काठमाडौँ – इस्लामिक गणतन्त्र इरानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


सोमबार आयोजित विशेष समारोहमा राजदूत अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष तेहरानस्थित राष्ट्रपति भवनमा नेपालका गैरआवासीय राजदूतको ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT

# # #


ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणका क्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवम् समृद्धिको कामना गरे । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

अधिकारीलाई इरानका लागि नेपाली राजदूतमा नियुक्त भएकामा राष्ट्रपति अयातोल्लाहले स्वागत गर्दै बधाई ज्ञापन गरे । उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत अधिकारीलाई आग्रह गरे ।

राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए । उनले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विभिन्न विषयमा मिलेर काम गरिरहेको बताए । राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुरे ।

समारोहमा राष्ट्रपति भवन र विदेश मन्त्रालयका उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो । इस्लामाबादस्थित नेपाली दूतावासले इस्लामिक गणतन्त्र इरानलाई पनि सहप्रमाणीकरण गर्दछ ।