाई भोट दिए । फोन गरीगरी भोट दिए । अब भन्नुस् वाम गठबन्धनले के प्रभाव पार्न सक्छ ?

ललितपुरका जनता विकास चाहान्छन् । ललितपुरका जनता शहरको व्यवस्थापन चाहन्छन् । पानी, फोहोरमैलाको व्यवस्थापन चाहान्छन् । यो कुनै नारा या पार्टीले गर्न सक्दैन । यो एउटा कर्म ठ, इमान्दार व्यक्तिले गर्न सक्छ । जुन नेपाली कांग्रेस बाहेक अरुसंग छैन ।

कांग्रेस बाहेक अन्य पार्टीमा योग्य उम्मेदवार छैनन् भन्दै हुनुहुन्छ । तपाईहरुले जितिसकेपछि ललितपुरको लागि के गर्नुहुन्छ ? तपाईका विकासका एजेण्डाहरु के के हुन् ?

ललितपुर सम्पदा नै सम्पदा भएको एक ऐतिहासिक शहर हो । पर्यटकीय क्षेत्रको रुपमा रहेको यो जिल्लाको समृद्धिका लागि पर्यटनको विकास गर्न जरुरी छ । ती सम्पदालाई संरक्षण गर्ने हाम्रो ठूलो दायित्व हो । सम्पदाको आधारमा ललितपुरलाई हामी अगाडी बढाउन सक्छौँ । ललितपुरलाई कसरी अगाडी लैजाने भन्ने बारेमा हामीसंग भिजन छ । निकट भविष्यमा नै हामी मंगलबजारलाई १९९० सालभन्दा अघिको मंगलबजार जस्तो बनाउँछौँ । भूकम्पका बेला भत्केका मन्दिरहरुको पुन निर्माण गरेर त्यसलाई पुरातात्विक मंगल बजार बनाउँछौँ । त्यहाँ राती झाँकी गछौँ, विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु गछौँ । मंगलबजार अब देशभरिका मात्रै होइन विदेशीलाई समेत जाउँजाउँ लाग्ने बनाउँदै छौँ । त्यसका लागि हामीसंग भिजन र जनशक्ति छ ।

त्यसका लागि नगरपालिकाको पैसा खर्च हुँदैन, सरकारको पैसा खर्च हुँदैन । हामीलाई सहयोग गर्ने मानिसहरु छन् । सबैको सहयोग लिएर हामी त्यो बनाउन सक्छौँ । त्यस्तै झम्सिखेलको लागि कामीसंग त्यस्तै योजना छ । रिङ्ग रोडभन्दा बाहिरको ठाउँलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा हामीसंग थुप्रै योजना हरु छन् । हामीले ललितपुरको विकासका लागि राजनीतिक होइन ठूलाठूला विज्ञलाई ललितपुर महानगरको मेयरको सल्लाहकारमा राखेका छौँ । उनीहरुले काम गर्न थालिसकेका छन् ।

त्यस्तै शिक्षा क्षेत्रमा पब्लिक र प्राइभेट स्कुलबीचको ग्यापलाई समान स्थानमा पुर्याउनका लागि पब्लिक स्कुलको सेवा सुविधालाई बढाउँदै प्राइभेटको स्तरमा पुयाउँछौँ । हरेक विषयमा हामी विज्ञ सल्लाहकारलाई राखेर ती कामहरुको थालनी गरिरहेका छौँ ।

सबैभन्दा ठूलो कुरा के हो भने हामी हाम्रो जिल्लाप्रति, हाम्रो नगरप्रति इमान्दार छौँ । राजनीतिक रुपमा पनि हामी इमन्दार छौँ । यही नै हाम्रो शक्ति हो । त्यस कारण हामी जित्छौँ ।

भनेको तपाईको प्रमुख एजेण्डा ललितपुरलाई पयटकीय क्षेत्रको रुपमा विकास गर्नु र अन्य विकासका पूवार्धार निमार्ण गर्नु हो ?

त्यो भन्दा पनि ललितपुरलाई पर्यटकीय क्षेत्रसंगै यसका अन्य विकास पनि गर्ने हो । अन्य केही क्षेत्रमा व्यवस्थापनका सामस्या छन् । तिनको पनि समाधान गर्नुछ । खानेपानी, ढल, सडक लगायतका समस्याहरु छन् । तिनको व्यवस्थापनका लागि हामी काम गरिरहेका छौँ । ललितपुरमा खानेपानीका लागि हामीले डीपीआरको काम अडि बढाएका छौँ । हाम्रा मेयर भर्खरै जापान गएर आउनु भएको छ । हामीले कुरा राखेपनि विश्व बैँकले आगो निभाउने बेभी इक्यूभमेन्टसहरु दिने भइसकेको छ । थाइल्यान्ड गएपछि एआइटीको एउटा टोलिले के सहयोग गर्ने भनेर हिजो अस्ति यहाँ आएर मयेरसंग छलफल गरेर फर्किएको छ ।

हामीले हाम्रो कुराहरु अन्तराष्ट्रिय ठाउँमा राखेर सहयोग लिनसक्छौँ । हामूी अझैँ भूकम्प पीडित भइरहेका छौँ । चर्किएका संरचना भत्काउनका लागि अलि समस्या भएपनि काम अगाडी बढाएका छौँ । सरकारले दिएको एक दुई लाखले केही हुनेवाला छैन । अन्तराष्ट्रिय क्षेत्रले यसमा सहयोग गर्न तयार छन् । तीनको पुन:निर्माणका लागि पनि हामी प्रक्रियामा छौँ । हामीले राजनीतिलाई व्यवसाय कहिल्यै बनाएनौँ । वीपीले भनेजस्तै हामी राजनीतिलाई समाज सेवाका रुपमा अगाडी बढाइरहेका छौँ । निस्वार्थभावले हामीले काम गरिरहेका छौँ । यो क्षेत्र प्रतिको लगनशीलता, इमान्दारिता नै हाम्रो शक्ति हो ।

नेपाली कांग्रेसलाई भोट दिनु पर्ने आधार के छन् ?

कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । वामपन्थी भन्दा पनि धेरै क्रान्तिकारी पार्टी नेपाली कांग्रेस हो । अरुले जतिठूलो नारा लगाएपनि हुनेवाला केही छैन । किनभने ००७ सालको क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा भयो । ३६ साल,  ४६ सालको आन्दोलन पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको हो । ६२/६३ सालको आन्दोलन पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको हो । संविधान पनि नेपाली कांग्रेसकै नेतृत्वमा आयो ।

त्यतीमात्रै होइन, यसको कार्यान्वयन अन्तर्गतका निर्वाचन पनि नेपाली कांग्रेसकै नेतृत्वमा हुँदैछन् । त्यस कारण नेपाली कांग्रेस बाहेक नेपालमा अन्य विकल्प नै छैन । निर्वाचनबाट भाग्ने वामपन्थी जस्तो होइन नेपाली कांग्रेस । जनताले यो कुरा बझेको छ । नपाली कांग्रेसलाई दोष दिएर हुनेवाला केही छैन । प्रजातन्त्रप्रति जो इमान्दार छ उसले गर्छ विकास । गरिबी र अस्थिरतामाथि खेल्ने वामपन्थीलाई नेपाली कांग्रेससंग दाँज्न मिल्दैन । त्यस कारण पनि नेपाली कांग्रेसलाई भोट दिनु पर्छ ।

जनताको अहिलेको आवश्यकता के हो ?

वास्तवमा जनतालाई अहिले शान्ति र समृद्धि चाहिएको छ । जसको परिपूर्ति कांग्रेस बाहेक अन्य दलले गर्न सक्दैनन् । माओवादीले हिजो देशमा अशान्ति फैलाउने काम गर्यो । जनता अहिले पनि आक्रोशित छन् । मेरी प्रतिद्वन्द्वी पनि माओवादी कै हुनुहुन्छ । तर त्यहाँ जनताको असन्तुष्टि छ । चापागाउँ जाने बाटोको हालत अहिले तपाईँ देख्नुहुन्छ । त्यतीबेला उहाँले सरकारको नीति नियमभन्दा बाहिर गएर निर्णय गर्नुभयो । त्यो बाटो अहिलेसम्म पिच हुन सकेको छैन । जनताले धुलो खाइरहेका छन् । यस्ता अपरिपक्क काम गर्नु हुँदैन । सरकारको नीति नियमभन्दा कोही पनि बाहिर जान पाउँदैन ।

अन्त्यमा, आफ्ना मतदातालाई के छ सन्देश ?

मलाई भन्नु केही छैन । किनभने उहाँहरु चेतनशील हुनुहुन्छ । हिजो गरेका कामहरुको मुल्याङ्कन पनि गर्नु भएको छ । हिजो पनि मलाई नै जिताउनु भएको हो । गलत मानिसको हातमा परेर ललितपुर बिग्रेला भनेर उहाँहरु चिन्तित हुनुहुन्छ । त्यस कारण भन्नु केही छैन ।