काठमाण्डौं-भक्तपुर र काठमाडौं जिल्लाको सीमाना भएर बग्ने मनहरा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन् तीव्र बनेको छ । प्रहरी प्रशासनको संरक्षणमा मनहरा खोलाबाट अवैध रूपमा बालुवा निकालिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । खोलाबाट बालुवा चोरी भएको जानकारी गराउँदा पनि त्यसको नियन्त्रणमा ध्यान नदिएपछि प्रहरी प्रशासनको संरक्षण एवं सेटिङ रहेको पुष्टि भएको स्थानीयको दाबी छ ।


ADVERTISEMENT


उनीहरूका अनुसार प्रहरीको जिम्मा लगाएको चोरीको बालुवासमेत जिल्ला समन्वय समिति भक्तपुरसम्म नपुगेबाट पनि मनहरा खोलाबाट बालुवा चोरीमा प्रहरीको सेटिङ रहेको प्रष्ट भएको चाँगुनारायण नपा १ का वडाका सदस्य माधव न्यौपाने बताउँछन् ।


ADVERTISEMENT

# # #


राति ओसार्न मनहरा खोला दायाँबायाँ दर्जनौं ठाउँमा बालुवा जम्मा गरिएको छ । यस्तै बालुवा ओसार्न प्रयोग गरिएका गाडी गुडेका छाप जताततै पाइन्छ । केही ठाउँमा मजदुर दिउँसै खोलामा बालुवा जम्मा गर्दै गरेको भेटिएका छन् । चाँगुनारायण नपा १ र ४ तथा काठमाडौंको मूलपानी सीमामा पर्ने मनहरा खोलाका दर्जनौं ठाउँबाट अवैध रूपमा बालुवा निकाल्ने काम भइरहेको स्थानीय बताउँछन् ।

‘रातभर मनहरा खोलातर्फ बालुवा बोक्ने ट्रक गुड्छन्, चाँगुनारायण नपा १ वडाका अर्का सदस्य उद्धव खड्का भन्छन्, ‘बालुवा चोरी हुनेबारे प्रहरीलाई जानकारी दिँदादिँदा हामी नै थाकिसकेका छौं । प्रहरीलाई फोन गर्‍यो, प्रहरी आउँदैन, उल्टै बालुवा तस्कर घरमा धम्की दिन आइपुग्छन् ।

बालुवा तस्करले ज्यान मार्नेसम्मको धम्की दिन थालेपछि स्थानीय बासिन्दा मौन बस्न बाध्य भएको उनले बताए । प्रहरीको सेटिङमा बालुवा चोरी भइरहेको बारे सञ्चार माध्यममा जानकारी दिएको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उल्टै स्पष्टीकरण दिनुपरेको वडा सदस्य खड्काले गुनासो गरे ।

‘प्रहरीको सेटिङमा बालुवा चोरी भएको भनेर सञ्चार माध्यममा बोल्यो भनी महानगरीय प्रहरी परिसरले बोलाएर मसँग स्पष्टीकरण लियो, उनले भने, ‘प्रहरीले मिडियामा बोलेको कुराको खण्डन गर्न दबाब दियो । मैले साँचो बोलेको हो, खण्डन गर्दिन दोषीलाई कारबाही गर भन्दा प्रहरीले तिमीले सिकाइरहन पर्दैन भन्दै धम्क्याए ।

प्रहरी प्रशासन र जिल्ला समन्वय समितिको खानी शाखामा बस्ने कर्मचारीलाई अवैधरूपमा बालुवा चोरी निकासी गर्ने एकएक जानकारी भएको खड्काको दाबी छ । चाँगुनारायण नपा १ का वडा अध्यक्ष राजेश खड्काले भने, ‘उनीहरूको सेटिङ नभएको भए मनोहरा खोलाबाट मात्रै होइन खानीबाट समेत किन निरन्तर बालुवा चोरी भइरहेको छ ।