काठमाडौँ– चर्चित युवा लेखक सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मै आधारित रही अब फिल्म बन्ने भएको छ । फिल्मको नाम पनि सोही हुने बताइएको छ ।


ADVERTISEMENT


टिन एजर्स लभस्टोरीलाई बान्की पारेर लेखिएकैले अल्लारे पाठकले अत्यधिक रुचाएको उपन्यासबाटै सामीप्यराज तिमल्सेनाले पटकथा लेखेका हुन् । फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्ने भएका छन् ।


ADVERTISEMENT

# # #


नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको ‘समर लभ’ का चर्चित जोडी साया र अतीतको भूमिकामा नयाँ कलाकारलाई डेब्यु गराइन लागिएको छ । नेपाली मूलकी रेवती क्षत्रीले सायाको भूमिका निर्वाह गर्दै छिन् । भारतको गुवाहाटीकी रेवती मिस इन्टरनेसनल भारत पनि हुन् भने थुप्रै ब्युटी पेजेन्टमा सहभागी भइसकेकी छन् । अतीतका रूपमा भने आशिष पियाले अभिनय गर्नेछन् ।

आशिषले आफू व्यवसायमा संलग्न हुँदाहुँदै फिल्म खेल्न आएको सुन्दर अवसरलाई खेर जान दिनु हुँदैन भनेर अभिनयमा राजी भएको बताए । रेवतीले भने भारतीय फिल्ममा अभिनयको अनुभव समेत संगालिसकेकी छन् । ‘ग्याङ्स अफ नर्थवेस्ट’ मा खेलिसकेकी उनले ‘खातुन’ शीर्षक अर्को भारतीय फिल्म पनि खेल्ने पक्कापक्की भइसकेको बताइन् ।

काठमाडौंबाहेक पोखरा र धनगढीमा छायांकन गरिने फिल्मको सुटिङ वैशाख दोस्रो साता सुरु हुने निर्माण पक्षले जनाएको छ । त्यसो त फिल्मको विदेशमा समेत केही दृश्य खिचिने बताइएको छ ।

पुष्पन प्रधानको संगीत रहने फिल्मको संवाद भने सुबिन र सामीप्यले संयुक्त रूपमा तयार पारेका हुन् ।