काठमाडौँ –काठमाडौँ महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । स्थापितले सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।


ADVERTISEMENT


उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसँग बोल्दै स्थापितले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । युवाअवस्थामै आफैले भारी मत ल्याएको र काठमाडौँवासीलाई केशव स्थापितले केही गर्छ भन्ने विश्वास भएकाले आफ्नो जित निश्चित भएको उनले दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मत ल्याएर जित्ने समेत जिकिर गरे । उनले भने, ‘म गठबन्धनको दोब्बर ल्याउँछु होला । लेखेर राख्नु है, गठबन्धनको दोब्बर । गठबन्धनले ७० हजार ल्यायो भने १ लाख ४० हजार त ल्याउनुपर्यो । उहाँहरुले कम ल्याए, कम ल्याउनुपर्यो । तर, दोब्बर चाहीँ ल्याउने । उहाँहरुले ४० ल्याए मैँले ८० ल्याए मात्रै पुग्यो, सजिलो भयो । गणितमा म एकदमै प्रफेक्ट मान्छे हो ।’

गठबन्धनको मतको लेखाजोखा गर्दै उनले भने, ‘नेपाली काँग्रेसको पहिलेदेखि स्थायी भोट ४५ हजार, यसअघिको निर्वाचनमा माओवादीले पाएको ७ हजार, केही हजार भोट एकीकृत समाजवादीको पनि गयो भने ५८ हजारसम्म होला । मैँले २०५४ सालमै ८४ हजार ६ सय भोट ल्याएको मान्छे हुँ । के तुलना भयो ? त्यसैले सकियो, गेम इज ओभर । तर, छाप लाउनलाई त प्रतीक्षा गर्नुपर्यो ।’

यस्तै उपमेयरमा उम्मेदवारी दर्तापछि एमालेकी उम्मेदवार सुनिताले केशव स्थापितजस्तो अनुभवी व्यक्तिसँग सहकार्य गर्न पाउनु भनेका काठमाडौँवासीका उदाहरण भएको बताइन् । उनले आफ्नो जित निश्चित भएको दाबी गरिन् ।

सुनिताले भनिन्, ‘म एक्लै बोलिरहेकी छैन । काठमाडौँ महानगरपालिकाभित्रका सबै युवाहरु जो स्वदेशमै केही गर्छु भनिरहेका छन्, जो विदेशमा छन् र स्वदेशमै केही गर्न आउन चाहन्छु भनिरहेका युवाहरुको आवाज हो । म सकारमा महिला प्रतिनिधि हुनुपर्छ, त्यो पनि अर्थपूर्ण प्रतिनिधि हुनुपर्छ भन्ने हरेक महिलाको आवाज हुँ म । त्यसकारण मेरो जित सुनिश्चित छ ।’

स्वतन्त्र रुपमा काठमाडौँका लागि मेयरको उम्मेदवारी घोषणा गरेकी डंगोललाई अन्तिम समयमा एमालेले उपमेयरको टिकट दिएको थियो ।