काठमाडौँ– आजदेखि नयाँ वर्ष २०७९ शुरु भएको छ । नेपालीहरुका लागि यस दिनले विशेष महत्व राख्छ । नयाँ वर्षको शुरुआती दिन स्वरुप अधिकांश्ले यसलाई पर्वको रुपमा पनि मनाउने गरिएको पाइन्छ । वर्षको शुरुआती दिन राम्रो भएमा यसले आउँदो यस वर्षका दिनहरुलाई समेत राम्रो पार्ने धारणाका साथ नेपालीहरु यस दिनमा मिठो मसिनो खाने तथा हर्ष एवम् उल्लासका साथ व्यतीत गर्ने गर्छन् ।
यसै कारण पनि आज बिहानैदेखि विभिन्न मठमन्दिरहरु भक्तजनहरुले भरिएका छन् । नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बाग्द्वार (बाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा भक्तजनको भीड बढ्छ ।
यस अवसरमा विशेषगरी पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउनेको भीड तुलनात्मक रुपमा बढी देखिएको छ । भक्तजनका लागि विशेष व्यवस्था समेत गरिएको बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उनले सुनाए ।