भर्खरै मात्रै नेकपा एमालेमा प्रवेश गरेकी युवा नेतृ एवम् पूर्व राजदूत लक्की शेर्पासँग वर्तमान राजनीतिक विकासक्रम र उनका व्यक्तिगत आगामी योजनाबारे हिमालय पोष्टले गरेको विशेष कुराकानीको सार :


ADVERTISEMENT


लामो समय नेकपा माओवादी केन्द्रमा रहेर काम गर्नुभयो । एकाएक नेकपा एमाले प्रवेश गर्नुभयो । के आइपर्यो त्यस्तो ?


ADVERTISEMENT

# # #


राजनीति भनेको अपार सम्भावनाहरु बोकेको ठूलो ‘प्लाटफर्म’ हो । राजनीतिमा हरेक किसिमका चुनौतीहरुको पनि सामना गर्नुपर्छ । माओवादी पार्टीका सिद्धान्तका आधारमा जुन हिसाबले मैँले काम गरिरहेको थिएँ, सिद्धान्तका आधारमा लक्ष्य प्राप्तिका लागि पार्टी विफल भयो । पार्टीका सिद्धान्त अनुसार काम नभइरहँदा र पार्टी विफल भइरहँदा मलाई मेरो स्वाभिमानले पनि त्यहाँ बसिरहन दिएन । तसर्थ मैलै आफ्नो पुरानै घर नेकपा एमाले फर्किने निधो लिएर फर्किएको हो । अरु ठाउँमा गएको होइन, नयाँ दल खोलेको पनि होइन । यसलाई स्वाभाविक रुपमा लिनुपर्दछ ।

जनयुद्ध लडेर ठूलो संख्यामा संसद प्रवेश गर्दै देश परिवर्तनका लागि हिंडेको माओवादी केन्द्रमा के समस्या देख्नुभयो ?

वस्तुतः अध्यक्ष प्रचण्डले पहिले देश र पार्टीका ठूला मुद्दाहरुमा नेतृत्व लिनुभएकै हो । द्वन्द्वको समयमा सिंगो माओवादीका क्रियाकलापमा उहाँको योगदान बिर्सिनु हुँदैन । त्यसपछि संसदीय प्रक्रियासम्म आइपुग्न पनि उहाँको लचकताले काम गरेको छ । जनतामा पनि अब केही हुन्छ भन्ने परेकै हो । यसमा विमति छैन ।

पहिलो संविधान सभामा माओवादीले पाएको मत पनि यसैको लागि थियो । त्यसपछि प्रचण्डका मुद्दाहरु फितला हुँदै गएको देखिइराखेको छ । माओवादीले उठान गरेका जनताका समस्याहरु देखेर नै हामीले पनि विश्वास गरेर पार्टीलाई योगदान दिन तयार भएको हो । नेपालका समस्याहरु र यहाँका चुनौतीहरु माओवादीले नै चिर्न सक्छ भन्दै हामी आशा र भरोसा लिएर पार्टीलाई पछ्याउँदै गयौं ।

एकदशक पार्टीमा काम गर्दैगर्दा मलाई के महसुश हुँदै गयो भने समस्याको उठान जसरी भइरहेको छ त्यसको कार्यान्वयनमा माओवादी कमजोर भइरहेको छ । परिवर्तन र जातीय राज्यका लागि लडेकाहरु जसले ज्यानसमेत गुमाएका थिए । जब हामी परिवर्तन गर्दैनौं भने उहाँहरुको बलिदान केका लागि भन्ने लागिरहन्थ्यो ।

माओवादी पार्टीले ठूला मुद्दाहरु मात्र उठायो । मुद्दाहरुको कार्यान्वयन फितलो भयो । पार्टीका संरचनाहरु ध्वस्त भयो । पार्टी फुटेर धुजाधुजा भएको पनि देखिएकै छ । पार्टी कार्यकर्ता अनिर्णयको बन्दी भएर बस्नुपरेको अवस्था छ । जिल्लामा पार्टीको उपस्थिति नै नभएको अवस्था पनि छ । पार्टीका पदाधिकारीको टुंगो पनि मनोमानी ढंगले गरिँदै आएको छ । अधिवेशन पनि लोकतान्त्रिक प्रक्रियाबाट हुँदैन । पार्टीको नेतृत्व र कार्यकर्ताबीचको जुन सम्बन्ध छ त्यो एकदमै डरलाग्दो अवस्थामा छ ।

 अहिलेकाे अवस्थामा जनताका मुद्दामा माओवादी कहाँ रहेको पाउनुहुन्छ ?

सरकारमा लगातार बसिरहेको पार्टीमा समस्या समाधानको कार्यान्वयनमा यस्तो उदासीनता सायदै कुनै पार्टीमा होला । माओवादीबाट मन्त्रालय सम्हालेका मन्त्रीहरुले जनभावना अनुसार पार्टीका मुद्दाहरुमा आधारित भएर सेवा दिनै सकेनन् । नीतिहरुमा परिवर्तन, जनभावनाको कदर, सैद्धान्तिक बहस र साँच्चै परिवर्तन चाहिन्छ भन्ने कुरामा केन्द्रित नभएर व्यक्तिगत फाइदा, लोभ, इर्ष्या, घृणा र एकअर्काको खुट्टा तान्ने प्रवृत्तिले उकुसमुकुस भइरहेको अवस्था माओवादीमा तड्कारो देखिएको छ ।

माओवादीका नेताहरुको व्यक्तिगत जीवन हेर्दा अचम्म मान्नुपर्ने अवस्था आइलागेको छ । आम नेपाली जनताले के चाहिरहेका छन् भन्ने कुरा पार्टीले महसुस गरेकै छैन । परिवर्तनका मुद्दामा माओवादीको काम हेर्ने हो भने शून्य नै छ भने पनि हुन्छ ।

एमालेमा के देखेर फर्किनुभयो त ? 

यसै सन्दर्भमा कमरेड केपी ओलीले गर्दै आएको काम जनताका भावनाहरुसँग सम्बन्धित देखिँदै आयो । विकास समृद्धिको नारा जसरी उहाँले घन्काउनुभयो, त्यसको प्रशंसा गर्नुपर्छ । कम्युनिष्टले गर्नुपर्ने काम नै उहाँले गरिरहनुभएको सर्वविदितै छ । जनताको अवस्थामा परिवर्तन ल्याउन उहाँले चाल्नुभएको कदम नै असलमा कम्युनिष्टहरुको काम हो भन्ने लागिरहेको थियो । यसले जनतामा एकखाले जागरण पैदा गरेको छ । यसले पनि मलाई आकर्षित गर्यो ।

अर्कोतिर मेरो पुरै परिवारले एमालेलाई पहिलेदेखि नै सघाउँदै आएको छ । यस्तै, अहिले पाँच दलहरुबीचको गठबन्धनपछि राजनैतिक अवस्था एकदमै चुनौतीपूर्ण बन्दै गएको छ । गठबन्धन राजनैतिक परिवर्तनको लागि हुनुपर्नेमा भागवण्डाको लागि र स्वार्थको लागि बन्दै गएको छ । माओवादीका कार्यकर्ताहरु पनि यसबाट खुशी छैनन् । कांग्रेसकै निर्णयलाई माओवादीले आफ्नै निर्णय मान्दै गएपछि म पनि खुशी हुन सकिन !

यस्तो अवस्थामा एमालेले एक्लै परिवर्तनका लागि आवाज उठाइरह्यो । यसले कम्युनिष्टहरुमा भरोसा पैदा गरिरहेको छ ।

मलाई लाग्छ, अबको कम्युनिस्ट आन्दोलन केपी ओलीको नेतृत्वमा मात्रै सफल हुनेछ । त्यसैले पनि म एमालेमा फर्किएको हो ।

माओवादी छाड्नुपर्ने तत्कालीन कारण केही थिए कि ?

माओवादीको विदेश नीति मैले पार्टी परित्याग गर्नुको पहिलो कारण हो । एमसीसीका विषयमा माओवादीले जुनखाले धरमरको नीति लियो त्यो एकदमै लज्जाको कुरा हो । अध्यक्ष प्रचण्डले विदेश नियोगमा एकखाले पत्र लेख्ने, पार्टीको बैठकमा होइन भन्नेजस्ता झुटो कुराहरु गर्नुभयो । कार्यकर्तामा भ्रम छर्ने काम भयो । माओवादीको विदेश नीतिमा भ्रम, आवेग र अदूरदर्शिता देखियो ।

न्यायालयमा हस्तक्षेपका कुरा पनि एकदमै असहज छ । सत्ता गठबन्धनले न्यायालयलाई सुधार गर्न प्रभावकारी भूमिका निभाउनुपर्नेमा झन गिजोलिरहेको अवस्था छ । माओवादी र कमरेड प्रचण्डले यसमा कुनै भूमिका निभाउन सकेनन् ।

यसैगरी माओवादीमा ‘चेन अफ कमाण्ड’ नै छैन । पार्टीको बैठकमा भएकोभन्दा फरकखाले अभिव्यक्ति अध्यक्षले दिँदै हिँड्दा पनि हामीले त्यसैलाई समाएर हिँड्नुपर्ने अवस्था भयो ।  पार्टीमा टिम पनि थिएन ।

माओवादी पार्टीमा दु:ख गरिरहेकाहरुको भविष्य अन्धकारमय भएको छ । अध्यक्ष कमरेड प्रचण्डले जे भन्नुहुन्छ त्यो नै सर्वेसर्वा मान्नुपर्ने अवस्था भयो । यस कारण पनि मैले पार्टी छाडेको हो ।

तर, तपाईंलाई त पदका लागि एमाले आएको भन्नेहरु पनि छन् । तिनीहरुलाई तपाईंको जवाफ के हुन्छ ?

एमालेमा अध्यक्ष ओलीले टिमवर्कलाई प्रथमिकता दिनुभएको छ । जसले काम गर्ने कार्यकर्तामा पनि उत्साह छ । उहाँ आफैं पनि संगठनमा उत्साह भरिरहनुभएको छ । एमाले कार्यकर्ताका अतिरिक्त माओवादीका कार्यकर्ताहरु पनि एमालेतर्फ आकर्षित भइरहेका छन् ।

मान्छेहरुले पदका लागि लक्की शेर्पाले पार्टी परिवर्तन गरिन् भन्ने जुनखालको आरोप लगाइरहेका छन् त्यो कदापि होइन । पद त मैले माओवादीमै बस्दा पाउने थिएँ होला । किनभने त्यहाँ आकांक्षी पनि कम छन् । सरकारमा पनि माओवादी बसिरहेको छ । तसर्थ एमालेसँग भावनात्मक रुपमा जोडिएर नै म यता आएको हो । जनताका भावनामा काम गरिरहेका कमरेड ओलीको विश्वास देखेर नै यसमा मेरोतर्फबाट गर्न सकिने सहयोग गर्न एमाले प्रवेश गरेको हो ।

माओवादी केन्द्रमा परिवारवाद हाबी भयो, परिवारका सदस्यबाहेक अरुलाई जिम्मेवारी दिइँदैन भन्ने आवाज उठ्छन् । यसमा तपाईंको धरणा के छ ? 

परिवारलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा त अध्यक्षले आफैं जान्नुपर्ने कुरा हो । परिवारका सदस्यले विभिन्न आकांक्षा त राखिरहेकै हुन्छन् । त्यसलाई कहाँ कस्तो अवस्थामा व्यवस्थापन गर्ने भन्ने कुरा जहाँ पनि हुन्छ । प्रचण्डले परिवारका सदस्यलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुरामा मलाई कुनै रिस छैन । त्यो उहाँको आफ्नो व्यक्तिगत कुरा हो । यसमा कुनै गुनासो पनि छैन ।

मेरो गुनासो त अध्यक्षले लिडरसिप कस्तो गर्नुहुन्छ । पार्टीका काम राम्ररी गर्नुहुन्छ कि हुँदैन ? पार्टीमा विश्वास गरिरहेकाहरुलाई क्षमता अनुसारको काम दिइन्छ कि दिइँदैन ? मुलुकका समस्याहरुमा पार्टीको निर्णय कस्तो हुन्छ ? विदेशनीतिमा माओवादीको धारणा के हो ? महाधिवेशन कसरी हुन्छ ? पार्टीमा क्षमतावानहरुले जिम्मेवारी पाए कि पाएनन् ? पदाधिकारीको चयन कसरी भयो ? पार्टीमा भएका निर्णय विपरीत कामहरु किन हुन्छन् ? पार्टी चलाउने अध्यक्षले मात्र हो कि पादाधिकारी पनि सामेल भएर हो ? एमसीसीमा प्रचण्डले निभाएको द्वैत चरित्र के हो ? त्यसले पार्टीलाई क्षति भएको कुराको हिसाब किताब कसले गरिदिने ? यी यावत् कुराहरु जान्ने अधिकार जनताको हो ।

यसको उत्तर उहाँले केन्द्रीय कमिटीलाई दिनुभयो त ? तसर्थ पार्टीको काम गर्ने तरिकामा नै मेरो असन्तुष्टि हो । पदको कुरा गर्दा म राजदूत भइसकेको हो । उहाँले मलाई अरु जिम्मेवारीमा लाने कुरा गर्नु भएको पनि थियो । मैले त्यहीँ बस्दा जिम्मेवारी पाउँथे पनि तर पार्टीको काम गर्ने तरिका नै मलाई मन परेन ।

राजनीतिक करियर अघि बढाइरहँदा राजदूत हुनचाँहि के कुराले प्रेरित हुनुभयो ?

राजदूतका रुपमा मलाई पहिले पनि रहर थिएन । अहिले पनि रहर छैन । अहिले पनि राजनैतिक रुपमा नै अघि बढ्ने विचार हो । प्रचण्डले अफर गरिहाल्नुभयो । राजनीतिक रुपमा करियर बनाउनुपर्छ भनेर सोचिरहेको बेलामा उहाँले त्यो अफर गर्दा बचन हार्न नसकेर भूमिका निभाउने काम गरेको हो । मलाई राजदूततर्फ भन्दा राजनैतिक रुपमा नै अघि बढ्नुपर्छ भन्ने लागेको थियो ।

एमालेबाट माओवादीमाचाँहि किन जानुभएको थियो ?

एउटा महिलाले राजनीतिक करियर अघि बढाउन एकदमै असहज छ । म आफ्नै बलबुतामा यहाँसम्म आइपुगेको हो । यसमा धेरै कुराहरु छन् । मेरो राजनीतिक यात्रा नेकपा एमालेबाटै सुरु भएको हो । एमालेबाटै सभासद हुँदाहुँदै माओवादीमा गएको पार्टीका मुद्दाहरुतर्फ आकर्षित भएर हो । काम गर्ने ‘प्लाटफर्म’ ठूलो थियो । महिलाका मुद्दा, जनजातिका मुद्दा र अल्पसंख्यकका मुद्दाहरुतर्फ म आकर्षित भएको थिएँ । एमालेका कुनै नेतासँग झगडा परेर माओवादीमा गएको होइन । मुद्दाहरुमा काम नभएपछि एमालेमै फर्किएको हो ।

प्रचण्डले माओवादी पार्टी विघटन गर्ने भन्ने पनि सुनिन्छ, यहाँलाई के लाग्छ ? 

प्रचण्डले माओवादी विघटन गर्नुपर्छ भन्नेखाले कुराहरु बोलिराख्नुहुन्छ । मिडिया, पोलिटब्यूरो र केन्द्रीय कमिटी सबैतिर उहाँले यही कुरा राख्नुहुन्छ । पार्टी एउटा संस्था भएकोले उहाँले उठाएको कुरा नै ठिक छैन । पार्टी उहाँको व्यक्तिगत सम्पत्ति भएको  जसरी त्यस्तो कुरा राखिरहेको सुन्छु । उहाँले आफू नभएमा कसैले पनि पार्टी चलाउनै नसक्ने जसरी कुरा गर्दा धेरै प्रश्नहरु मनमा उठिराख्छ ।

प्रचण्डले कतिबेला पार्टी विघटन गर्नुहुन्छ कसैलाई पनि थाहा छैन । विघटनकै त्रासमा अरु साथीहरु पनि हुनुहुन्छ । यसले उहाँलाई फाइदा गर्ला नगर्ला तर पार्टीप्रति आस्था राख्नेहरुलाई भने पक्कै अप्ठेरो पर्नसक्छ ।

तपाईं एमालेमा फर्किनु भएकोचाँहि अध्यक्ष ओलीको सम्पर्क र उहाँकै प्रस्तावमा हो ?

हो, उहाँकै प्रस्तावमा म एमाले फर्किएको हो । उहाँले मलाई आफ्नो घर फर्कनुपर्यो । माइतीमा स्वागत छ भनेर बोलाउनुभएको हो ।

अध्यक्ष ओली कमरेडले मलाई छोरी भनेर बोलाउनुहुन्छ । उहाँकै प्रस्तावमा म एमाले फर्किएको हो ।

यसमा भावनाहरु जोडिएका छन् । जनमानसमा उहाँको जुन ‘क्रेज’ छ त्यसले पनि यता फर्किन मद्दत पुगेको हो ।

अर्कोतिर कम्युनिष्ट आन्दोलन एक किसिमले धराशयी बन्दै गएको अवस्थामा ओली कमरेडले नै यसको नेतृत्व लिएको मलाई अनुभव भयो । भित्री अन्तरआत्माले पनि ओली कमरेडले संस्थागतरुपमा नै यसको नेतृत्व लिनसक्नुहुन्छ, एमाले त्यसको लागि तयार भएको शक्ति भएको महसुस भएर नै म एमालेमा फर्किएको हो ।

एमाले प्रवेशसँगै यहाँको राजनीतिक यात्रा कसरी अघि बढ्छ ?

अबको यात्रामा म नेकपा एमालेको सक्रिय कार्यकर्ताको हिसाबमा अघि बढ्छु ।  देशमा समृद्धि  प्राप्तिको लागि संघर्ष, न्यायोचित समाजको निर्माणमा लाग्ने, हरेक युवावर्गलाई रोजगारी सिर्जनामा अभिप्रेरित गर्ने, मुलुकका समस्याहरु हल गर्ने, आफूले देश विदेशमा पाएको अनुभवलाई साझा गर्ने, जनतालाई आर्थिक समृद्धितर्फ अभिप्रेरित गर्ने र सुखी नेपालीको अवधारणालाई साकार पार्नेतर्फ मेरो ध्यान केन्द्रित रहनेछ । आफ्नो क्षमता प्रयोग गरेर पार्टीको र देशको भलाइ गर्नमा पनि सक्रिय रहनेछु ।

पार्टीमा जिम्मेवारी के हुन्छ ? केहि आश्वासन पाउनुभएको छ कि ?

मैले कहिले पनि पदको लागि ‘वार्गेनिङ’ गरेको छैन । पहिले माओवादीमा छँदा पनि यसो गरेको छैन । मेरो क्षमता, क्रियाकलाप, कार्यशक्तिलाई हेरेर नै उहाँहरुले मलाई कुनै जिम्मेवारी सुम्पनुहुनेछ ।

एमालेमा सबै नै मेरा साथीभाइहरु सुभेच्छुकहरु, मित्रहरु हुनुहुन्छ । मलाई उहाँहरुले सहर्ष स्वीकार गर्नुभएको छ । मेरो आत्मसम्मानमा चोट पुग्ने काम उहाँहरुले  गर्नुहुनेछैन भन्ने पूर्ण विश्वास पनि छ ।

मेरो जानकारी भएको क्षेत्रकै जिम्मेवारी मैले पाउँछु भन्नेमा मलाई कुनै द्विविधा छैन ।

अध्यक्षबाट केहि ‘हिन्ट्स’ पनि पाउनुभएको छ कि ?

छैन, भर्खरै मात्र पार्टी प्रवेश गरेकाले त्यतातिर हामी गएकै छैनौं । पार्टीमा कुन क्रियाकलापमा लगाउने, कस्तो जिम्मेवारी दिने भन्ने उहाँहरुले सोचिरहनुभएको होला । उहाँहरुले दिएको जिम्मेवारी पूरा गर्न पार्टीको काममा अघि बढ्ने नै मेरो योजना रहेको छ ।

एमालेमा आइसकेपछि एकखाले अप्ठेरो महसुस भएको छ कि ?

मलाई एकदमै आनन्दको महसुस भएको छ । म आफ्नै घरमा फर्किएको हो । आफ्नै माइतीमा फर्किएको हो ।

माइतमा आउन पाउँदा कसलाई आनन्द आउँदैन ? आफ्नो घर भनेको आफ्नै घर हुनेरहेछ । जति पनि साथीहरु एमाले छाडेर जानुभएको छ म उहाँहरुलाई पनि आफ्नै घरमा फर्कन आह्वान गर्न चाहन्छु ।

खुशीसाथ तपाईंहरुलाई स्वागत गर्न लालायित छु । सपनाहरु आकांक्षाहरु कहिलेकाँहि पुरा नहोलान् तर बनाउन त आफ्नै घर पर्छ नि !

आफ्नो घर छाडेर बाहिर भौतारिँदा धेरै दुख पनि पाइने रहेछ । यसैलाई सिँगार्नुपर्छ । यसैलाई सुन्दर बनाउन पर्छ । यसैमा अधिकार र कर्तव्य पनि पाइन्छ ।

एमालेमा आइसकेपछि मलाई एककिसिमको सकुन मिलेको जस्तो आनन्दको महसुस भएको छ । सबै पुराना साथीहरुसँग भेट भयो । उहाँहरुले एकदमै खुशी भएको कुरा बाँढ्नुभयो । यो खुशीलाई शब्दमा बयान गरेर साध्य छैन !

एकातिर पाँच दलीय गठबन्धन, अर्कोतिर एमाले एक्लै छ । चुनावको मुखमा तपाईं पार्टी प्रवेश गर्दैगर्दा एमालेले कस्तो जनमत ल्याउला भन्ने आंकलन गर्नुभएको छ ?

नेपालको कम्युनिष्ट आन्दोलन धराशयी भइरहेको अवस्था र नेकपा एमालेले एक्लै यसको नेतृत्व गरिरहेको अवस्था छ । यस्तो अवस्थामा चुनावका परिणाम फरक आउन पनि सक्छ । तर पनि कम्युनिष्ट ‘मुभमेन्’टको नेतृत्वचाहिं एमालेले नै गर्न सक्छ । यो कुरा मैले माथि पनि भनिसकेको छु ।

गठबन्धनको सरकार जुन बनेको छ त्यो वास्तवमा गठबन्धन नै होइन । त्यो एक हिसाबले पदबन्धन हो । सीमित स्वार्थमा बाँधिएको नाता खासै टिकाउ होला भन्ने पनि मलाई लागेको छैन ।

अहिले निश्चय नै एमालेसामु चुनौती छ तर कम्युनिष्ट आन्दोलनको नेतृत्वचाहिँ हामीले नै गर्नुपर्छ । अरु कम्युनिष्ट पार्टीहरु स्वार्थमा रुमल्लिरहेको कारण आन्दोलनलाई सघाउन पर्छ भनेर म यता लागेको हो । चुनावको परिणामले पनि गठबन्धन कहाँसम्म जाने भन्ने देखाउला । एमालेप्रति जनताको माया र भरोसा छ त्यसकारण आत्तिन आवश्यक छैन । गठबन्धनले एमालेको चुनावी नतिजालाई प्रभाव पार्ला भनेर म भन्न सक्दिन ।

एमाले चुनावपछि स्थानीय तह, प्रदेश र संघमा कत्रो पार्टी भएर आउला जस्तो लागेको छ ?

गठबन्धनले यस्तै खालको काम गर्दै गयो भने नेकपा एमाले अहिलेकोभन्दा ठूलो पार्टी भएर आउँछ । त्यसमा दुई मत छैन । गठबन्धनभित्रको मनमुटाव, टकराव र झगडाले एमालेलाई अझै फाइदा पुग्ने मैले देखेको छु । चुनावपछि एमालेले नै सरकारको नेतृत्व गर्छ भन्ने सम्भावना देखेको छु । स्थानीय तहको चुनावपछि पनि एककिसिमको आंकलन गर्न सकिन्छ । स्थानीय तहको परिणामले एमालेको उपस्थिति कत्रो हुन्छ र अब संघीय चुनावमा कसरी अघि बढ्ने भन्ने योजना तयार गर्न मद्दत पुग्नेछ ।

महानगर उपमहानगरमा एमालेका होनहार नेताहरुलाई टिकट दिइएको छ । जसले गर्दा स्थानीय तहमा एमालेले निराश हुनुपर्दैन भन्ने पूर्वानुमान गर्न सकिन्छ । स्थानीय तहमा राम्रो उपस्थिति भएपछि संघीय चुनावमा पनि राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।

भनेपछि सिंगो एमाले र अध्यक्ष ओली चुनावको परिणाम राम्रो हुनेमा ढुक्क भएको देख्नुभयो ?

माओवादीमा रहँदा पनि मैले अध्यक्ष ओलीको ‘कन्फिडेन्ट’ देखेको छु । उहाँले पार्टी क्याडरलाई जोगाएको र सपोर्ट गरेको मैले महसुस गरेको छु ।

मलाई के लागेको छ भने ओली जत्तिको लिडर नेपालको राजनीतिमा अहिलेको अवस्थामा कोही पनि हुनुहुन्न ।

अध्यक्ष ओलीले एमाले कार्यकर्तामा एकखाले उत्साह पैदा गरिरहेको देख्छु । जनतामा पनि आशा पलाएको देखेको छु । उहाँले एमालेलाई अघि बढाउन ठूलो चुनौतीहरुको सामना गर्नुभएको छ । त्यसकारण एमाले चुनावी परिणाम राम्रो हुनेमा ढुक्क छ । अहिलेको सरकारले गरिरहेको काम देख्दा ओलीको सरकारले गरेको काम धेरै राम्रो थियो भन्ने जो कसैले अनुभव गरिरहेका छन् ।

भनेपछि तपाईंलाई यतिबेला संसद विघटन लगायतका कामहरु पनि सही नै थियो भन्ने लागेको छ ?

एमदमै सही देखिएको छ ।

संसद विघटन गरेर तत्कालिन प्रधानमन्त्री ओलीले जनतामा जाऔं भन्नु लोकतन्त्रकै एउटा पाटो थियो । विघटन गरेर उहाँले दस वर्ष सरकार चलाउँछु भन्नुभएको थिएन । चुनावमा जाने भन्नुभएको थियो ।

संसद पुनस्थापना भएपछि आजको अवस्था हेर्ने हो भने त्यो कदम सही नै थियो भन्ने लाग्छ । आजको परिदृश्य राम्रो छ त ? आजको सरकारको काम हेर्ने हो भने कमरेड ओलीको सरकारले धेरै राम्रो काम गरेको थिएन त ? यतिबेला सरकारको कुनै नीति नै छैन भने पनि हुन्छ । कसलाई कुन पद भन्ने मात्र छ ।

यहाँले राजदूत भएर पनि काम सम्हालिसक्नु भएकोले हाम्रो जस्तो मुलुकको विदेश नीति कस्तो हुनुपर्छ भन्ने लाग्छ ?

विदेश नीतिलाई हामीले जसरी गिजोलिरहेका छौं त्यो काम बन्द हुनुपर्छ । यो एकदमै राम्रो भएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र कमरेड प्रचण्डले विदेशी नियोगलाई जसरी आफैंले चिठ्ठी लेख्नुभयो यो एकदमै नराम्रो काम हो ।

उहाँहरुलाई यसो गर्न कुन मर्यादाले दिन्छ ? परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई यसो गर्न मिल्छ त ? उहाँहरुले यसो गर्दा हाम्रो विदेश नीति कस्तो छ भन्ने कुरा उदांगो भएको छ । विदेश नियोगको पनि एउटा सामान्य कर्मचारीलाई उहाँहरुले चिठ्ठी लेख्न हुन्छ ? राष्ट्रिय सम्प्रभुतालाई ओझेलमा पार्ने काम प्रधानमन्त्रीले नै गर्दै हिँड्नुहुन्छ भने हाम्रो विदेशनीति सही छ भन्न सकिन्छ त ?

राष्ट्र र राष्ट्रको सम्प्रभुतालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा व्यक्तिगत स्वार्थ, व्यक्तिगत इच्छालाई ध्यानमा राखेर काम गर्ने हो त ? कुनै पार्टीको एजेन्डा चीन सरकारसँग मिल्दोजुल्दो छ र कुनै पार्टीको एजेन्डा भारतको सरकारसँग मिल्छ भनेर चीन र भारतसँग फरक सम्बन्ध राख्नुहुँदैन ।

विदेशनीति भनेको जहिले पनि एकैखाले हुनुपर्छ । जुन सरकार आए पनि त्यसैलाई निरन्तरता दिनुपर्छ । त्यो कुरामा अहिले कमजोरी भइरहेको छ । विदेशनीति पार्टीको विचारसँग सम्बन्धित हुन हुँदैन । यो त राष्ट्र र यसको सम्प्रभुतासँग जोडिएको कुरा हो ।

एमाले र माओवादीका नेता कार्यकर्ताहरुले तपाईंलाई यतिबेला के भनिरहेका छन् ?

एमालेका साथीहरुले मलाई स्वागत गरिरहनुभएको छ । माया र हौसला दिइरहनुभएको छ । विशेषगरी पोलिटब्यूरोका साथीहरु र अध्यक्ष ओलीले उर्जा बढाइराख्नुभएको छ । केन्द्रमा रहनुभएका साथीहरुले पनि एकखाले उर्जा थपिदिनुभएको छ । नचिनेको साथीहरु भएको पार्टी पनि होइन । चिनेकै साथीहरु हुनुहुन्छ । धेरै साथीहरुलाई पहिलेदेखि नै चिनिराखेको कारण एक्लोपन हुने खालको कुरा पनि भएको छैन । खुशी र आनन्दकै माहोल बनेको छ ।

अर्कोतिर माओवादीका साथीहरुले नछोडेको भए हुन्थ्यो । हतार नगरेको भए हुन्थ्यो । तपाईंलाई हामीले माया गरिरहेका थियौं यसरी छोडेर जानु हुँदैनथ्यो भनेर पार्टी अफिसबाट फोन गरिरहनुभएको छ । उहाँहरुले यसो भनिरहँदा उहाँहरु पनि पार्टीको कामकारबाहीबाट सन्तुष्ट भने हुनुहुन्न । उहाँहरुलाई पनि यता आउन मन लागेको छ । उहाँहरु पनि त्यहाँबाट निस्कन चाहिरहनुभएको छ । यो मैले महसुस गरिरहेको छु । छुट्टिएर आए पनि बामपन्थी एकता तोडिइसकेको भन्ने होइन । एकता हुने सम्भावना पनि छ । त्यसको लागि माओवादीको नेतृत्व सच्चिनु आवश्यक छ । मेरा माया लाग्ने साथीभाइहरु त्यहाँ अझै हुनुहुन्छ ।

तपाईं आइसकेपछि अन्यलाई पनि एमालेमा प्रवेश गराइराख्नुभएको भन्ने सुनिएको छ नि ?

यता आउनुहोस् भनेर मैले बोलाइराखेको भन्दा पनि उहाँहरुले तपाईं किन एक्लै जानुभएको ? हामी पनि जान्थ्यौं नि  भनिराख्नुभयो । हामी पनि सँगै जान्थ्यौं नि भनेपछि नआउनुहोस् भन्न भयो त ? उहाँहरु आउने भनेपछि स्वागत त गर्नैपर्ने हुन्छ । कसैकसैले सल्लाह नै नगरी जानुभयो हामीलाई पनि लैजानुस् भन्नुहुन्छ । यस्तो हुनु स्वाभाविक पनि हो । सँगै रहन चाहने साथीहरुलाई यता स्वागत गर्नु ठूलो कुरा भएन ।

अन्तिममा के भन्नुहुन्छ ?

नेपालको राजनीतिमा नेकपा एमालेले सँधै मुलुकको हितमा काम गरिरहेको छ । परिवर्तनमा नेकपा एमालेले खेलेको भूमिका एकदमै महत्वपूर्ण छ । अब मेरो राजनीतिको पूर्ण समय एमालेमा बित्नेछ । मेरो क्षमता अनुभवलाई म एमालेको भलाइ र मुलुकको भलाइका लागि लगाउनेछु । कमरेड अ‍ेलीको नेतृत्वमा नै अब नेपालको कम्युनिष्ट आन्दोलनले  गति लिनेछ । यसमा म मेरो योगदान दिन चाहन्छु । जसमा देशलाई समृद्धितर्फ डोहोर्याउन मद्दत मिल्नेछ भन्ने मेरो ठहर छ ।