काठमाडौँ – सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेपछि सोको आवश्यक तयारी सुरु भएको छ ।


ADVERTISEMENT


प्रतियोगिताको आवश्यक तयारीका लागि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्राविधिक टोलीले मुख्य प्रतियोगितास्थल पोखरा रङ्गशालाको निरीक्षण गरी खेल पूर्वाधार र हालसम्मको तयारीका बारेमा जानकारी लिएको छ ।


ADVERTISEMENT

# # #


प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि राखेपले प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालनको तयारी गरेको छ । राखेपका विभागीय प्रमुख मधुसुदन बस्नेत नेतृत्वमा तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमाल दाहाल, पूर्वाधार निर्माण तथा मर्मतका प्राविधिक पूर्णसिंह डङ्गोललगायतको टोलीले पोखरा रङ्गशालाभित्रका सबै खेल पूर्वाधार र स्वीमिङ खेल आयोजनाका लागि सम्भाव्य फिस्टेल एकेडेमीको पौडी पोखरीसमेत अवलोकन गरेको छ ।

खेल पूर्वाधारको स्तरोन्नति र कुन खेल कहाँ र कसरी गर्न सकिन्छ भन्ने विषयमा टोलीले जानकारी लिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका अनुसार प्राविधिक टोलीको निरीक्षणपछि प्रतियोगिताका खेल आयोजनास्थल तय हुनेछ ।

उनले भने, “प्राविधिक टोलीको निरीक्षणपछि खेलस्थल यकिन हुनेछ । अधिकांश खेल पूर्वाधार तयारी अवस्थामा रहे पनि केहीको स्तरोन्नति गरेर तोकिएको समयभित्रमा प्रतियोगिता सम्पन्न गर्नेछौँ ।”

पोखरा रङ्गशालाभित्र अन्तर्राष्ट्रिय फुटबल स्टेडियम, भलिबल कोर्ट, क्रिकेट मैदान, टेनिस कोर्ट, ब्याडमिन्टन हल, आर्चरी मैदानलगायतका खेल पूर्वाधार तयारी अवस्थामा छन् । नवौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पौडी पोखरी र सुटिङको पूर्वाधार भने अझै तयार भएको छैन ।

राखेपको हालै सम्पन्न बोर्ड बैठकले पोखरामा हुने नवौँ राष्ट्रिय खेलकूदमा ३८ वटा खेल आयोजना गर्ने निर्णय गरिसकेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगित भएपछि सरकारले आगामी जेठ अन्तिम साता गर्ने गरी प्रतियोगिताको मिति तोकेको थियो ।