पोखरा– पहिलो चरणको निर्वाचन सकिएर दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा दलका नेताहरु आपसी गालीगलौजमा उत्रिएका छन् ।


ADVERTISEMENT


नेकपा एमाले र माओवादी केन्द्रबाट बनेको वाम गठबन्धन र नेपाली काँग्रेस र राप्रपाबाट बनेको लोकतान्त्रिक मोर्चाका नेता यतिबेला एकले अर्कोलाई गाली गर्ने र आफू मात्रै ठीक भनी मतदातासँग भोट मागिरहेका छन् ।


ADVERTISEMENT

# # #


कुनै ठाउँमा एक मोर्चाले चुनावीसभा गर्यो भने भोलिपल्टै अर्को मोर्चाले त्यसै ठाउँमा गरिहाल्ने, अघिल्लो दिनमा दलका नेताले लगाएको दोष मेट्न त्यसको खण्डन गर्ने प्रवृत्ति बढेको देखिन्छ ।

विशेषगरी वाम गठबन्धनले निर्वाचनमा गठबन्धनको दुई तिहाइ मत आउने, निर्वाचनपछि नेपाली काँग्रेसको सरकार हट्ने र पुस महिनादेखि वाम गठबन्धनको बहुमतको स्थीर सरकार बन्ने र पाँच वर्षसम्म एउटै सरकारले शासन गर्ने भनेर दाबी गर्दै गठबन्धनका नेता तथा उम्मेदवारले भाषण गर्दै हिँडेका छन् ।

चुनावपछि एमाले र माओवादीबीच पार्टी एकता हुने, ५० वर्षसम्म कम्युनिष्टले शासन गर्ने, सुकुम्बासी समस्या, आर्थिक समृद्धि र विकास, वृद्धवृद्धालाई पाँच/पाँच हजार भत्ता पुर्याउने, केरुङ–काठमाडौँ–पोखरा हुँदै लुम्बिनीसम्म रेल कुदाउने, कोही भोका नांगा बस्न नपर्ने, रोजगारीका अवसर सिर्जना गरेर विदेशिने युवाको संख्या घटाउनेजस्ता आश्वासन दिएका छन् ।

उता लोकतान्त्रिक मोर्चाको नेतृत्व गरेको काँग्रेसले वाम गठबन्धनका नेताका अभिव्यक्तिलाई आपत्तिजनक ठहराउँदै त्यसको खण्डन गरेको देखिन्छ । कम्युनिष्ट शासन आए देशमा अनिष्ट हुने, एकदलीय, राष्ट्रपतीय शासन प्रणाली र अधिनायकवाद लाद्नेजस्ता आरोप लोकतान्त्रिक मोर्चाका नेताको छ ।

कम्युनिष्ट शासनले देशको आर्थिक विकास र समृद्धि हुन नदिने, जनता आफूले लागेको बोल्न र रुन पनि नपाउने भन्दै नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक मोर्चा नेताले मात्रै लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र आर्थिक समृद्धि सम्भव भएको जिकिर गरेका छन् ।

नेपाली जनताले कम्युनिष्ट शासन प्रणाली नचाहेको भन्दै लोकतान्त्रिक मोर्चाका नेताले नेपाली काँग्रेस पक्षधर मोर्चाको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

मंसिर १० गते भएको निर्वाचनमा ३२ जिल्लाका दल र उम्मेदवारको भविष्य अहिले सुरक्षाकर्मीको कडा सुरक्षाका साथ राखिएको मतपेटिकाभित्र छ । मंसिर २१ गते अधिराज्यका ४५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुने र सोही दिनको साँझबाट राजनीतिक दल र उम्मेदवारको भविष्यको पैmसला जनताले गर्नेछन् ।