काठमाडौं – हिमवत् आर्ष प्रज्ञाले शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाको नेपालका चौँसट्ठी ज्योतिर्लिङ्ग (लोकलयमा) पुस्तकको प्रकाशन गरी लोकार्पण गरेको छ । माघ ८ गते स्व पं चित्रप्रसाद सुवेदीको स्मृतिदिवसका उपलक्ष्यमा सो पुस्तक लोकार्पित भएको हो ।


ADVERTISEMENT


प्रविधिका माध्यमले जुमसञ्जालबाट संस्थाका अध्यक्षा कल्पना सेवानी घिमिरेको सभापतित्वमा सञ्चालन गरिएको उक्त कार्यक्रम संस्थाका पण्डितहरूको वैदिक मङ्गलाचरण र संस्थाका सदस्यसचिव श्यामकृष्ण सुवेदीको स्वागत मन्तव्यबाट आरम्भ भएको थियो ।


ADVERTISEMENT

# # #


सह प्रा डा मुकुन्दप्रसाद लामिछानेद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि महेश संस्कृत गुरुकुलका पीठाधीश  स्वामी रमणानन्दबाट सो पुस्तकको लोकार्पण भएको हो ।

हिमवत् आर्ष प्रज्ञाले आफ्नो तृतीय वाक्पुष्पका रूपमा प्रकाशित उक्त पुस्तकको समीक्षण गर्दै विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा जगमान गुरुङले लोकलयमा नेपालका ज्योतिर्लिङ्गहरूको महिमा वर्णन गर्नुलाई सह्राहनीय कार्यका रूपमा चित्रण गरे ।

उनले ज्योतिर्लिङ्गहरू राष्ट्रका किल्ला, सर्वधर्मसमन्वयका कडी र जातीय संस्कृतिका एकतासूत्र भएका कारण यिनको संरक्षणमा तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिए । शिवलिङ्गहरू शिवलिङ्ग मात्र नभई नेपालको अस्मिता र सांस्कृतिक पहिचानका आधार पनि हुन् भन्दै उनले श्रद्धा र विश्वासका साथ ज्योतिर्लिङ्गको उपासना गर्नाले धन, ज्ञान, विद्या र आयु थपिने र जस्तासुकै समस्याले पनि समाधानको बाटो पाउने कुरा प्रत्यक्ष अनुभव सुनाउँदै स्पष्ट पारे ।

विशिष्ट अतिथि जरोकिलो अभियानका सङ्कल्पकर्ता सह प्रा डा निर्मलमणि अधिकारीले हाल नेपालमा रहेका गुरुकुलहरूको सङ्ख्या र धर्मसंस्कृतिप्रति हाल देखिने गरेको जनचासोलाई आधार मानेर नेपाल अहिले धार्मिक र सांस्कृतिक हिसाबले पुनर्जागरणको युगमा रहेको कुरा उल्लेख गर्दै हिमवत् आर्ष प्रज्ञाको कार्यलाई त्यही पुनर्जागरणमा टेवा दिने कार्य भनी सह्राहना गरे ।

पुस्तकका सर्जक प्रा डा विद्यानाथ कोइरालाले आफ्नो सानो कामको ठूलो प्रशंसा भएको भन्दै सम्बन्धित क्षेत्रका विद्वान् विदुषीलाई झक्झक्याउनमात्र खोजेको कुरा स्पष्ट पारे । स्व पं चित्रप्रसाद सुवेदीका पुत्र भारद्वाज मित्रले आफ्ना पिताले धर्मसंस्कृति संरक्षणमा गरेको योगदानको स्मरण गर्दै यो पुस्तकलाई नौमती बाजाका साथ सङ्गीतबद्ध गर्ने प्रतिज्ञासमेत गरे ।

प्रमुख अतिथि  स्वामी रमणानन्द गिरिले नेपालका तीर्थस्थलहरूको वैज्ञानिक अनुसन्धान हुनुपर्नेमा जोड दिँदै ज्योतिर्लिङ्गहरू सबैका आस्थाका प्रतीक हुन् भन्ने कुरा सबैले बुझ्नुपर्ने विचार प्रकट गरे । नेपाल देवताहरूको देश भएको तथ्यलाई इङ्गित गर्दै उनले सबै सिद्धस्थलहरूको विधिवत् आराधना हुनुपर्नेमा जोड दिए ।

सभापति कल्पना सेवानी घिमिरेले संस्थाका उद्देश्यहरूको जानकारी दिँदै आफ्नो उद्देश्यअनुरूपको पुस्तक प्रकाशन गर्न पाउँदा लेखकप्रति आभार व्यक्त गर्दै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरी सभाविसर्जन गरिन् ।