गोरखा – गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा नेपाली सेनाले बेलीब्रिज निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। बाढीले पुरानो पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवागमन नयाँ पुल निर्माणसँगै सहज हुन थालेको छ।

नेपाली सेनाले सोमबार पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको हो। नेपाली सेना र सडक विभागको सहकार्यमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि नदी वारपार गर्न स्थानीयवासीलाई सहज भएको छ।


ADVERTISEMENT

# #


२७ दशमलव ४३ मिटर लामो उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ। हाल पुलबाट पैदलयात्री र मोटरसाइकललाई आवतजावत गर्न अनुमति दिइएको छ। ठूला सवारीसाधन भने सञ्चालनमा आइसकेका छैनन्।

गत असोज २५ गते बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले आरुघाटस्थित पक्की पुल बगाएको थियो। पुल बगाएपछि स्थानीयवासीलाई नदी वारपार गर्न कठिनाइ हुँदै आएको थियो। दैनिक आवतजावत प्रभावित हुँदा स्थानीयको जनजीवनमा समेत समस्या उत्पन्न भएको थियो।


ADVERTISEMENT

#
#


पुल बगाएपछि आवागमन सहज बनाउने उद्देश्यले असोज ३१ गतेदेखि बेलीब्रिज निर्माण सुरु गरिएको थियो। नेपाली सेनाले नौ दिनमै निर्माण सम्पन्न गरेपछि नदी वारपार गर्नका लागि वैकल्पिक व्यवस्था तयार भएको हो।

बेलीब्रिज सञ्चालनमा आए पनि तत्काल ठूला सवारीसाधन चलाउन भने अनुमति दिइएको छैन। पुलको पूर्ण उपयोगका लागि आवश्यक व्यवस्थापनपछि अन्य सवारीसाधनको आवागमनसमेत सहज हुने अपेक्षा गरिएको छ।