काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको मेयरमा गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहलाई हराए दुनियाँले प्रश्न गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले राम्रो काम गर्नसक्ने भएकाले सिर्जना सिंहलाई हराए काठमाडौँले दोष पाउने बताएका हुन् ।
उनले भने, ‘‘काठमाडौँमा महिला उम्मेदवार हुनु ठूलो कुरा हो नि । काठमाडौँजस्तो राजधानीमा महिला हार्नु हुँदैन हेर्नुहोस् । दुनियाँले के भन्छन् ? यो राजधानी हो । राजदूतहरु यहीँ छन् । महिला हरायो भन्छन् भोलि । काठमाडौँले दोष पाउँछ महिला हराएपछि ।’
सिर्जनाले प्रकाशमान सिंहको श्रीमती हुनु र रेणु दाहालले प्रचण्डको छोरी हुनु कुनै अपराध नभएको बताउँदै देउवाले राम्रो काम गर्नेलाई कसैको राजनीतिज्ञको परिवारको सदस्य भएकै कारण अगाडि बढ्न रोक्न नहुने तर्क गरे । उनले ६ मध्ये काठमाडौँ र भरतपुर महानगर गरी २ महानगरमा महिलाले टिकट पाएकाले उनीहरुलाई जिताउन आग्रह गरे ।
भरतपुर महानगरमा रेणु दाहालले राम्रो काम गरिरहेको बताउँदै प्रधानमन्त्री देउवाले राम्रो काम गर्नेलाई पुरस्कार दिनुपर्नेमा उल्टै हराउन लाग्दा उचित नहुने बताए । उनले भने, ‘त्यसकारण मलाई विश्वास छ, दुईवटै ठाउँमा महिला जित्नुहुनेछ ।’
प्रधानमन्त्री देउवाले काठमाडौँ महानगरपालिकाको मेयरका लागि गठबन्धकी साझा उम्मेदवार काँग्रेसकी सिर्जना सिंहले ६ महिनाभित्र काठमाडौँको फोहोर व्यवस्थापन गरिसक्ने दाबी समेत गरे । उनले काठमाडौँका वर्तमान मेयर विद्यासुन्दर शाक्यले सकारले सहयोग गर्ने बचन दिँदा समेत काठमाडौँको फोहार व्यवस्थापन गर्न नसकेको आरोप लगाए ।
उनले भने, ‘मैँले अघिल्लो मेयरलाई घरमा बोलाएँ, यो अति भयो, लाजमर्दो भयो, राजधानीमा यस्तो फोहोर, तपाईंलाई के सहयोग चाहिन्छ, बाटो अहिल्यै बनाउन लाउँछु भनेँ, तैपनि काम गरेनन् ।’ उनले फोहोरबाट बिजुली, ग्यास निकाल्न सकिने भएकाले काठमाडौँमा सिर्जना सिंहलाई जिताएमा उक्त कुरा पूरा गर्ने बताए । उनले भने, ‘त्यो कुरा ६ महिनाभित्र उहाँले पूरा गर्नुहुन्छ, सरकारले पूरा सहयोग गर्छ ।’