काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्माओली उनकै निवास गएर ट्युसन पढाउने बताएका छन् । ओलीले काँग्रेसको घोषणापत्र पागलहरुको प्रलाप भएको र अधिकाँस एमालेकै घोषणपत्र चोरिएको टिप्पणी गरेका थिए ।


ADVERTISEMENT


बुधबार आयोजिक पत्रकारसम्मेलनमा बोल्दै महामन्त्री थापाले घोषणापत्रमा काँग्रेसले ओली सरकारको गुणगान नगाएकाले ओली आक्रोशित भएको टिप्पणी गरेका हुन् । यसअघि काँग्रेसको १४औँ महाधिवेशनका बेला पनि ओलीले आफूलाई आफ्नो आईडिया चोर्यो भन्ने आरोप लगाएको बताउँदै महामन्त्री थापाले समय मिले ओलीलाई बालकोट नै गएर पढाउने समेत टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘अहिले उहाँलाई पनि दौडधूप छ, मलाई पनि दौडधूप छ, हाम्रो आफ्नै भ्याइनभ्याइ छ । अलिकति भ्याएको बेला बालकोटै गएर टुयूसन पढाउने हो । एउटा विषयमा त पढाउनै पर्ने भएको छ ।

यस्तै महामन्त्री थापाले काँग्रेसले आफ्नो घोषणापत्रमा ओलीले गरेका खराब कामको पर्दाफास गर्दा उनलाई सहन गाह्रो भएको टिप्पणी गरे । ‘घोषणापत्रको सुरुमै हामीले खेर गएका ५ वर्ष भनेर लेखेका छौँ । नेपाली काँग्रेसले खेर गएका ५ वर्षको ठाउँमा उहाँको भक्तिगान, स्तुतीगान गाउने त कुरा भएन ।’ उनले भने, ‘उहाँलाई आफ्नो प्रशंसाको एकलाप सुन्ने बानी भएको, एकपछि अर्को झुटको पर्दाफास गरेकोले सहनसक्ने कुरै भएन ।’

केपी ओलीलाई रिस उठ्यो भन्दैमा काँग्रेसले सत्य बोल्न छोड्ने वा कालोलाई सेतो भन्ने कुरा नभएको बताउँदै थापाले रिसाउनु भन्दा स्वास्थ्यको ख्याल गर्न सुझाए । उनले भने, ‘सत्य बोलिराख्ने हो, भनिराख्ने हो । तर, खाली एउटा सुझाव मात्रै के हो भने बूढा बा, सनक्क सन्किँदै गर्दा कहिलेकाहीँ शरिरलाई अप्ठ्यारो गर्न सक्छ । सत्य भनिराख्छौँ, शरिरको ख्याल गर्नुहोला ।’

महामन्त्री थापाले केपी ओलीलाई ‘लजिक नभई म्याजिक’ मन पर्ने भएकाले काँग्रेसको घोषणापत्र मन नपराएको बताए । महामन्त्री थापाले ओली अकंकारी भएको बताउँदै आफ्नोविरुद्ध आवाज उठाउने सबैलाई पागल भन्ने गरेको बताए ।

‘जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो । यो कुनै नयाँ कुरा होइन ।’ उनले भने, ‘जब उहाँको झुटलाई कसैले च्यालेन्ज गर्छ, उहाँले सबैभन्दा पहिले गाली गर्ने भनेकै पागल भन्ने हो ।’

महामन्त्री थापाले सत्ता गठबन्धनको बिरोध गर्दै हिडेको एमालेले आफै सारथी खोज्दै हिँडेको जिकिर गरे । उनले पार्टीभित्रका असन्तुष्टिहरुलाई मध्यनजर गर्दै विभेदको क्षतिपूर्तिसहित न्यायको निर्णय हुनगरि काम गर्ने बताए ।

उनले कांग्रेसको घोषणापत्र सवै उम्मेदवारले अनिवार्य पढ्नुपर्ने भन्दै त्यसको उलंघन भए कडा कारवाही गर्ने चेतावनी दिए ।