काठमाण्डौं-प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले उम्मेदवार र दलका कार्यक्रमलाई लक्ष्य गरी भइरहेका आक्रमण नरोकिए निर्वाचन कठिन हुने बताएका छन् ।


ADVERTISEMENT


आसन्न निर्वाचन र शृंखलाबद्ध हिंसात्मक घटनाका विषयमा निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच सोमबार भएको परामर्शक्रममा यादवले सुरक्षा दृष्टिले निर्वाचन कठिन बन्दै गएको बताएका हुन् । ‘हिजोसम्म सरकारले निर्वाचनमा सुरक्षा दिन्छ भन्नेमा म विश्वस्त थिएँ तर आज कठिन देखेको छु’, उनले भने ।
प्रधानमन्त्री देउवा स्वयंले गृह मन्त्रालयको समेत कार्यभार लिँदा सुरक्षामा ‘ध्यान नपुगेको’ विषयमा दुवै आयोगका पदाधिकारीले गम्भीर विमर्श गरेका थिए ।


ADVERTISEMENT

# # #


गृहमन्त्रीजस्तो महत्वपूर्ण पदको जिम्मेवारी प्रधानमन्त्रीले अरू कसैलाई सुम्पिनु राम्रो हुने उनीहरूको सुझाव छ । ‘प्रधानमन्त्री निर्वाचनका लागि देश-दौडाहामा जाने, मुलुकमा बढ्दो हिंसात्मक घटनाको समीक्षा र त्यसको उपयुक्त निकास खोज्न नसक्ने परिस्थितिबाट शान्ति-सुरक्षा हुन नसकेको’ उनीहरूले औंल्याएका छन् ।

मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गृहमन्त्री नहुँदा सुरक्षामा प्रश्न उठेको बताए । ‘प्रधानमन्त्री चुनावमा खटिनुभएको छ, गृहमन्त्री खोइ ? ’ उनले भने, ‘गृहमन्त्री नियुक्ति नभएको विषयमा निर्वाचन आयोगसमेत गम्भीर हुनुपर्छ ।’
मानवअधिकार आयोग सदस्य गोविन्द पौडेलले १५ दिनयता मुलुकका तनहुँ, रोल्पा, रुकुम, नुवाकोट, रौतहट, बारालगायत दर्जनौं जिल्लामा गम्भीर र करिब तीन दर्जन जिल्लामा सामान्य घटना घटेको तथ्यांक प्रस्तुत गरेका थिए । पौडेलले बम र एम्बुस विस्फोटका घटनाले राजनीतिक दलका उम्मेदवार, कार्यकर्ता र सवारीसाधन तोडफोड हुन पुगेको जानकारी गराएका थिए ।

पौडेलले भने, ‘राष्ट्रिय मानवअधिकार आयोगको काम घटना भएको क्षेत्रमा स्थलगत भ्रमण गरी रिपोर्ट तयार गर्ने र प्रधानमन्त्री कार्यालयमा बुझाउने हो । प्रधानमन्त्री कार्यालयका सचिवले आयोगको रिपोर्ट गृहमा पठाउने हो र गृहले त्यसअनुसार काम गर्ने हो तर सरकारको काम-कारबाही नै चित्तबुझ्दो छैन ।’

निर्वाचन आयुक्त इला शर्मा र नरेन्द्र दाहालले निर्वाचन तयारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, आचारसंहितालगायत विषयमा धारणा व्यक्त गरेका थिए । अध्यक्ष शर्माले निर्वाचनमा सुरक्षा व्यवस्थाको उचित प्रबन्ध गर्नुपर्ने र मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको जानकारी आयोग प्रवक्ता नवराज ढकालले दिए ।