काठमाडौँ– सरकारले हुलाक सेवालाई समयानुकूल बनाउँदै अत्याधुनिक सेवा दिने गरी आगामी आवको बजेटमा विशेष व्यवस्था गर्ने भएको छ ।


ADVERTISEMENT


अर्थ मन्त्रालयमा आज भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन र आगामी आवको बजेटमै यसलाई समावेश गर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौँ । निजी क्षेत्रले कति प्रगति गरिसके, हामी चाही पुरानै शैलीमा बसेर हुँदैन’, अर्थमन्त्री शर्माले भने । आगामी आवको नीति तथा कार्यक्रम र बजेटका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आज अर्थले छलफल गरेको हो ।

अर्थमन्त्री शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर, सञ्चार सचिव डा वैकुण्ठ अर्याल, बजेट लेखन समितिका सदस्यलगायतको छलफलमा सहभागिता थियो । बैठकमा सञ्चार मन्त्रालयले नीति कार्यक्रम र बजेटमा समावेश गर्ने विषयबारे प्रस्तुत गरेको थियो । सञ्चार सचिव डा अर्यालले गरेको प्रस्तुतिकरणमा हुलाक सेवा परम्परागत शैलीले चलेकाले सुधारको खाँचो रहेकोतर्फ औँल्याए । यस्तै, पुराना जनशक्तिलाई अवकाश दिइ नयाँ जनशक्ति भर्ना गरेर भए पनि हुलाक सेवालाई नयाँ ढङ्गबाट चलाउनुपर्ने समेत आवश्यकता रहेको उनको भनाई छ ।

सञ्चार मन्त्रालयले हुलाक कार्यालयलाई इ–कमर्स प्लेटफर्ममा पनि प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको छ । दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने सञ्चारको प्रस्तावमा अर्थमन्त्री शर्माले उपयुक्त साझेदार खोजेर कार्यक्रम र बजेट ल्याउन सुझाव दिए । सबै सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा तीन प्रतिशत रकम अनिवार्य रुपले कट्टा गर्ने र यसरी कट्टा गरिएकोे रकम विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था लागू गर्न पनि प्रस्ताव गरिएको छ ।

‘सबै कार्यालयबाट यसरी विज्ञापनबापत भुक्तानी हुने रकमको तीन प्रतिशत कट्टा गरी विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था हुने हो भने लोककल्याणकारी विज्ञापनको बजेट विनियोजनमा चाप पर्दैन” सञ्चार सचिव अर्यालले भने । बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले आगामी आवको बजेटमा ठोस विषयवस्तु मात्रै समेटेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।

‘यहाँ श्रीलङ्काको अर्थतन्त्रलाई देखाएर डर पैदा गर्ने काम भइरहेको छ । यस्ता कुरालाई चिर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आउनुपर्छ’, उनले भने । रासस